धरानः धरानका लाहुरे झप्टमान पारघरी लिम्बूले धरान–१४ स्थित चर्चित बुढासुब्बा मन्दिर खर्च गर्नु भन्दै २५ वर्षअघि खुत्रुकेमा राखेको रकम दिएका छन् । उनले त्यतिबेला खुत्रुकेमा राखेको २३ हजार ६ रूपैयाँ उनले हस्तान्तरण गरेका हुन् ।
बुढासुब्बा २०५० सालतिर बुढासुब्बा मन्दिरमा शौचालय नभएको र त्यतिबेला युके, हङकङ बस्ने धरानेहरू, स्थानीयबासीको सहयोग मागेर शौचालय बनाइएको थियो । त्यही शौचालय बनाउँदा उभ्रिएको रकम उनले खुत्रुकेमा जम्मा गरेका थिए, सोही रकम उनले हस्तान्तरण गरेका हुन् । ‘त्यो समयमा सार्वजनिक शौचालय बनायौं भने भक्तजनहरूलाई सहज हुन्छ भनेर सोचें र हङकङ, युकेमा बस्ने साथीभाइसँग मागेको थिएँ, शौचालय पनि बनाइयो, मन्दिरवरिपर घेराबारा लगाउने विचार थियो, सीमाङ्कनमा नमिलेकोले घेराबारा नभइ सो रकम उभ्रिएको हो र त्यही रकम दिएको हुँ ।’
केहीदिनअघि बुढासुब्बा मन्दिरमा पित्तलको छाना लगाइँदै भनेर समाचार आएपछि उनले त्यहीँ सो रकम खर्च गर्नुपर्छ भन्ने सम्झिएका थिए । ‘बुढासुब्बा मन्दिरमा पित्तलको छाना लगाइँदै भन्ने समाचार आएपछि झसङ्ग भए, अलिकति पैसा उभ्रिएको थियो, त्यो बेला कोषाध्यक्ष, सचिव कसैलाई नदिइ खुत्रुकेमा हालेर राखेको थिएँ, त्यो पैसा कहाँ लगाउँ , के गरौं भन्नेमा दोधार हुँदाहुँदै १४ नं. वडाकै विकासमा खर्च होस् भनेर रकम हस्तान्तरण गरेको हुँ ।’ उनले भने ।
सार्वजनिक सम्पदा जोगाउनुहोस् भन्दै रकम हस्तान्तरण गरिएको उनले बताए । उनले धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, वडाका कर्मचारीको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । रकम बुढासुब्बामै खर्चिने वडाध्यक्ष भट्टराईले बताए ।
झप्टमान धरानका समाजसेवका रूपमा गनिन्छन् । छथरे समाजको संस्थापक उनले समाजलाई आमाबाबुको नाममा २० लाख रूपैयाँ दिएपछि सङ्ग्रहालय घर बनिसकेको उनी बताउँछन् । यस्तै, घण्टाघर निर्माण, धरानका अन्य संघसंस्थालाई धेरैजसो सहयोग गरिसकेका छन् । ‘लाहुरे जीवनबाट रिटायर्ड भएपछि धरान बनाउनदेखि विभिन्न संघसंस्था गरेर कतिलाई सहयोग गरें, गरें गन्ती नै छैन ।’ उनले भने । तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here