२०५७ सालदेखि राजनीतिमा सक्रिय युवा नेता फोक्वाहाङ सुब्बा (चोत्लुङ) एक दशकभन्दा लामो समयदेखि धरानको भूगोल, माटो र धराने जनतासँग प्रत्यक्ष परिचित छन् । उनी तत्कालिन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएका कुशल, सालीन सङ्गठक र योद्धा हुन् । हालसम्म देश र जनताको मुक्तिका खातिर अविवाहित रहेर व्यक्तिगत जीवन र परिवारभन्दा माथि उठी सम्पूर्ण जीवन राष्ट्रको समृद्धि र जनताको खुशीका लागि ठूलो त्याग र बलिदान गर्दै आएका छन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत भई धरान उपमहानगरको संयोजक समेत भइसकेका चोत्लुङ धरान उपमहानगरपालिकामा सर्वदलीय संयन्त्रको संयोजक बनेर काम गरिसकेका छन् ।
धरानमा सबै राजनीतिक दलको नेतृत्व समेत गरिसकेका चोत्लुङ अहिले नेकपा एमाले र माओवादी केन्द्रको एकता पश्चात् बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीको जिल्ला सदस्य हुन् । धरान उपमहानगरपालिका यतिबेला प्रमुखबिहीन बनेको छ । आगामी मङ्सिर १४ गते धरान उपमहानगरपालिकासहित देशभरका रिक्त रहेका जनप्रतिनिधिहरुको उपनिर्वाचन हुँदैछ । धरानमा नगरप्रमुख (मेयर) को उम्मेद्वार नेकपाले छनौट गर्न ढिलो गरिरहेको छ । यद्यपी अनुभवी, स्व. मेयर तारा सुब्बाका सहयात्री समेत रहेका फोक्वाहाङ सुब्बा (चोत्लुङ) नेकपाबाट मेयर बन्नुपर्ने आवाज उठिरहेको छ । यसै सन्दर्भमा मेयरको चुनाव र धरानको समग्र विकासमा केन्द्रित भई उनीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
मङ्सिर १४ गते धरानमा मेयरको चुनाव हुन्छ त ?
–अवश्य हुन्छ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते निर्वाचनको मिति सार्वजनिक गरी निर्वाचनको तयारी गरिसकेको छ । दल दर्तादेखि चुनाव चिह्न दिने सम्मको काम सम्पन्न गरिसकेको छ । मलाई विश्वास छ, कार्तिकको पहिलो साता निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजानिक गर्नेछ । फेरि यो आम चुनाव नभएर उपचुनाव हो । यो सरकारको नियमित र सामान्य कार्यभित्र पर्दछ । यसकारण निर्वाचन हुनेमा द्विविधा छैन ।
धरानको मेयर कस्तो हुनुपर्छ ?
–उपनिर्वाचनपछि आउने धरान नगर प्रमुखको कार्यकाल भनेको अढाइ वर्षको हो । यसकारण यो छोटो अवधीलाई आउने मेयरले नेतृत्व गर्नुपर्ने हुन्छ । यसरी हेर्दा अब आउने मेयरको दुईवटा जिम्मेवारी हुन आउँछ । पहिलो यस अगाडी नगर सरकारले सारेको योजनाहरुलाई कार्यान्वयन गर्दै पूरा गर्ने र धरानको दीर्घकालिन योजनाहरुलाई तयारी गर्दै अगाडी बढाउने । सुशासन कायम गर्दै आम नगरवासीको सेवा प्रवाहलाई प्रभावकारी बनाउने । यसरी हेर्दा यो दुइटै अभिभारा पूरा गर्ने गर्न सक्ने अनुभवसहितको सक्षम नेतृत्व अहिलेको धरानको आवश्यकता हो । धरानका निर्णय भइसकेका र निर्माणका क्रममा रहेका योजनाहरूबारे जानकार र अनुभव भएको साथै समृद्ध धरान निर्माणको लागि स्पष्ट भिजन भएको मेयर आजको आवश्यकता हो ।
मेयरमा तपाईलाई पार्टीले टिकट दिएमा के गर्नुहुन्छ ?
