धरान आफैमा रमणीय, स्वच्छ, सफा सहर । यसलाई पर्यटकीय सहर पनि भनिन्छ तर यहाँ आउने पर्यटकलाई एकदिन भएपनि रोक्ने सकिएको अवस्था भने छैन । धरानमै पनि कृषि होमस्टे सञ्चालन गरेर पर्यटक रोक्छु भनेर लागिपरेका छन् धरान–४ का कृषक कृष्ण राई । गाउँलेले खासै साथ दिएका छैनन् । नबुझेर पनि यस्तो भएको हो । उनले यसअघि अर्गानिक गाउँ बनाउँछु भन्दा त्यहा“का स्थानीय हाँसेका थिए रे । तर जब उनले अर्गानिक खेती गरेर देखाए अन्य गाउँलेले पनि सिको गरे । यो उनको हिम्मतलाई मान्नैपर्छ । धरान–४ वसन्तटार भन्ने गाउँमा कृषि होमस्टे सञ्चालनको तयारी थालिएको हो ।
अर्गानिक उत्पादनलाई जोड दिँदै दुई चारदिन भएपनि धरानमा पर्यटक रोक्ने उनको लक्ष्य छ । यो अति नै सह्रानीय काम हो । हामी समृद्धिको कुरा गरिरहन्छौं, समृद्धि समृद्धि भनिरहन्छौं तर व्यवहारमा नहुँदा त्यतिकै समृद्धि शब्द खेर गइरहेको छ । यसरी नै अन्यले पनि आँट गरे अवश्य समृद्धि छाउँछ । समृद्धिका लागि तल्लो लेवलबाटै अभियान चलाउनुपर्छ । होमस्टेले पनि समृद्धि ल्याउँछ । पर्यटक भित्रिन्छन् र गाउँको जीवनस्तर उक्सिन्छ । गाउँको जीवनस्तर उक्सिए समृद्धिले देश अघि बढ्छ ।
लोकल वातावरणमा बसौं, लोकल तथा अर्गानिक खानेकुरा खाऔं भन्नेहरूका लागि यो होमस्टे वरदान सावित हुन सक्छ । यसका लागि स्थानीय सरकारले पनि यसतर्फ ध्यान दिनु जरूरी छ । धरान उपमहानगरपालिका अन्य ठाउँमा होमस्टको खोजी गर्दै हिँडिरहेको समयमा यतातर्फ पनि ध्यान जानु आवश्यक छ ।
स्थानीय गाउँलाई होमस्टेबारे राम्ररी बुझाउन मात्रै सकियो भने त्यो गाउँको आर्थिकस्तर माथि उक्सिन्छ । धरानमा बसेर हामीले अर्गानिक खायौं, हामी स्वस्थ छौं भनेर स्थानीय र बाह्य पर्यटकले भनिदिए मात्रै पनि धरानको भविष्य देखिन्छ । भेडेटार पुग्न आन्तरिक र बाह्य पर्यटक यही बाटो भएर जान्छन् । भेडेटारसँगै धरानमा पनि पर्यटक भित्र्याउन सकियो भने धरानकै समृद्धि हुने हो । त्यसैले होमस्टेको अवधारणा र यसको फाइदाबारेमा जनतामा राम्रोसँग बुझाउन स्थानीय सरकारले ध्यान दिनु आजको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here