धरानः धरानमा कार्यरत् एक प्रहरीलाई महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । धरान–४, पत्राङबारी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पिताम्बर अधिकारीमाथि एक स्थानीय एकल महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।
पीडित भनिएकी महिलाले शनिबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि यो रहस्य खुलेको हो । इलाका प्रहरी कार्यालय धरानले अधिकारीलाई पक्राउ गरिसकेको छ । शनिबार नै धरान–४ का वडा सदस्य धनबहादुर कुलुङसहित इलाका प्रहरी कार्यालय धरानबाट घटनास्थल गई प्रहरीले मुचुल्का तयार गरेको छ ।
श्रीमानको मृत्युपछि ती महिला चार छोराछोरीसहित पत्राङबारीस्थित माइती घरमा बस्दै आएकी छन् । मादक पदार्थको नशामा रहेका प्रहरी सहायक निरीक्षक अधिकारीले गएको बुधबार मध्यरातमा घरमा सुतिरहेका बेला घरमा प्रवेश गरी आफूलाई बलात्कार गरेको बयान ती महिलाले प्रहरीसमक्ष बयान दिएकी छन् । ती महिलाको उजुरी दर्ता भइसकेको र घटनाबारे अनुसन्धान थालिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here