न्यून आयस्रोत भएका अभिभावकका लागि पनि फिट बन्दै आएको हिविस्कस स्कुल धरान–१५ मा नयाँ व्यवस्थापनले स्कुल अगाडि बढाउने भएको छ । १८ वर्षअघि धरानकै हिमालयन बोर्डिङ स्कुलबाट शिक्षण पेशामा लागेका पवन झा अहिले सो स्कुलमा व्यवस्थापनसँगै प्रिन्सिपल भएर लागिपरेका छन् । एम्स एकेडेमी, केके इन्टरनेशनल स्कुलमा अध्यापन गराई अनुभवले खारिएका झासँग हाम्रो कोशी आवाज डटकमले गरेको कुराकानीः
तपाईको प्रवेशपछि विद्यालयको हालत कस्तो थियो ?
–ठीकै थियो । करिब ४ सयको हाराहारीमा विद्यार्थी छन् । यहाँ भौतिक पूर्वाधार पनि छ । गुणस्तरीय शिक्षामा अझै सक्दो जोड दिन सके यस स्कुलको भविष्य छ । यही देखेर नै म यहाँ प्रवेश गरेको हुँ ।
अब कस्तो होला ?
–यसअघि पनि यस विद्यालयले गुणस्तरीय शिक्षा नै प्रदान गरेको हो । अझै यस क्वालिटीलाई सुधार गर्नेछौं । अबको महिना दिनपछि विद्यालयले पूर्ण स्वरुप फेर्नेछ । विद्यालयलाई अझै स्तर उन्नति गरेर अघि बढाउँछौं । यो अनुभूति अभिभावकलाई गराउनतिर लागिरहेका छौं ।
न्युन आयस्तरका अभिभावकलाई पनि मनन गर्नेछौं । न्यून आयस्रोत भएका बालबालिकाहरूले पनि शिक्षा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
अहिले यस विद्यालयमा कतिसम्म विद्यार्थीले अध्ययन गर्न पाउँछन् ?
–प्ले गु्रपदेखि १० कक्षासम्म यहाँ विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।
अन्य विद्यालयभन्दा यस विद्यालयको भिन्नता के होला त ?
–हामीले यसपटक नै डिग्री पास गरेका शिक्षक शिक्षिका भित्र्याएका छौं । अहिले नै ५ जना त डिग्री पास गरेका शिक्षक ल्याएका छौं । यसले अन्य विद्यालयको भन्दा शिक्षाको गुणस्तरमा वृद्धि हुन्छ भन्ने ठानेका छौं । अतिरिक्त क्रियाकलापलाई पनि विशेष जोड दिँदै आएका छौं । तेक्वान्दो, नृत्य, क्वीज कन्टेष्टलगायत खेलकुदका विधामा फोकस गरेका छौं । यस्तै, कमजोर विद्यार्थी छन् उनीहरूको पढाइ राम्रो बनाउन पनि लागि परेका छौं ।
तपाईहरूको भावी योजना के छ ?
–हामी पनि प्लानमा छौं । हामीले नजिकै आफ्नै जग्गा लिने तयारीमा छौं । नजिकै जग्गा लिएर भवन निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय कटिबद्ध रहनेछ ।
अन्त्यमा केही भन्नुछ ?
–अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिका साथै शुभचिन्तकहरूले साथ दिए हामी अगाडि बढ्छौं । भोलिका दिनमा धरानमा गुणस्तरीय शिक्षा प्रदान गर्ने मामिलामा हिविस्कस स्कुल पनि केही हो भन्ने कुरामा पनि सहयोग गर्नुहुन्छ होला भन्ने आशा गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here