धरानः धरानको गन्तव्य सूचीमा परेको बुढासुब्बा, दन्तकाली जाने बाटोमा विश्रामस्थल तथा खानेपानी ट्याङ्की निर्माण हुने भएको छ ।
धरान सिंहदेवीचोकदेखि विजयपुर जाने दुईधारे छेउमा विश्रामस्थल तथा खानेपानी ट्याङ्की बन्ने भएको हो । बिहीबार धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले शिलान्यास पनि गरे । मारवाडी महिला मञ्चका पदाधिकारीको उपस्थितिमा शिलान्यास भएको हो । दुईधारेमा खेर गइरहेको पानी तानेर त्यहाँ ट्याङ्की निर्माण हुने र खानेपानी खाँदै आराम गर्ने ठाउँ निर्माण गरिने मारवाडी महिला मञ्चकी अध्यक्ष अनिता अटलले जानकारी दिइन् ।
७ लाख रूपैयाँ बढीमा विश्रामस्थल तथा ट्याङ्की निर्माण हुने भएको उनले जानकारी दिइन् । ‘विशेषतः मारवाडी समुदायकै सहयोगले यतिका सामाजिक कार्य गर्न लागेका हौं ।’ उनले भनिन् । उनले टायल्स लगाउँदै ट्याङ्की र विश्रामस्थललाई चिटिक्क सिङ्गारिने पनि बताइन् । ‘अब बसौं, बसौं, पानी खाऔं, खाऔं पाराको हुन्छ,’ उनले भनिन्, ‘सबै भक्तजनले सहजता पाउन् भनेर यतिका कार्य गर्न लागेका हौं ।’
धरान–१४ का वडाध्यक्ष भट्टराईले मारवाडी महिलाको सामाजिक कार्यको प्रशंसा गरे । ‘विश्रामलय र ट्याङ्की बन्ने भएपछि भक्तजनलाई सहज हुने भयो’, उनले भने, ‘गुरु योजना नै बनाएर अघि बढिएको यस क्षेत्रलाई उत्कृष्ट गन्तव्य बनाउन यसले पनि सहयोग गरेको छ ।’
सरकारको सय वटा गन्तव्य सूचीमा परेको धरानको विजयपुरलाई सिघार्न आफू लागिपरेको वडाध्यक्ष भट्टराईले बताए । आन्तरिक पर्यटकहरुलाई घुम्न रातिको समयमा उज्यालो बनाउन धरानको सिंहदेवी चोकदेखि दन्तकाली मन्दिरसम्मको बाटोमा २५ वटा बत्ती बालिएको उनले बताए । उनका अनुसार दन्तकाली जान बाटो धरानको सिंहदेवीदेखि करिव ढेड किमी क्षेत्रमा सिढी निर्माण गरी सिढीको भित्तामा धरानका सबै धार्मिक स्थानको चित्र बनाएको छ ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here