वातावरणमा रहेका अनेकौं जीवित प्राणीहरु मध्ये मान्छे यस्तो प्राणी हो । जो सँग मन, बुद्धि र शरीर रहेको हुन्छ । त्यसकारणले पनि मान्छे अरु प्राणीहरु भन्दा फरक हुनु नितान्त आवश्यक र अनिवार्य छ ।
हरेक व्यक्तिले आफ्नो छोटो तर तनावमुक्त सरल जीवनलाई अर्थपूर्ण बनाउनको लागि आफ्नो मन, बुद्धि र शरीरबीचमा अधिकतम सन्तुलन कायम राख्नु अति नै जरुरी छ । यसको लागि व्यक्तिले आफ्नो मनलाई पवित्र बनाउन सक्नुपर्छ । हो यसै सेरोफेरोमा मेरो आजको लेख केन्द्रित रहेको छ ।
मन के हो ? यसले के काम गर्छ ? यसलाई कसरी चिन्ने, बुझ्ने र प्रयोग गर्ने ? यसलाई नजान्दा के हुन्छ ? जस्ता प्रश्नहरुको उत्तर हरेक सचेत व्यक्तिले खोज्नुपर्छ । जसको सही प्रयोगबाट व्यक्तिले आफ्नो जीवनमा प्रगति, निरोगिता र खुशी हासिल गर्न सक्छ । त्यसकारणले हरेक व्यक्तिले मनको गहन अध्ययन, विश्लेषण र प्रयोग गर्नु आजको अनिवार्य आवश्यकता बनेको छ ।
हुन त विज्ञानले मनलाई स्वीकार गर्दैन । किनभने मानव शरीरमा यसको भौतिक अस्तित्व नै छैन । विज्ञान तथ्य र सत्यमा आधारित हुने भएकोले मन छैन भन्नु स्वभाविक हो । तर अध्यात्मले भने विज्ञानको यो दाबीलाई कदापि मान्दैन । अध्यात्मअनुसार मनको भौतिक स्वरुप नभएपनि यसले शरीरभित्र अदृश्यरुपमा काम भने गरिरहेको हुन्छ । जसलाई अनुभूत मात्र गर्न सकिन्छ ।
विज्ञान र अध्यात्मको दृष्टिकोणबाट भन्दा पनि वास्तविकताको नजिक रहेर तपाई हाम्रो बुझाइको सरलताको दृष्टिकोणबाट मनन गर्ने हो भने मन भनेकोे आन्तरिक बोलाई वा भाषा हो अर्थात् मुख बन्द गर्दा पनि भित्रीरुपमा कुनै कुराको सम्बन्धमा सकारात्मक वा नकारात्मक ढङ्गले बोलिरहनु हो ।

यसलाई अझ स्पष्ट पार्ने हो भने व्यक्तिको इन्द्रियहरुद्वारा प्राप्त गरिएका अनुभव अर्थात् कुनै चित्र, तस्वीर, घटना वा अन्य व्यक्ति जसलाई मष्तिष्कले आफ्नो ग्यालेरीमा कैद वा अभिलेख राख्दछ । आन्तरिक भाषाको माध्यमबाट शब्द उच्चारण गरी उक्त अनुभव मष्तिष्कद्वारा सम्झिने र त्यसबारेमा बोलिरहने काम मनले गर्दछ । यसर्थ मन भन्नाले आन्तरिक भाषाको माध्यमबाट आफूले आफूसँग कुराकानी गर्नु हो ।
व्यक्तिले शब्द उच्चारण गर्दा उसको मस्तिष्कमा आउने विचार वा अनुभव आफैमा नकारात्मक वा सकारात्मक भने हुँदैन । उक्त विचार वा अनुभवप्रति व्यक्तिले गर्ने व्याख्याको आधारमा मात्र नकारात्मक वा सकारात्मक विचार निर्धारण हुने गर्छ ।
मनको स्वभाव चञ्चल, अस्थिर र दोधारे प्रकृतिको हुन्छ । एक तथ्याङ्कअनुसार मनले एक दिनमा ५६ हजार ८ सय विचार जानी नजानी सिर्जना गर्दछ । जसमा ९९ प्रतिशत भने अनावश्यक र नकारात्मक नै रहन्छ । व्यक्तिको सारा दिन त्यस्तै नकारात्मक विचार र क्षणिक मज्जामा नै बित्छ । यसले केवल भावना प्रकट गर्दछ ।
