केहीदिन पहिलेको वर्षाले क्षति पुरयाएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविकरूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । वर्षा, बाढी–पहिरोका कारण केही सातादेखि तरकारीको मूल्य दोब्बर छ ।
हरियो तरकारीको अहिले दोब्बर मूल्यवृद्धि भएर गएको छ । सागको मूल्य मात्रै हेर्ने हो भने प्रतिमुठा ६०–७० छ । गोलभेंडाको बजार मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँसम्म पुगेको छ । हरियो तरकारीको बजार मूल्य प्रतिकेजी १ सय २० देखि १ सय ५० रुपैया“सम्म पुगेपछि सर्वसाधारणले हरियो तरकारी र सागपात खानै छाडेका छन् । सबैभन्दा धेरै मौसमी हरियो तरकारीको मूल्य वृद्धि भएको छ । घिउ सिमी, बोडी, लौका, तितेकरेला, परबल, घिरौला, हरियो फर्सी, इस्कुसलगायतका मौसमी तरकारीको मूल्य दोब्बर छ ।
तरकारी बजारमा अनुगमन नहुँदा यतिबेला बजारमा तरकारीको मूल्य आकासिएको उपभोक्ताको भनाइ छ । तरकारीको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् । लगातारको वर्षाले आएको बाढी तथा पहिरोका कारण तरकारीको सहजरूपमा आपूर्ति नहुँदा बजारमा तरकारीको मूल्य बढेको व्यापारीहरू बताउँछन् । नियमितरूपमा बजार अनुगमन नहुँदा तरकारी व्यापारीहरूले मनोमानी गरेको उपभोक्ताको गुनासो चुलिदो छ ।
केही दिन अघिको लगातारको वर्षाले पहाड तथा तराईका अधिकांश क्षेत्रमा किसानले लगाएको तरकारीबालीमा क्षति हुँदा बजारमा त्यसको असर देखिएको छ । तर पनि बजार अनुगमन नहुँदा अहिले उपभोक्ताको आरोप सत्यझैं सावित हु“दै गएको छ । मूल्यवृद्धि हुँदा पनि नियमनकारी निकायले खासै चासो दिएको छैन । नियम सङ्गत नियमन हुन नसक्दा कालोबजारी फस्टाइरहेको उपभोक्ताको दावी छ । नियमितरुपमा बजार अनुगमन गरिने हो भने व्यवसायीको मनोमानी हुनै सक्दैन । बेमौसमी तरकारी र खाद्यान्नको उत्पादन कम भएको बहानामा उपभोक्तालाई मर्कामा पार्नु कदापि उचित होइन । जबसम्म कालोबजारी र बिचौलिया नियन्त्रण गर्न सकिँदैन, उपभोक्ता यसरी पिल्सिरहनेछन् । तसर्थ, प्रशासनले नागरिक समाजको संलग्नतामा बजार अनुगमनलाई प्रभावकारी बनाउनु जरूरी देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here