–मलाई पार्टीले जिम्मेवारी दिएमा धरानको विकास र समृद्धिको अभियान अगाडि बढाउन तयार छु । १० वर्षसम्म धरान उपमहानगरपालिकाको विभिन्न कार्यमा दलीय संयन्त्रमा रहेर तथा पार्टी प्रतिनिधी भएर औपचारिकरुपमा र अनौपचारिकरुपमा धरानको विकासको लागि गरेका कार्यहरुको अनुभवलाई धरानको विकास र समृद्धिको लागि सदुपयोग गर्नेछु । म धरानवासी जनसमुदायलाई २४ घण्टा नै उपमहानगरपालिका बसेर सेवा गर्न तयार छु ।
धरानमा नेकपाले जित हासिल गर्ने आधार के के हुन् ?
–धरान नेकपाको आधार क्षेत्र हो । वैचारिक, राजनैतिक र सङ्गठनको हिसावले हेर्दा नेकपाले धरानमा दुई तिहाई मतका साथ निर्वाचन जित्ने आधार रहेको छ । विगतमा नेपालका दुई ठुला कम्युनिष्ट पार्टीले छुट्टाछुट्टै निर्वाचन जितेका छन् । आज ती पार्टीहरु मिलेर नेकपा भएको छ । अर्को पाटो भनेको धरानको आजको चित्र भनेको नेकपाको नै देन हो । हिजो जनपक्षीय उमेद्वारहरु कृष्णकुमार राई, बम देवानको नेतृत्वमा गरेको काम हुन या ४६ सालको आन्दोलनपछि ध्यानबहादुर राई, मनोजकुमार मेन्याङबोदेखि तारा सुव्वाको नेतृत्वसम्म आउँदाको कुरा हेरौं । साथै पाँचकन्यामा रमेश बस्नेत र विष्णुपादुकामा मणिराम राईको नेतृत्वमा भएका काम या मनमोहन अधिकारी, लिला सुब्बा, कुन्ता शर्मा, किरण राई, कृष्णकुमार राईसम्मले नेतृत्व गर्दा धरानमा जे जति काम भएका छन् ती नेकपाको नेतृत्वमा नै भएका छन् । साथै हाल जति नयाँ योजनाहरु सञ्चालित छन् ती माननीय सभामुख प्रदीपकुमार भण्डारी, माननीयहरु जयकुमार राई, भीम आचार्य, उमिता बराइली, सावित्री श्रेष्ठ, कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारीको नेतृत्वमा नै भइरहेका छन् । यसका साथै अन्य नेकपाको नेताहरु समेत धरानको विकासमा पहल र योगदान गरिरहेका छन् । यसकारण अहिले जे विकासका कार्यहरु भइरहेका छन् ती नेकपाकै नेतृत्वमा भइरहेका छन् । अवश्य सिमा कमी कमजोरी हुन्छ नै । तर स्रोत साधनलाई आधार मानेर ७७ जिल्लालाई हेरयौं भने धरान अब्बल नै छ । अगाडी नै छ । यी नै आधारमा नेकपाले धरानमा जित हासिल गर्नेछ ।
तपाई धरानको मेयर बन्नु भए के–के गर्नुहुन्छ ?
