धरानः हामीले देख्दै, मिडियामा सुन्दै पनि आएका छौं–सडक जीर्ण बन्दा यात्रा जोखिम, ठेकेदारको लापरवाही वा अन्य कारणले बन्दाबन्दै, बनिनसक्दै, बनाएकै दिन, हप्ता, महिना, तीन महिना, ६ महिना वा वर्षदिनमै उप्किन थाल्यो सडकको कालोपत्रे ।
यी र यस्तै देखे, सुनेपनि धरानको एउटा सडक टसमस अवस्थामा छ । न भत्किएको छ, न कालोपत्रे उप्किएको छ । धरानका अधिकांश सडक भत्किँदै बनाउँदै गरेको उदाहरण प्रशस्त छ तर धरानमै यस्तो सडक छ जुन कहिल्यै भत्किँदैन, उप्किदैन । वर्षौ भयो तर यस्तो हालत भने छैन । धरान–१८ बुद्धरोडको सडकको अवस्था यस्तो छ । जुन सडक १७ वर्ष भयो अहिलेसम्म उप्किएको छैन ।
धरानकै मात्रै कुरा गर्ने हो भनेपनि कालोपत्रे गरेको दुईवर्षमै पनि सडक उप्किएर हैरानी व्यहोर्नुपरेको पनि छ । उदाहरणका लागि पुरानो बजारको सडक । जुन सडक बनाएको धेरै वर्ष भएको छैन तर उप्किन थालिसकेको छ । ‘बनाएको २ वर्ष पनि भएको छैन, पकपक्ती उप्किन थालिसकेको छ’, स्थानीय व्यवसायी शिवहरि जैन भन्छन्, ‘देख्दादेख्दै उप्किसकेको छ ।’
धरानको मुख्य रोड, धनकुटे रोडको सडक अहिले हेरिनसक्नु अवस्थामा छ । सडक भत्किँदा दुर्घटनाको पनि जोखिम बढाएको छ । अहिलेसम्म मुख्य रोडको सडक मर्मत भएपनि धनकुटे रोडको सडक मर्मतमा ध्यान जान सकेको छैन । धरानका अधिकाङ्श सडक पनि अहिले ८–१० वर्षमै मर्मत गरिएको उदाहरण पनि छन् । बुद्धरोडको सडक पिच भएको १७ वर्ष भइसकेको छ । तर कहिल्यै टसमस छैन । जुन सडकलाई कहिल्यै मर्मत गर्नुपरेन । ‘अहिलेसम्म न मर्मत गर्नुपरयो न कसैको गुनासो नै सुनिएको छ ।’ तत्कालीन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरबल शेर्पा भन्छन् ।
त्यतिबेला साविक धरान नगरपालिकामा मनोजकुमार मेन्याङ्बो मेयर थिए । मेन्याङ्बो पनि निरीक्षणमा पुगेका थिए । ‘तर उनले बाटो के बनाएको भनेर फर्किएका थिए तर पनि यो सडक ठीक बनाउनु भएको रहेछ भनेर धन्यवाद समेत दिए’, उनले भने । त्यतिबेला उत्कृष्ट सडक बनेको भन्दै पुरस्कृत पनि भएको थियो । ‘सडक अति नै राम्रो सामग्री प्रयोग गरेर बनाएको पाइयो, इन्जिनियरले त्यसो भनेपछि यो सडकले पुरस्कार पाएको हो’, उनले सम्झिए, ‘सडक पनि राम्रो सामग्रीको प्रयोगले मिहिनेतका साथ आफैं बसेर बनाएको थिएँ ।’
उनी अहिले बनेका सडकको हालत देखेर विरत्तिन्छन् पनि । मिहिनेतका साथ सडक बनाउने हो भने वर्षौवर्ष नभत्किने उनको भनाइ छ । ‘अहिलेका सडकको हालत हेर्छु विरक्त लाग्छ’, उनले थपे, ‘ठेकेदारले राम्रो सामग्री प्रयोग गरे कुनै सडक वर्षौसम्म पनि भत्किँदैन नि ।’ धरानको यो सडकको उदाहरण हेरेर पनि अन्य सडक बनाइनुपर्ने उनले सुझाए । ‘अहिले धरानमै पनि धमाधम सडक बनिरहेका छन्, बनिनेक्रममा पनि छन् तर यहाँ आएर बुझुन् ।’ उनले भने ।
अहिले भने खानेपानी आयोजनाको कामले गर्दा सडक भत्किने पनि हो कि भन्ने चिन्तामा छन् उनी । आयोजनाको कामप्रति उनी सन्तुष्ट छैनन् । ‘धरानको एडिबी खानेपानी आयोजनाको काम कमसल भइदिँदा अबचाहिँ उप्किन्छ र भत्किन्छ कि ।’
त्यहीसँगै बनाइएको नारायणचोक–दुर्गाचोकको सडक पनि अहिले हेरिनसक्नु पारामा उप्किएको छ । ‘सँगै बनाइएको नारायणचोक–दुर्गाचोकको सडकको अवस्था हेर्नुहोस् न धेरैपटक मर्मत भइसक्यो, अहिले पनि ठाउँ ठाउँमा भत्किएको अवस्थामा पाउनुहुन्छ ।’ उनले भने ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

हेरौं पुरानो बजारको सडकको हालत, जुन दुई वर्षअघि बनेको थियो । 

हेरौं नारायण चोकको सडकको हालत ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here