धरानः मगर समुदायको मौलिक हुर्रा नाचमा धराने मात्रै नभएर सबै रमेका छन् । सामूहिक हुर्रा नाचमा विशेषतः युवायुवती, वृद्धवृद्धादेखि बालबालिकासमेत सहभागी थिए ।
गीतको भाकासँगै देशै रमाइलो, देशै रमाइलो‘ भन्दा धरान नै रमाइलो भएको अनुभव हुन्थ्यो । मौलिक संस्कृतिको जर्गेना गर्न कार्यक्रमको आयोजना गरिएको नेपाल मगर सङ्घका अध्यक्ष चित्रराज थापामगरले जानकारी दिए । एक अर्काको हात समाएर खुट्टाको तालमा ताल मिलाएर गाउँदै नाच्ने हुर्रा शैली मगर समुदायमा प्रचलित छ, त्यही जोगाउन उनीहरू वर्षेनी लागि पर्छन् ।
‘यो मगर समुदायको पुरानो शैलीको नृत्य होे,’ सङ्घको चित्र थापा मगरले जानकारी दिए । सामूहिक नाचले नयाँ पुस्ता सिकाउने अवसर बढेको सचिव मुना राना मगरले बताइन् । यो नृत्य बढी युवायुवतीलाई छोएको उनको भनाइ छ । नाचको संरक्षण र सम्वद्र्धनमा धेरै वर्ष पहिलादेखि सङ्घ लागिपरेको छ । ‘अहिले पूर्वतिर पनि यसको रौनक बढ्दै जानु खुशीको कुरा हो’, उनले भने, ‘यसले मगरहरूले आफ्नो संस्कार संस्कृतिको जोहो गर्ने गरेको छ ।’
मगर जातिको मौलिक नाच हो हुर्रा । मगर समाजमा कौडा, सोरठी, घाटु, मारुनी, कडुवा आदि नाच पनि नाचिन्छ । हुर्रा मूलतः पूर्वका मगर समुदायले नाच्ने गर्दछन् । हुर्राको उद्गमस्थल धनकुटाको मुढेबास गाविसलाई मानिन्छ । कुनैबेला धनकुटाका चौविसे क्षेत्रका गाविसका मगरले मात्रै नाच्ने यो नाच अहिले देशैभरि नाचिन्छ ।
प्रतियोगितामा सयौंको संख्यामा मगर जातिहरुले हुर्रा नाचेका थिए । हुर्रा नाच कार्यक्रममा बुढापाका र युवापुस्ताको उत्तिकै उपस्थिति रहेको थियो भने कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक तथा वडा नं १५ का वडा अध्यक्ष नरेश इवारामले गरेका थिए । कार्यक्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका (जहाँ हुर्रा नाच बढी संरक्षित छ) देखि सुनसरीका कलाकारले हुर्रा नृत्य पस्किन भ्याए ।
तस्वीरः लक्ष्मण थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here