नेपालीहरूको महान चाडबाड धमाधम भित्रिँदैछ । तीज, दशैं, तिहार, छैठ जस्ता चाडपर्व भित्रिँदै गएका छन् । यतिबेला बजार गुल्जार बन्छ । जता हेरे पनि भीडभाड बढिरहन्छ । नुनदेखि सुनसम्म, खाद्यान्नदेखि लत्ताकपडासमेत यही समयमा जोरजाम गरिन्छ । तर उपभोक्ता भने जहिल्यै मारमा पर्ने गरेका छन् । यो समयमा उपभोक्ता ठगिरहने परिस्थित अहिलेको होइन । चाडको लर्को कात्तिक अन्तिमसम्म चलिरहन्छ । ठूला चाडको मुख पारेर बजारमा कमाइ अनेकौं धन्दा शुरु भइसकेको छ । तीजमा होस् दशैं, तिहार र छैठजस्ता महत्वपूर्ण पर्वमा अत्यावश्यक सामग्री जोहो गरिन्छ । यस बखतमा गरिब जनता मारमा पर्ने गरेका छन् । ऋण गरेर ल्याएको रकम व्यवसायीको मनोमानीले स्वाहा हुन्छ । यो बेला व्यवसायीहरू कृत्रिम मूल्यवृद्धि सिर्जना गरेर अघि बढिदिन्छन् ।
यस्ता चाडपर्वमा गरिने अनौपचारिक किसिमका अनुगमनले पनि प्राथमिकता पाउँदै गएको छ । चाडबाड भित्रनुअघि र भित्रिसकेपछि अनुगमन गर्नु आजको आवश्यकता हो । सम्बन्धित निकायले देखावटी अनुगमन मात्रै होइन कारवाही गरेर देखाउने किसिमको अनुगमनलाई बढवा दिनु आजको आवश्यकता हो । तर पनि सम्बन्धित निकायबाट चाडबाडका बेला मात्रै अनुगमन हुन्छ भन्ने जनगुनासो पनि नसुनिएको होइन ।
धरान त्यसै त फेसनेबल सहर हो । यहाँ प्रत्येक सामग्री महंगो छ । कपडा, खाद्यान्न लगायतको मूल्य आकाशिएको छ । हुनेखाने वर्गका लागि दशैं होला तर नहुनेका लागि दशा बन्ने गर्छ । त्यसैले सम्बन्धित निकायले अनुगमनलाई तीब्रता दिन ढिलाइ गर्नु हुँदैन । मौसमअनुसार आउने चाडबाडमा निकायको फितलो अनुगमनको फाइदा व्यवसायीको छ । महङ्गीलाई रोक्नका लागि सरकारले जहिले पनि अनुगमन समिति बनाएर अनुगमन गराउँदै आएपनि प्रभावकारी भएकै छैन । त्यस्तै, उपभोक्तामा पनि कुन सामग्री कति मूल्यमा पाइन्छ भन्ने कुरामा सचेतना जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here