–पहिलो प्राथमिकता भनेको आम धरानबासी र नगर सरकारबीच विश्वासको वातावरण निर्माण गर्नु हुनेछ । किनकी नगर सरकार र नगरबासीको बीच विश्वासको वातावरणविना धरानको विकास सम्भव छैन । यसका लागि भ्रष्टाचार नियन्त्रण तथा सुशासनयुक्त छिटो छरितो सुलभ सेवा प्रवाह महत्वपूर्ण पाटो हो । दोस्रो विगतमा हामी आफैले अगाडी सारेको योजना र परियोजनाहरु धरान खानेपानी आयोजना सम्पन्न गर्ने र खानेपानी बोर्डलाई धराने जनताको संथा हो भन्ने विश्वास पैदा गराउने, सर्दु जलधार क्षेत्र लगायत जलधार क्षेत्रको संरक्षण कार्य गर्ने । धरान बसपार्क निर्माणको डिपीआर बनिसकेको हुँदा त्यसका लागि आर्थिक स्रोत जुटाउने र ३ वर्षभित्र सम्पन्न गर्ने गरी काम अगाडी बढाउने, धरानमा बृहत पार्किङ क्षेत्र तथा पानमारी, विष्णुपादुका शिवधारा, भेडेटार लगायत क्षेत्रमा बसस्टेण्ड तथा पार्किङ बनाउने साथै त्यहाँ रहेको सुन्दरबस्ती जग्गा विकास आयोजनाको समस्या सामाधान गर्ने, धरान विमानस्थल निमार्णको स्वीकृती भइसकेको र विमानस्थल निर्माण गर्ने निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले जग्गा व्यावस्थापन गर्न नगर सरकारलाई पटकपटक ताकेता गरिसकेको हँुदा तत्काल जग्गा व्यावस्थापनको लागि प्रक्रिया अगाडी बढाउने, जग्गाधनी तथा बासिन्दाहरुकोे न्यायपूर्ण व्यवस्थापन गर्ने, यसका लागि आर्थिक स्रोत जुटाउने र निर्माण कार्य अगाडि बढाउने, धरान रंगशालालाई सम्पन्न गर्ने, खेलकुद ग्राम बनाउने, क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने, धरानमा रहेको सम्पूर्ण खेलको पूर्वाधारको संरक्षण र विकास गर्ने ।

सर्दु तथा सेउतीको तटबन्धन तथा ग्रीनबेल्ट सहितको सडक कोरिडोर निर्माणलाई एकीकृत रुपमा अगाडी बढाउने, हालबनी रहेको पुलहरुलाई पूरा गर्ने तथा पुल पुलेसा निर्माण गर्ने । पर्यटनसँग सम्बन्धित पुर्वाधारहरु निजी सार्वजानिक साझेदारीमा अगाडी बढाउने, प्याराग्लाइडिङ लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, साहसिक खेलको प्रर्वद्धन गर्ने, सुविधा सम्पन्न रिसोर्ट तथा होटल निर्माण गर्न भेडेटार, दानावारी तथा चिण्डेडाँडा, विष्णुपादुका लगायत क्षेत्रमा जग्गा व्यवस्थापन गरी निजी क्षेत्रलाई लगानी गर्ने वातावरण मिलाउने, विग थाउजन बुद्धको परियोजनालाई सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने, विजयपुर क्षेत्रलाई ऐतिहासिक तथा धार्मिक क्षेत्र घोषणा गरी विजयपुर ऐतिहासिक धार्मिक सास्कृतिक नगरी निर्माण गर्ने तथा धार्मिक मठमन्दिर तथा दवारको संरक्षण तथा पुन निर्माण गर्ने, धरान–भेडेटार केवलकार निमार्ण परियोजना अगाडी बढाउने, धरान–मूलघाट सुरुङ मार्ग र यसलाई धरान इटहरी तथा विराटनगरको भविश्यमा खानेपानी व्यवस्थापन समेत जोडेर अगाडी बढाउन सहजीकरण गर्ने, धरानका छिमेकी नगरपालिका तथा गाउपालिकाहरु जोड्न निराजन बस्ती दानावारी कन्यापोखरी, धरान मङ्गलबारे विष्णुपादुका आहाले त्रिवेणी, जानकीचोक चिण्डेडाँडा विष्णुपादुका बराहक्षेत्र, धरान भरौल, धरान हरीयाली बक्लौरी, पानमारी, तालतलैया, इटहरी लगायत लिङक रोडहरुको निर्माण, धरान विराटनगर राजमार्गको विस्तार तथा मदन भण्डारी राजमार्गको चाँडो निर्माणको लागि पहल गर्ने, खहरेहरुको तटबन्ध तथा कोरीडोर निर्माण, धरान आसपासका गाउँ नगरहरुसँग पर्यटकीय पूर्वाधार निर्माणमा सहकार्य गर्ने, बहुजातीय सङ्ग्रहालय निर्माण सम्पन्न