धरानः संखुवासभा चैनपुर–३ की सीता पुरीको जेठो सन्तान अस्पतालमा अप्रेसन (शल्यक्रिया) गरेर बच्चा निकालियो । उनको अर्को बच्चा हुन लागेको छ । उनलाई अब फेरि बच्चा जन्माउँदा के गर्नुपर्ने हो भन्ने चिन्ता छ । सासु पवित्रा पुरी भन्छिन्, ‘हाम्रो पालामा यस्ता झण्झट केही थिएनन्, खेत रोप्दा खेतमै छोरो पाए, अहिले के के हो के के ।’ चिकित्सकका अनुसार पहिलोपटक अप्रेसन गर्नेको दोस्रोपटक बच्चा हुँदा निकै जोखिम हुन्छ । यहाँसम्मकी पहिले चिरिएको पाठेघर फुट्न सक्छ ।
बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानकी एशोसिएट प्रोफेसर डा. ज्योति अग्रवाल पहिलोपटक अप्रेसन गरेर दोस्रो बच्चा जन्माउदा निकै जोखिम हुने बताउँछिन् । अप्रेसन गर्नु आमाका लागि खतरा भए पनि अप्रेसन गराउनेको संख्या दिनानुदिन बढ्दै छ । शल्यक्रिया (अप्रेसन) अर्थात् ‘सिजेरियन सेक्सन’ गरी बच्चा जन्माउने प्रचलन बढेको हो । विभिन्न कारणले अहिले शल्यक्रियामार्फत् बच्चा जन्माउनु प्रचलनको रूपमा विकास हुँदै गएको छ । फेरिएको र सुधारिएको जीवनशैली र प्रसव पीडाबाट मुक्त हुन शल्यक्रियामार्फत् बच्चा जन्माउन चाहनेको सङ्ख्या बढी रहेको चिकित्सक बताउँछन् ।
प्रतिष्ठानकी एशोसिएट प्रोफेसर डा. ज्योतिका अनुसार बीपीमा विविध कारणका बिरामीका लागि मात्रै यस्तो विधि अपनाइने बताइन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ समेत रहेकी उनले सालले बच्चा निक्लने बाटो ढाक्नु, बच्चा निस्कने ठाउँ साँघुरो हुनु, बच्चाको तौल कम हुनु, डेलीभरी गराउँदा गराउँदै बच्चाको मुटुको ढुकढुकी कम भयो वा अनियमित हुनु, पेटभित्र नै बच्चाले दिसा गरेमा, गर्भवतीलाई उच्च या कम रक्तचाप हुनु, बच्चा उल्टो वा तेर्सो बसेमा, बच्चामा धड्कन बढ्ने, बच्चाले दिशा गरेमा, आमालाई मधुमेह भएमा र कतिपय अवस्थामा आमाको उमेरका कारण पनि शल्यक्रिया गर्नुपर्ने अवस्था आउने बताइन् ।
‘महिलाहरुको उचाइ र तौल थोरै भएमा पनि खतरा हुन्छ । पाठेघरको मुख सानो भएमा, पहिला गर्भपतन गरेको वा बच्चा खेर गएको अवस्थामा पनि सिजेरियन सेक्सन गरिन्छ,’ अग्रवाल भन्छिन्, ‘आमा र बच्चालाई खतरा छ या नर्मल डेलिभरी गर्न सकिन्न भने सिजेरियन सेक्सन गरिन्छ ।’
कतिपय निजी अस्पतालहरूले भने अप्रेसनलाई नै जोड दिने सम्बन्धित क्षेत्रका विज्ञ नै बताउँछन् । ‘निजी अस्पतालले नर्मल हुँदासमेत पनि गरेको देखिएको छ’, धरानका भुक्तभोगी भन्छन्, ‘शरीर फिट राख्न चाहने र प्रसव पीडा सहन नसक्ने हुँदा त ठीकै हो तर नर्मल नै हुँदा त किन गर्नुप¥यो अप्रेसन ?’
