‘चेतनामै फूलुन् सारा साँस्कृतिक सुव्यञ्जन
मूल भै बग्छ संस्कार गर्न सकौं सुवद्र्धन ।’
नमस्कार, नमस्ते भन्ने शब्द मानव समाजमा अत्यन्त गहकिलो र आदर सम्मान वाचक शब्द हो । हामी एक आपसमा मिलन हुँदा र छुट्टिँदा श्रद्धापूर्वक नमस्कार गर्ने प्रचलन मानव सभ्यताको अभ्युदय भएदेखि प्रारम्भ भएको मानिन्छ । यो शब्दबाट आस्था, आत्मीयता, घनिष्टता, सहिष्णुता, सौहाद्र्रता वृद्धि गराउँछ ।
भेट हुँदा र छुट्टिदा नमस्ते ! नमस्ते भन्ने शब्द समाजमा हरेक जनको जनबोलीमा चलिरहेको देख्दा सुन्दा गरिरहँदा हिजो, आज र भोलिका आउने दिन सम्झँदा सभ्यताले फड्को मारेको अनुभूति हुन आउँछ । यो शब्दको प्रयोग वैदिक कालदेखि नै पूर्वीय दर्शनको स्वरुप चलिआएको यथार्थतातिर इङ्गित गर्दछ । दुई हात जोडेर नमस्कार गर्दा शरीरको आत्मीय सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्दछ, शरीरलाई उर्जा मिल्दछ । यसले पूर्वीय सभ्यताको उत्कृष्ट पहिचान स्थापित गराएको छ ।
हाम्रो समाजमा नमस्कार । नमस्ते गरिने किसिम, शैली र नाम समेत प्रस्तुत गर्न गइरहेको छु ।
क) ब्रह्मत्वः देवी देवतालाई नमन गर्दा ब्रह्म (निधार) लाई साक्षी राखेर शिर निहुँरयाएर नमन गरिन्छ ।
ख) गुरुत्व: गुरु र आफ्नो नजिकका नातेदारलाई नमस्कार गरिँदा च्यूडोलाई साक्षी राखेर शिर निहुँरयाएर मुख मण्डलबाट गरिन्छ । साथै सम्माननीय व्यक्तिहरुका लागि पनि यसै अनुरुप गरिन्छ ।
ग) हृदयत्व: साथीभाइ, इष्टमित्र, छर–छिमेकी, सामान्य नातेदारहरूलाई नमस्कार गर्दा हृदय साक्षी राखेर नमस्कार गरिन्छ । माननीयस्तरका व्यक्तिहरूलाई पनि यसै प्रकार नमस्कार गरिन्छ ।
घ) नाभीत्वः माया, ममता, दृष्टि, आत्मीयभाव, सहृदयता स्वरुप आफूभन्दा मुनिकालाई नमस्ते गर्दा र फर्काउँदा नाभी साक्षी राखेर छाती भन्दामुनि नाभी भन्दा माथिबाट दुई हात जोडी आशिर वचन प्रदान गर्ने गरिन्छ ।
यो नमस्कार, नमस्ते गर्ने प्रक्रिया जुन छ, त्यो कसैले कसैलाई सिकाइ रहनै पर्दैन । किनकी यो स्वतः स्फुर्त रुपमा जस्तो व्यक्ति छ, सोही अनुसारको स्थानमा दुई हात जोडी आ–आफ्नो ठाउँमा पुगिहाल्छ । अतःएव यस कार्यबाट के कुरा प्रष्टिन आउँछ भने नमस्कार गर्ने प्रक्रिया भनेको प्रकृति प्रदत्त आचारसंहिताभित्र पर्दछ भनिरहँदा कुनै अतियुक्ति नहोला । इटहरी–४, सुनसरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here