धरानः धरानमा प्रहरीले पेस्तोल र भारी परिमाणमा लागूऔषधसहित युवा पक्राउ परेपछि सार्वजनिक गरिएको छ ।
इलाका प्रहरी कार्यालय धरानले सोमबार पक्राउ परेका वर्ष २३ का निरजकुमार राउतलाई सार्वजनिक गरेको हो । सुनसरीको साविक पश्चिम कुशाहा–४ हाल कोशी गाउँपालिका–३ स्थायी बसोबास गर्ने बेचनकुमार राउतको छोरा निरजकुमारलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
प्रहरीले धरान–१० विशाल पथमा डेरा लिई बसेका राउतलाई पेस्तोल र लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले उनको कोठाबाट फलामलाई बेरी काठको बिंड लगाएको, नम्बर र बनेको देशको कोरिमेटी गरेको अवस्थाको म्याग्जिन लाग्ने पेस्तोल १ थान, म्याग्जिन १ थान, १३ राउण्ड गोली फेला परेको थियो ।
यस्तै, डिलेक्स डिसी १०० एमएलको २ सय २५ बोतल लागूऔषध, नाइट्रोजन १० लेखिएको ६४ फायल अर्थात् ६४० ट्याब्लेट (गोटी), प्लाष्टिकभित्र रहेको खैरो होरोइन जस्तो देखिने ७ ग्राम, स्पासमो प्रोक्जोभिन प्लस ५३९ फायल अर्थात १२ हजार ९ सय ४४ क्याप्सुल (गोटी) फेला परेको प्रहरीले जनाएको छ ।
राउतको डेराकोठाको खानतलासी लिँदा कोठामा रहेको बक्स पलङभित्र रहेको बक्स कोठाहरूमा कालो प्लाष्टिक (पोलिथिन) झोलामा बेरी लुकाई राखेको हातहतियार तथा खरखजना र सोही बक्साहरुमा लुकाइराखेको अवस्थामा अवैध लागूऔषध फेला परेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
प्रहरीले तौल गर्ने सानो डिजिटल मेसिन १ थान, नगद ११ एघार हजार ३ सय ३०, नागरिकता १ थान, धरान–काठमाण्डौ लेखिएको टिकट थान १, डायरी १ थान, १३. भारतिय नम्बर प्लेट १ थान, हुवाई कम्पनीको ट्याब १ थान, सामसुङ मोबाइल १ थान पनि बरामद गरेको छ ।
कोठा लिई सोही कोठाबाट लागूऔषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा निजको बारेमा बुझ्न केहीदिनदेखि क्षेत्रीय अनुसन्धान समूह सक्रिय रहेको थियो । राउतसँगै अन्य गिरोह पनि सक्रिय रहेको र उनीहरूको खोजी अभियान जारी रहेको प्रहरीले जनाएको छ । राउतले सो लागूऔषध धरान र धरान आसपास बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनी जिल्ला प्रहरी कार्यालय, सुनसरीबाट २०७२ माघ २२ गते लागूऔषध कोरक्स र नाइट्रोसन ट्याबलेट बोकी हिँडेको अवस्थामा पक्राउ परी सो कार्यालयबाट लागूऔषध मुद्दा दर्ता भई अनुसन्धान पश्चात धरौटीमा छुटेका थिए । यस्तै, जिल्ला प्रहरी कार्यालय, सुनसरीबाट २०७४ असोज ७ गते उनको साथबाट लागूऔषध स्पास्मो प्रोक्सिभन प्लससहित बरामद गरी १८ महिना कैदमा बसी छुटेको थिए ।
यसअघि प्रहरीले गत असार १२ गते धरान–११ र १५ बाट पेस्तोल नाल २, म्याग्जिन १ र सो हतियारहरुमा लाग्ने गोली राउण्ड २६ सहित लागूऔषध खैरो हिरोइन र लागूऔषधसहित तीन जनालाई पक्राउ गरिसकेको छ । हाल तीनैजना पुर्पक्ष थुनामा रहेको प्रहरीले जनाएको छ । तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here