नेपाली चाडबाडको याम हो यो । असार १५ मा दही चिउरा खाएदेखि नै चाडबाड शुरु भइसकेको हुन्छ । तीजसँगै शुरूवात भएको चाड अहिले दशैंसम्म आइपुगेको छ । अनि विस्तारै तिहार आउँदैछ । १६ श्राद्धले छोपेसँगै दशैं शुरु भइसकेको हो । तिहारसँगै नेपाल सम्वत् फेरिन्छ, नेवार समुदायको नयाँ वर्षलाई पनि म्हः पूजा गरेर चाडकै रूपमा मनाइन्छ । अनि छठ आउ“छ । मिथिलाञ्चलको चाडका रूपमा चिनिएको छठ हिजोआज पश्चिम तराई र पहाडतिर पनि मनाइन थालेको छ । हामी चाडबाड, पर्व र उत्सवहरूमा रमाउने जाति हौं । हाम्रा प्रत्येक चाडबाड कुनै न कुनै खानेकुरासित जोडिएका हुन्छन्, अर्थात् चाडबाडहरू मुख फेर्ने अवसर हुन् ।
वास्तवमा फेर्नु पर्ने कुरा बाहिर मात्र छैनन् । बजारमा पाइने कुरा फेरेर हुने नयाँपनको अनुभूति त्यही सामानसित पुरानिँदै र थोत्रिँदै जान्छ । दिगो परिवर्तन त विचार र अभ्यासको परिवर्तन हो । सम्भवतः चाडबाडको सन्देश पनि यही हो- मुख फेरौं, लुगा फाटो फेरौं । तर, मनका फेर्नुपर्ने पत्रहरू पनि फेर्ने प्रयास गरौं । यसले सम्बन्धलाई प्रगाढ बढाउँदै लगोस् । भत्के–चर्केका सम्बन्धहरूलाई पनि टालौं र नयाँपन दिउँ । चाडबाडहरूमा रमाऔं तर त्यो रमाइलोपन चाडबाड सकिएपछि पनि लामो समयसम्म रहोस् । हामीलाई चाडबाडले नवीनता देऊन् । हाम्रो उल्लास र उत्साह दिगो बनोस् ।
दशैंलाई सद्भावको मात्र नभएर असत्यमाथि सत्यको विजयको प्रतीका रुपमा समेत मनाइने गरेको छ । धर्मसँगै दशैंजस्ता पर्वलाई वर्षभरी कामको थकानबाट मुक्ति पाउन केही दिन रमाइलो गर्ने पर्वका रुपमा पनि व्याख्या गरेको पाइन्छ । जसले जसरी व्याख्या गरेपनि परापूर्वकदेखि मनाइँदै आएको यो पर्वलाई राज्यले समेत महत्व दिएको देखिन्छ ।
नयाँ कपडा फेर्ने, मिठा खानेकुरा खाने मात्र होइन आफन्तसँगको भलाकुसारी र भेटघाट दशैंको सवैभन्दा आकर्षक पाटो हो । यसले आत्मियता बढाउन मद्दत गरेको छ । देश आर्थिक समृद्धितर्फ अघि बढिरहेको छ । समृद्धि ल्याउन सबै लागौं । सबैमा देश समृद्धितर्फ लाने शुभआर्शिवाद मिलोस् । दशैं मनाउनेहरूको लागि यो अवसर शुभ रहोस्, शुभकामना । साथै हाम्रा विज्ञापनदाता, पाठक तथा शुभचिन्तकहरूको पनि दशैं शुभ रहोस् । दशैंको हार्दिक मङ्गलमय शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here