गर्ने, विजयपुर दरवारक्षेत्रको पुन निमार्ण तथा समुदायिक वनसँगको सहकार्यमा पार्कहरु निर्माण, सार्वजानिक जग्गा संरक्षण गर्ने , दाहसंस्कारस्थलहरुलाई व्यावस्थित गर्ने, सभागृहको पुन निर्माण तथा प्रदर्शनी हल क्षेत्रको निर्माण, भानुचोक व्यवस्थापन, पानमारीमा औद्योगिक ग्रामको विस्तार गर्ने, गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै धरानका सम्पूर्ण शैक्षिक संस्थाहरुसँग सहकार्य गरी शैक्षिक नगरी बनाउने आधार तयार गर्ने, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरानवासीको अपनत्व हुने वतावारण बनाउने, बिषेशज्ञ स्वाथ्य सेवामा जोड दिने मेरो लक्ष्य छ ।
यस्तै, करको दर वृद्धि होइन दायरा विस्तारको नीति लिने वैज्ञानिक तथा व्यावहारिक कर सरोकारवाला पक्षसहितको सुझावका आधारमा लागू गर्ने, सुकुम्बासीको व्यवस्थापनको लागि हाल भइरहेको कार्यलाई सम्पन्न गर्दै लालपुर्जा र व्यवस्थित आवासमा जोड दिने, विष्णुपादुका र पाँचकन्यामा योजनाबद्धरुपमा कृषी तथा पर्यटन प्रवद्र्धन गर्ने लगायत कार्य गर्ने, धरानलाई साँस्कृतिक शहर बनाउन सरोकारवाहरुको सहमतीमा साँस्कृतिक पात्रो वार्षिक साँस्कृतिक कार्यक्रम बनाई प्रदर्शन तथा प्रवर्दनको व्यवस्था गर्ने, कला, साहित्यको विकासको लागि थिएटर हलको निर्माण गर्ने, धरानलाई स्मार्ट सिटी बनाउन बिजुली, टेलिकम लगायतको तारलाई भूमिगत गर्न शुरु गर्ने पनि मेरो प्राथमिकतामा परेका विषय हुन् ।
धरानमा रहेका र धरान बाहिर रहेका सम्पूर्ण धरानलाई माया गर्ने धरानेहरु एवं धरानका सबै तह र तप्कासँग सहकार्य गरी धराने जनतासँग रहेको अनुभव, योग्यता, क्षमता र सम्बन्धलाई धरानको विकास र समृद्धिको लागि सदुपयोग गरी योगदान गर्ने वातावरण बनाउने लगायत मेरो योजनाहरु रहेका छन् ।
खानेपानी, एयरपोर्ट, बसपार्क, रङ्गशाला आदिका विषय चुनावी मुद्दा मात्रै हो भन्छन् नि ?
–हो आजसम्म धरानको खानेपानी, एयरपोर्ट, बसपार्क, रङ्गशाला आदि चुनावी मुद्दा जस्तो मात्र बनेको देखियो । तर वास्तविकता त्यस्तो होइन । धरानको खानेपानी आयोजना धरानमा रहेका हामी राजनीतिक दलहरुको सहमती निर्णय र सिफारिसमा बनेको र अगाडी बढेको योजना हो । करिब ९५ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको यो योजनालाई पूरा गर्नुपर्छ । कुनै राजनीतिक दलले चुनावी मुद्दा बनाउनु आवश्यक छैन । हो यदि परियोजना सञ्चालनमा गलत कार्य भएका छन् भने आवश्यक छानबिन गर्नैपर्छ । फटाइ गरेको भेटिए कार्वाही गर्नु पर्दछ । धरान विमानस्थल स्वीकृत भइसकेको छ । धरान उपमहानगरपालिकाले जग्गाको व्यावस्थापन गर्नुपर्ने कार्य बाँकी रहेको हुँदा निमार्ण कार्य शुरु गर्न सकिएको छैन । निर्वाचनमा धरान विमानस्थल नबनाउने भन्ने मुद्दा हुनै सक्दैन, बरु हामीले कसरी जग्गा ब्यावस्थापन गर्ने र बँकी कामलाई सम्पन्न गर्दछौ भन्ने योजना अगाडी सर्ने हो । धरान रंगशाला निमार्णाधीन चरणमा छ । सर्दु र सेउती तटबन्धन तथा कोरीडोर निर्माणको लागि टेण्डर प्रक्रिया अगाडी बढ्दै छ । यसकारण यी कुरा चुनावी मुद्दा बनाउने कुरा मात्र होइन छिट्टै यथार्थतामा बदल्ने योजनाहरु हुन् । यसलाई केवल चुनावी मसला बनाउनु भन्दा यी योजानहरु पूुरा गरी छाड्ने संकल्प गरी अगाडी बढ्दा धरानवासीको लागि हितकर हुने छ ।
अढाइ वर्षका लागि मेयरको पदमा बस्नु भन्दा पछि हुने चुनावमा ५ वर्षका लागि मेयरको तयारीमा लाग्दा के हुन्छ ?
