गरिब भन्नाले एकातर्फ कमजोर आर्थिक अवस्था भएको र आफ्नो दैनिकी गुजारा गर्न कठिन महशुस गरिरहेको व्यक्तिलाई बुझाउँछ। जसले भौतिक सुख सयल भने अत्यन्त कम प्राप्त गर्दछ भने अर्कातर्फ धन दौलतले सम्पन्न तर मनको कारणले दरिद्र अवस्थामा रहेको व्यक्तिलाई पनि गरिब मानिन्छ । यस्तो व्यक्तिले सुख सयल प्राप्त गर्न सक्षम भए पनि पारिवारिक खुशी र शान्तिबाट भने धेरै टाढा रहन्छ ।
आर्थिक रुपले गरिब व्यक्ति वैचारिक रुपले भने गरीब नहुन पनि सक्छ। अर्थात् ऊ विचारले धनी हुन सक्छ। उसको जीवनमा आर्थिक कठिनाईहरु आएता पनि विचार भने उच्च रहन सक्छ।
सबै व्यक्ति एउटै प्रकृया बाट जन्मन्छन् र सम्भवतः उनीहरूमा एकै प्रकारको हार्डवेयर हुन्छ। हार्डवेयर भन्नाले व्यक्तिको इन्द्रियहरु भन्ने बुझिन्छ। तर तिनीहरुको सफ्टवेयर अर्थात् वैचारिक सोचाइ भने फरक फरक हुन्छ। कसैको सानो सोचाइ हुन्छ भने कसैको ठूलो सोचाइ हुन्छ। त्यस्तैगरी कसैको नकारात्मक सोचाइ हुन्छ भने कसैको सकारात्मक सोचाइ हुन्छ । व्यक्तिको यस्तो प्रकारको सोचाइको स्तरले उसको उपलब्धिको स्तर निर्धारण हुने हो।

त्यसैले व्यक्ति आर्थिक रुपले गरीब भए पनि वैचारिक रुपले दमदार छ भने उसमा आँट, धैर्यता,सहनशिलता र जिम्मेवारी बहन गर्ने क्षमता धेरै हुन्छ। जसको प्रयोगले अहंकारलाई नियन्त्रण गर्दै लक्ष्य हाँसिल गर्न ऊ सक्षम हुन्छ।
व्यक्ति आर्थिक रुपले धनी वा गरीब जे होस् । त्यसले त्यति ठूलो महत्व नराख्न पनि सक्छ जति वैचारिक रुपले गरीब हुँदा राख्छ। त्यो व्यक्ति जो वैचारिक रुपले गरीब हुन्छ उसको जीवन पशुतुल्य रहन्छ। यस्तो व्यक्तिले मनमा नकारात्मक विचारको खेती गर्छ। हरदम हरपल मानसिक दुविधामा रहिरहन्छ। यिनको आफ्नो स्पष्ट विचार हुँदैन र अरुको राम्रो विचारलाई पनि हृदयबाट स्वीकार गर्दैन। बरु उल्टै सामुहिक हित विरुद्ध भाँजो हाल्ने कामगर्छ र व्यक्तिगत हितको लागि अरुलाई प्रयोग गर्न भने पछि पर्दैन ।
हो यस्तो प्रकारको मनको गरिब व्यक्ति नै आधुनिक समाजले पहिचान गरेको वास्तविक गरीब हो। वैचारिक गरिबीलाई भगाउन व्यक्तिले सोचाइको तहलाई पूर्ण रुपमा परिवर्तन गरि असल आचरण र व्यवहार देखाउन सक्नुपर्छ। यसका लागि उसले आफ्नो आचरण सुधार गर्ने प्रतिबद्धता सहित असल संस्कार भएका व्यक्तिहरुको संगत गर्नुपर्छ।

