धरानः २०५० सालदेखि गजल लेख्न थालेका धरान–१५ का श्रेष्ठ परिक्रममा गजल भनेपछि हुरुक्कै हुन्छन् । उनी विशेषतः रोमान्टिक साथै समय सन्दर्भ झल्काउने गजल लेख्न रुचाउँछन् । उनी २०५० सालदेखि लेखिएका गजलहरूको पुस्तक ल्याउने तयारी थालेको बताउँछन् ।
गजलले नेपाली साहित्यमा पछिल्लो समय निकै हलचल मच्चाउँदै आएको छ तर कार्यक्रम कम भइदिँदा उनलाई पनि निन्यास्रो लाग्ने गरेको बताउँछन् । ‘उर्वर विधाको रूपमा अगाडि बढिरहेको गजलको मलजल सबैबाट भएको छ, तर कार्यक्रम खासै हुन सकेको छैन, कार्यक्रम भइहाले पनि समूह समूहले गर्दा समूहले कतातिर दौडाउने हो उतैतिर कुद्नुपर्ने बाध्यता छ ।’ उनले भने । गजलमार्फत् उनले खासगरी समाजभित्रका अभाव, विसंगति, विकृति तथा यावत् पक्षहरूलाई शब्दले उधिनेर साराका सामु राखिदिने गरेका छन् ।
साहित्यका अन्य विधा कवितामा समेत राम्रोसँग कलम चलाउने उनले आफ्नो लेखनमा छुट्टै मूल्य र मान्यतालाई स्थापित गर्न प्रयत्न गरेका छन् । ‘गजलको मूल सङ्गीत नै हो, लय नै हो । तर, लय मिलाउने नाममा अभिव्यक्ति कौशलता (गजले बयाँ) लाई ओझेलमा पारिएको गजल एउटा गीतिकवितामात्र हुन सक्छ ।’ उनले भने, ‘छन्दमा काफिया र अन्त्यानुप्रास मिलाउँदैमा गजल बन्दैन । बाह्य तथा आन्तरिक गुणहरूको सफल संयोजनबाट मात्र स्तरीय गजल सिर्जना हुनसक्छ ।’
उनले अन्त्यमा भने, ‘तसर्थ, लय र साङ्गीतिकतालाई आधार मानेर लेखिएका गजल नै बढी प्रभावकारी हुन्छन् । किनकि, मानव मनमा शब्दको अपेक्षा श्रुतिको र वाचनको अपेक्षा गायनको प्रभाव सूक्ष्मरूपमा रहिरहन्छ ।’
भिडियोमा सुनौं तीन गजल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here