–यो गम्भीर प्रश्न हो । म धेरै मानिसहरुले यसै प्रकारको बहस गरेको पाउँछु । तर यो कुरा व्यक्तिसँग सम्बन्धित छ को व्यक्तिले कति चलाउने भनेर । यस प्रकारको बहस सही होइन भन्ने मेरो ठहर छ । मेरो बुझाइमा हामीले सबैभन्दा माथि धरानवासीलाई राख्नुपर्दछ । कोही पात्र विशेषलाई होइन । धरानको विकास र समृद्धलाई राख्नुपर्दछ । हामीले यो साढे दुई वर्ष धरानवासीको हो भन्ने बुझ्नुपर्दछ । हामी राजनीतिक दलहरुलाई साढे दुई वर्ष त हो नि भनेर धरानवासीको द्रुत विकासको चाहना र समृद्धिको सपनामाथि खेलवाड गर्ने छुट छैन । बरु सही पात्रलाई अगाडी सार्ने जिम्मेवारी छ । बरु दुई दिन भए पनि राम्रो काम गर्नु पर्दछ । राम्रो काम गर्न पार्टीले सही पात्र छान्न आवश्यक हुन्छ । यहाँ कसले अढाइ वर्ष चलाउने वा ५ वर्ष चलाउने भन्ने होइन कि अढाई वर्षको समयमा नगर सरकारले के के गर्नुपर्ने छ । कस्तो धरान बनाउने हो । यसका लागि ५–१० वर्षभित्र सम्पन्न गर्नुपर्ने योजनाहरु के हुन् अहिलेदेखि के के कुराको तयारी गर्नु पर्ने हो । यसका लागि कस्तो पात्र आवश्यक हुन्छ । र त्यस्तो उपयुक्त पात्र को हुन सक्छ भनेर हामीले छलफल गर्नुपर्दछ । अझ धरानको हकमा नेकपा यो विषयमा संवेदनशील हुन आवश्यक छ । यसकारण साढे दुई वर्षको लागि उपयुक्त पात्र छान्ने र समाजवादी समृद्ध धरानको निर्माणको आधार तयार गर्ने काम गर्नु पर्दछ ।

स्व. तारा सुब्बाको सहयात्री मध्ये तपाई प्रमुख पात्र हुनुहुन्छ, उहाँका अपुरा कार्यलाई कसरी पूरा गर्ने सोंच बनाउनु भएको छ ?