मन काल्पानिक संसारमा रमाउन चाहन्छ । त्यसैले वर्तमानको कुनै महत्वपूर्ण विषय वा घटनाप्रति मनले सहजै ध्यान वा चासो दिन चाहँदैन । किनभने त्यस्तो कार्यबाट मनले छिट्टै मनोरञ्जन प्राप्त गर्ने छनक पाइरहेको हुँदैन । यसकारण व्यक्तिको कुनै विषयवस्तु प्रति शारीरिक उपस्थिति र ध्यानाकर्षण भएपनि मनको ध्यानाकर्षण भने बाहिर अन्य कतै रुचि भएको क्षेत्रमा जाने सम्भावना अत्याधिक हुन्छ ।
व्यक्तिले आफ्नो मनलाई चिन्न सकेन भने यसले अनावश्यक र नकारात्मक कुराहरुलाई महत्व दिँदै जान्छ । जसले एक दिन आफूभित्र प्रकारको मनोवैज्ञानिक डर सिर्जना गर्छ । यस्तो डरले एकातर्फ उसको लक्ष्य उन्मुख कार्य सम्पादनको प्रभावकारितामा ह्रास ल्याउँछ भने अर्कोतर्फ उसलाई मानसिक रोगी पनि बनाउँछ ।
त्यस्तैगरी व्यक्तिको संस्कारले पनि मनलाई प्रभाव पार्दछ । संस्कार भन्नाले व्यक्तिको आचरणलाई बुझाउँछ । यो परिवार, साथीभाइ तथा पुस्तकबाट निर्माण हुन्छ । संस्कारले व्यक्तिको विकास वा विनास मध्ये एक अवश्य गर्छ । त्यसैले हामी कस्तो संस्कार ग्रहण गर्दैछौं ? एक पटक विचार गर्नैपर्छ ।

प्रायः अहङ्कार, प्रलोभन जोडिएका वस्तु, घटना र व्यक्तिसँग सम्बन्धित विचारहरुको साथ साथै अरुले के पो भन्छ ? भन्ने बनावटी प्रश्न र त्यसको उत्तरमा व्यक्ति अल्झिरहेको हामी पाउँछौ । किन यस्तो हुन्छ ? कहिल्यै विचार गरेका छौं ? यसको एउटै मात्र कारण छ । त्यो भनेको मन गलत ढङ्गले शक्तिशाली भई बुद्धिको स्थिति कमजोर हुनु हो ।
मनलाई व्यक्तिको स्वार्थ र त्यही अनुसारको व्यवहारले पनि प्रभाव पार्दछ । व्यक्तिगत स्वार्थ र पक्षपातपूर्ण व्यवहारले मनलाई बढी अस्थिर बनाउँछ । त्यस्तैगरी इन्द्रियहरुले पनि व्यक्तिको मनलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रभाव पार्न सक्दछ ।
व्यक्तिले आफ्नो इन्द्रियहरुलाई नियन्त्रण गर्दै मनलाई शान्त र अनुशासित बनाउनका लागि नियमितरुपमा कम्तिमा पाँच मिनट दिनको दुईपटक ध्यान गर्नुपर्छ । ध्यान भन्नाले सुन्य अवस्थाको विचारको अर्थात् निर्विचार हो । ध्यानले व्यक्तिको मन पूर्णरुपमा शान्त राख्न मद्दत गर्छ । यसको अतिरिक्त अरु बेला पनि मन शान्त राख्नको लागि श्वासप्रश्वाससँगको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न जान्नुपर्दछ ।
व्यक्तिले महसुस गर्ने दुःखको अर्को मुख्य कारण भनेको वर्तमानमा गरिने क्रियाकलापहरुप्रति मनको ध्यान केन्द्रित नहुनु र विगत तथा भविष्यको सम्बन्धमा अनावश्यक र नकारात्मक कुरामा भौतारिनु पनि हो । यस्तो अवस्थामा ऊ कसरी खुशी हुन सक्छ ? एक पटक सबैले यो कुरा सच्चा दिलले सोच्नुपर्छ कि ?
