धरानः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपचुनावका लागि उम्मेदवार छनोट गरेको छ ।
धरान उपमहानगरपालिकाका मेयर पदका लागि प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा सचिवालयको आइतबार बसेको बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाशलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको असामयिक निधनसँगै मेयर पद खाली थियो । उनले आफूले मेयर पदमा चुनाव जिते स्व. मेयर तारा सुब्बाको सपनालाई पूरा गरिछाड्ने प्रतिबद्धता जनाएका छन् ।
‘स्व. ताराको निधनसँगै उपमहानगरपालिका नेतृत्वविहीन बनेको छ र मेयर पदमा जिते भनें धरानलाई स्मार्ट सिटी बनाउने स्व. ताराको अधूरो सपनालाई म पूरा गर्नेछु ।’ उनले भने ।
उनले थपे, ‘स्व. तारा मेयर पदमा ३७२ दिन रहँदा जुन सोंच, भिजन बनाउनु भएको थियो, त्यो पूरा यतिका समय ढिला भइसकेको थियो, भनौं, उहाँको निधनले धेरै घाटा भयो तर पनि भिजन र मिसन पूरा गर्नतिर म हरदम लागिपर्नेछु ।’
उनले पार्टीप्रतिको घोषणापत्रमा आएका दीर्घकालीन, अल्पकालीन योजना, विकास, शिक्षा, धार्मिक, जातजाति, संस्कार, संस्कृतिको उत्थानका लागि जोड दिने बताए । ‘स्व. मेयरको निधनसँगै दुईजनाको काम एउटाले गर्नुपरेकोले धेरै काम थाँती नै रहेका हुन्, दिनरात खटेर भएपनि म प्रकाश छुर्छु ।’ उनले पार्टीलाई विजयपुरको डाँडोजस्तो, घण्टाघरजस्तो बनाएर छाड्ने पनि बताए ।
अन्ततः को हुन् प्रकाश राई ?
२०३५ सालको निरङ्कुश पञ्चायती समयमा १८ वर्षको उमेरमा कोअर्डिनेशन केन्द्रमार्फत् सङ्गठित बनेका उनी २०४६ सालमा नेकपा माले सुनसरी १ नम्बर क्षेत्रीय कमिटी सदस्य बने । उनी माले र माक्र्सवादी बीच एकीकरणपछि नेकपा एमालेको २०४७ सालमा पार्टी सङ्गठित सदस्यता प्राप्त गरी सोही सालदेखि धरान नगर कमिटीको दुई कार्यकाल सदस्य, २०५६ सालदेखि नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्यमा निरन्तर १ नम्बर निर्वाचन क्षेत्रको इञ्चार्जको भूमिका निर्वाह गरेका व्यक्ति हुन् ।
यस्तै, उनी नेकपा एमाले र नेकपा माओवादी दुई पार्टीबीच एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा सुनसरी जिल्ला कमिटी सचिवालय सदस्यका रुपमा क्रियाशिल रहेका राई कम्युनिष्ट आन्दोलनको ४१ वर्षसम्म निरन्तर क्रियाशील विभिन्न समयमा पार्टीभित्र भएका गुट उपगुट, विभाजन र जातीय संकीर्णताका विरुद्ध क्रियाशिल रहे ।
उनलाई एक हिसाबले धरानलाई बुझेको नेता भन्छन् । महेन्द्र बहुमुखी क्याम्पस धरानबाट बिएसम्मको अध्ययन पूरा गरेका राई धरान वडा नम्बर १८ का स्थायी बासिन्दा हुन् । अन्तरमुखी, भद्र, शालिन र पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने नेताका रुपमा परिचित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here