–स्व.मेयर तारा सुब्बा र म २०६५ सालदेखि धरानको विकासमा सँगै रह्यौ । त्यतिखेर म नेकपा माओवादीको तर्फवाट धरान नगरको इन्चार्जका हैसियतमा दलीय संयन्त्रमा थिएँ भने स्व.मेयर तारा सुव्वा तत्कालीन एमालेको नगर अध्यक्षको हैसियतमा दलिय संयन्त्रमा हुनुहुथ्यो । हामी स्थानीय निर्वाचनसम्म करिब १० वर्ष धरानको विकासमा निरन्तर सहकार्य गरी रह्यौ । सो समयमा हामीले करिब ८ वटा नगर परिषद् सम्पन्न गरी धरानको भिजन बनायौं ।
आवधिक योजना निर्माण गरयौं धरानको लक्ष्य ‘शिक्षा स्वास्थ्य तथा पर्यटकीय व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध शहर’ तय गरयौं । धरानको सबैभन्दा ठूलो खानेपानीको समस्या सामाधान गर्न खानेपानी योजना अगाडी बढायौं । रंगशाला पुनः निर्माणको निर्णय गरी शुरु गरयौं, धरान विमानस्थल स्वीकृत गरायौं । बहुजातीय संग्रहालयलाई जग्गा दिने तथा बनाउने निर्णय गरयौ, सर्दु सेउतीको तटबन्धन तथा कोरीडोर निर्माण, पाँचकन्या र विष्णुपादुकासँग समझदारी गरी धरानलाई उपमहानगरपालिका बनाउने निर्णय गरियो । विग थाउजन बुद्ध परियोजना, भक्तराज कन्दङ्वा क्रिकेट मैदान, सुकुम्बासीहरुलाई घर नं. दिने र धुरीकर लिने, उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने, धरान आसपासका क्षेत्रसँग धरानलाई जोड्न लिङकरोडहरु, सेउती, सर्दु, सेरा, अँधेरी लगायत खोलाहरुमा पुल निर्माणका योजनाहरुको लागि निर्णय साथै पहल गर्ने कार्य गरियो । स्व.तारा सुव्वा मेयर भएपछि यी योजनाहरुमध्ये कार्यान्वयन भई रहेकालाई सम्पन्न गर्न दृढतापूर्वक लाग्नु भो भने, सो समयमा शुरु नभएका परियोजनाहरुलाई शुरु गर्नु भो । यसबाहेक नयाँ योजनाहरु समेत अगाडी सार्नुभयो । हाल का.बा. मेयरको नेतृत्वमा यी योजनाहरु कार्यान्वयनको भइरहेको छ । केही शुरु गर्नै बाँकी छन् । मलाई लाग्छ यी योजनाहरुमा स्व.मेयर तारा सुब्बाको सोच र भिजन समायोजित रहेका छन् । त्यसकारण यी योजनाहरुलाई पूरा गर्दै स्व. मेयर तारा सूव्वाको सपनालाई साकार पार्दै नया धरान निर्माणको लागि अगाडी बढ्ने योजना छ ।
कमजोर उम्मेद्वारका कारण नेकपा पराजय त होला नि ?
–मेरो विचारमा कमजोर पार्टीले, जित्ने विश्वास नभएका दलहरूले बलियो उम्मेद्वार खोज्ने हो । तर जित सुनिश्चत भएको पार्टीले राम्रो उम्मेद्वार खोज्ने हो । जसले साँच्चै स्थानीय सरकार जनताको हो भन्ने अनुभूति दिलाउन सक्छ । जसले सुशासन कायम गर्न सक्छ । भ्रष्टाचार निर्मूल गर्न सक्छ । जो सँग धरान निर्माणको स्पष्ट भिजन छ । उसलाई उम्मेद्वार बनाउनु उपयुक्त हुन्छ । बलियो त गलत मान्छे पनि हुन सक्छ । भिजन नभएको पनि हुन सक्छ । भ्रष्टाचारी पनि बलियो हुन सक्छ । यसकारण पार्टीले जतिसुकै बलियो होस् गलत मान्छेलाई जनताको सेवा गर्ने ताला चाबी बुझाउनु हँुदैन । पार्टीले सही पात्र अगाडी सारयो भने त्यहाँ हार जित व्यक्ति विशेषको रहने कुरै आउँदैन । जित हार जे पार्टीको हुन्छ । पार्टीले जिम्मा लिन्छ । मुख्यतः पार्टीले चलाएको सरकारले गर्ने कामको आधारमा जनताले मत दिने हो । मलाई विश्वास छ सही व्यक्तिलाई जनताले सधैं साथ दिने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here