व्यक्ति मन होइन अर्थात् व्यक्ति र मन फरक फरक चिज हो । व्यक्ति मनको मालिक हो भने मन व्यक्तिको नोकर हो । त्यसैले मन व्यक्तिको मातहतमा बसेर दिएको निर्देशन इमान्दारपूर्वक काम गर्नुपर्छ । मन नोकर भए पनि व्यक्तिले उसको भावना बुझ्दै ऊ सँग सहकार्य गर्दै काममा लगाउन जान्नुपर्छ ।
मन त व्यक्तिको इच्छा प्राप्तिमा सहयोग पुरयाउने एक महत्वपूर्ण साधन मात्र हो । व्यक्तिले मनलाई आफ्नो लक्ष्यमा केन्द्रित गराउन जान्नुपदर्छ । अरुको बारेमा होइन आफ्नो क्षमतालाई कसरी सक्षम बनाउन सकिन्छ भन्ने बारेमा मनले आवश्यक समयमा कुरा खेलाइरहनुपर्दछ । यसले सम्भावनाका विकल्पहरु पनि प्रस्तुत गर्न सक्छ ।
त्यसकारण व्यक्ति कहिल्यै मनको गलत चाहनाअनुसार बहकिनु हुँदैन । यदि मनको राजीखुसी अनुसार व्यक्ति बहकिए एक दिन अवश्यम्भावी उसको जीवनमा ठूलो दुर्घटना आउने छ र मूल्यवान मानव अस्तित्वलाई तहसनहस पार्नेछ । के हामीले खोजेको यही हो ? होइन भने मनलाई नजिकबाट बुझौं र यसलाई सही ढङ्गले अधिकतम सदुपयोग गरौं ।
आन्तरिक ध्यानाकर्षणका लागि मनमा सजगता वा चेतना जागृत गराउनुपर्छ । चेतना जागृत गराउने कार्य बुद्धिको हो । बुद्धि अर्थात् बुझाइ जति पवित्र हुन्छ त्यति मनमा चेतनाको स्तर उच्च रहन्छ । बुद्धिको पवित्रता भने व्यक्तिले प्राप्त गर्ने ज्ञानको शुद्धतामा भर पर्छ । ज्ञानको शुद्धता भने संस्कारित शिक्षामा निर्भर रहन्छ । त्यसैले उच्च संस्कारित शिक्षाबाट बन्ने उच्च चेतनाको स्तरले नै मनको स्थिति सबल र सक्षम बनाउन मद्दत गर्छ । अनि मात्र व्यक्तिले मनलाई आफ्नो बसमा वा असल नोकरको रूपमा राख्न सफल हुन्छ ।

व्यक्तिले आफ्नो मन साँच्चै शान्त र स्थिर राख्न चाहने हो भने सही ज्ञान हासिल गर्नुपर्छ । मनबाट जिम्मेवारी बहन गर्नुपर्छ । यसको लागि व्यक्तिले गुनासो गर्न बन्द गर्नुपर्छ । बुद्धिले मनलाई सम्झाउन सक्नुपर्छ । हो यस प्रकारले मनको भावना बुझ्दै जाँदा कमजोर स्थितिमा रहेको मनलाई सबल र सक्षम बनाउन सकिन्छ र अन्ततः उसले असीमित खुशी महसुस गर्दै सार्थकता उन्मुख जीवन प्राप्त गर्न सफल हुन्छ । उत्प्रेरक श्रेष्ठ धरानस्थित कलेजका अध्यापक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here