चिकित्सकका अनुसार अहिले कोही महिला रिस्क लिन चाहँदैनन् । डाक्टर र अस्पताल पनि रिस्कमा काम गर्न रूचाउँदैनन् । ‘साइत हेरेर बच्चा जन्माउने, ब्युटी कन्सस हुनेहरू र प्रसव पीडा सहन नसक्नेहरू सिजेरियन सेक्सन गर्न आउने ट्रेन्ड चलेको छ,’ एक चिकित्सक नाम नछाप्ने शर्तमा भन्छन्, ‘तर, उहाँहरुलाई हामी सम्झाउँछौँ । सम्झाउँदा भएन भने भनेजस्तै त गर्नैप¥यो नि ।’ गर्भवती महिला वा बच्चालाई केही खतरा भएमा अस्पताल तोडफोड हुने कारणले पनि आजकाल धेरैजसो सिजेरियन डेलिभरी हुने उनको कथन छ ।
डा. अग्रवालका अनुसार नर्मल डेलिभरी नै प्राकृतिक हो । अप्रेसनमा कडा एण्टिबायोटिक खानुपर्छ । बच्चाले आमाको दुध चुस्दा दुधसँगै एण्टिबायोटिक पनि जान्छ । कडा एण्टिबायोटिक खाएको बच्चाको स्वास्थ्य कस्तो होला ? यसका लागि सचेतना जरुरी छ । डा. अग्रवालका अनुसार पहिले जस्तो जर्बजस्ती बच्चा जन्माउनुभन्दा अप्रेसन उपयुक्त हो । तर अप्रेसन जोखिमयुक्त हुन्छ । गर्भवति सुत्केरी हुने भनिएको समयभन्दा २ हप्तासम्म ढिला भएमा अप्रेसन गर्ने गरिन्छ । त्यस्तै, पाठेघरमा पानीको मात्रा कम भएपनि अप्रेसन गरेर बच्चा निकाल्ने गरिएको डा. अग्रवाल बताउँछिन् । ‘आमा र बच्चाको ज्यान नै जोखिममा भयो भने मात्र अप्रेसन गर्नुपर्छ, सामान्य अवस्थामै गर्नु भनेको झन् जोखिम निम्त्याउनु हो’, उनले भनिन् ।

सामान्य प्रकृतिले सुत्केरी हुन नसक्ने अवस्था सिर्जना भए मात्र शल्यक्रिया गरेर शिशु जन्माउनुपर्ने हो तर नेपालमा अहिले अप्रेसन गरेर शिशु जन्माउने लहर नै चलेको छ । एक अध्ययनअनुसार विश्वमा शल्यक्रिया नै गर्नुपर्ने अवस्था एक सय महिला सुत्केरी हुँदा ५ देखि १० जनामा मात्र आउँछ । नेपालमा भने अनेकौं कारण देखाएर डरैडरमा अप्रेसन गराउने घटना बढिरहेका छन् । भरसक सामान्य विधिबाटै शिशु जन्माउनुपर्छ ।
कतिपय निजी स्वाथ्य संस्थाहरूले जोखिम कम गराउने नाममा पैसाको लोभले पेट चिरेर सुत्केरी गराउने गरेका उदाहरणहरू पनि प्रशस्तै भएका छन् । त्यसैले विश्वस्वाथ्य सङ्गठनले तोकेको मापडण्डभन्दा तीन गुणा बढी सुत्केरीको पेट चिरिने गर्दा पनि रोकथामको प्रयास गरेको पाइदैन ।
विश्व स्वास्थ्य सँगठन (डब्लुएचओ) ले सिजेरियन सेक्सन (सी सेक्सन) अर्थात् अप्रेसन गरी शिशु जन्माउने कार्यलाई बढीमा १५ प्रतिशतमा सीमित राख्न अपिल गरेको छ । प्राकृतिक रूपमा शिशु नजन्माउनु आमा र शिशु दुवैका लागि घातक भएको पनि डब्लुएचओले जनाएको छ । नेपालकै कुरा गर्ने हो भने सरकारी अस्पतालमा २८ प्रतिशत मात्र सिजरिङ डेलिभरी भए पनि निजी अस्पतालमा यो संख्या निकै बढी देखिन्छ । निजी अस्पतालले कुल संख्याको ९३ प्रतिशतभन्दा बढी अप्रेसन गराएर शिशुलाई जन्म दिएको तथ्याङ्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here