धन कमाएको तर आर्जित रकमको एक प्रतिशत पनि दान गर्न बिल्कुलै नचाहने व्यक्ति नै वैचारिक रुपले गरिब कहलिन्छ। यस्तो स्वार्थी स्वभावको व्यक्ति आर्थिक तथा पारिवारिक रुपमा धनी भए पनि वैचारिक तथा सामाजिक रुपमा भने उसलाई गरिबको दर्जामा राखिन्छ र चिनिन्छ पनि । आफूलाई विवेकशील भन्न रुचाउने मान्छेले आफ्नो प्राकृतिक गुण बिर्सिने हो भने ऊ जीवनभर गरीब नै रहिरहन्छ। के जन्म र मृत्यु वीचको छोटो जीवन अस्तित्वलाई अर्थपुर्ण नबनाउने ?
के गरिबको बिल्ला बोकेरै भोलिका दिनमा स्वर्गवास हुने ?
होइन भने सबैले एक पटक आर्थिक तथा वैचारिक गरिबीबाट मुक्त हुने प्रयास गरौँ ।
त्यस्तैगरी कुनै पनि व्यक्ति गरीब हुनु भनेको उसको शरीरको कारणले नभएर उसको असन्तुलित मनको कारणले हो। आफ्नो मनको भावनालाई सहि ढंगले बुझ्न नसक्दा आज अधिकांश सपाङ्ग व्यक्तिहरु पनि अपाङ्ग भए जस्तै गरि बाँचिरहेका छन् । व्यक्तिले जस्तो प्रकारको विचारको बिऊ रोप्छ र गोडमेल गर्छ, त्यस्तै प्रकारको बिरुवा र उपलब्धि रुपी फल प्राप्त गर्छ। के हामीले असल विचार रुपी बिऊ पूर्ण तयारी खेत रुपी मानसिकतामा रोप्नु पर्दैन र ? कतै हामी पनि वैचारिक रुपले कमजोर त छैनौं ? एक पटक विचार गर्ने कि ?
संकिर्ण मानसिकता नत्यागेसम्म ठूलो उपलब्धि कहिल्यै प्राप्त हुन सक्दैन । त्यसैले व्यक्तिले आफुमा भएको आन्तरिक असिमित सम्भावनाबाट अधिकतम परिणाम निकाल्ने हो भने उसले आफ्नो गलत आचरण त्याग्नैपर्छ र असल आचरण निर्माण गर्नैपर्छ। अर्थात् ठूलो काम गर्न ठूलो सोचाइ राख्नैपर्छ।
गरिब अर्थात् संकिर्ण सोचाईले व्यक्तिलाई कहिल्यै अमिर अर्थात् धनी हुन दिँदैन। यस्तो प्रकारको सोचाइ भएको व्यक्तिले ज्ञानको आधारमा नभई जानकारीको आधारमा निर्णय गर्ने भएकोले उसको निर्णय अक्सर अपरिपक्व हुने गर्दछ। जसले गर्दा ऊ मानसिक तनावमा गुज्रिरहेको पाइन्छ। त्यसैले व्यक्ति अमिर हुन चाहन्छ भने उसले आफ्नो अपरिपक्व सोचाइ अवश्य बदल्नु पर्छ।
समयको अधिकतम प्रयोग भन्दा ज्ञानको अधिकतम प्रयोगले धन अधिकतम हुने भएकोले हरेक व्यक्तिले वैचारिक तथा आर्थिक रुपमा धनी हुन सोचाइको स्तर ह्वात्तै बढाउँनु पर्ने भएकोले आफुमा असल आचरणको विकास गर्ने हिम्मत गर्न सक्नुपर्छ।
गरिब व्यक्ति कसरी चिन्ने ?
क) वैचारिक रुपले संकिर्ण, निराशाजनक तथा व्यक्तिवादी मानसिकता बारम्बार झल्काई रहेमा ।
ख) आर्थिक रुपले सम्पन्न तर वैचारिक रुपले विपन्न/दरिद्र वा दुवै रुपले विपन्न भएको चरित्र देखाई रहेमा ।
ग) आफुसँग भएको क्षमता र चीज विजलाई कम महत्व दिने तर अरुसंग भएको क्षमता र चिज विज प्रति मोह देखाउने तथा ईर्ष्या भावना राख्ने ।
घ) कार्यमुखी भन्दा परिणाममुखी व्यवहार प्रस्तुत गरी रहेमा ।
ङ) कामप्रति वैचारिक स्पष्टता, स्थिरता, धैर्यता, र जिम्मेवारी बोध सहितको प्रयासमा निरन्तरता नदेखिएमा ।
च) भौतिक सुख सयललाई आत्मसाथ गर्ने तर आध्यामिक खुशी आनन्दलाई भने वेवास्ता गर्ने व्यवहार प्रर्दशन गरी रहेमा ।
छ) समय र जीवनको अधिकतम उपयोगको लागि उचित व्यवस्थापन गर्न नजानेमा र नमानेमा ।
ज) आफु माथिको विश्वास गुमाउने तथा आचरण र व्यवहार अर्थात् बोलाई र गराई वीचमा विचलन आईरहेने भएमा ।
झ) पैतृक सम्पत्तिमा फुर्ति लगाउने, पूँजी सृजना गर्न नसक्ने र आफ्नो गल्ती स्वीकार्दै नस्वीकार्ने बरू उल्टै अरुको कारणले यस्तो भएको हो भनी आरोप लगाउन पनि पछि नपर्ने आचरण देखिएमा ।
ञ) आफ्नो जीवनको वास्तविक महत्व बुझ्न नसकेमा र हेर्छु मात्र होइन गर्छु पनि अर्थात् ” म सक्छु। ” भन्ने भावना मनमा नआएमा ।

आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक आदि कुनै पनि क्षेत्रमा हामी जति नै धनी वा गरिब भए वैचारिक रुपले भने गरिब नबनौँ । यदि हामी वैचारिक रुपले पनि गरिब भयौँ भने हामीले हाम्रो जीवन कहिल्यै रसिलो बनाउन सक्दैनौँ । अर्थात् हामीले जीवनको स्थायी खुशी महशुस गर्न सक्दैनौँ । जसले गर्दा हामी मानसिक रोगी बन्दै पशुतुल्य जीवन बिताउन बाध्य हुनेछौँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here