सामूहिक तस्वीर खिचाउँदै गुरुङ परिवार ।

धरानः तपाईहरूको परिवार कस्तो अवस्थामा हुनुहुन्छ, विचार गर्नुभएको छ ? भनौं सबै परिवारका सदस्य एउटै काम त गरेका छैनन् ? सुनिन्छ र भनिन्छ पनि सन्तानमा अर्थात् परिवारमा अघिल्लो पुस्ताले जुन पेशा अपनाउँछन्, अन्य सदस्यले पनि सोही पेशा अपनाउने सम्भावना कमै हुन्छ । अध्ययनले पनि पुष्टि गरिसकेको कुरा हो–अघिल्लो सन्तानले अपनाएको पेशा, व्यवसायमा हत्तपत्त पछिल्लो पुस्ता आउँदैनन् । उसो त शिक्षक बनिसकेको मानिसको सन्तान शिक्षक, डाक्टरका सन्तान डाक्टर बन्ने चलन भने नौलो त होइन ।
परिवारका सदस्य एउटै पेशामा हुँदा फाइदा पनि हुन्छ, बेफाइदा पनि । धरानमै एकै परिवार अधिकांश स्वास्थ्यकर्मी हुँदा बेफाइदा भन्दा पनि फाइदा बढी भएको छ । धरान–३ निवासी पेशाले स्वास्थ्यकर्मी गोपाल गुरुङका परिवार नै कोही डाक्टर छन्, कोही नर्स, कोही स्वास्थ्यकर्मी । डिपोट स्कुल पढेका गोपालले आफैंले भने उनीहरूलाई यस्तो बनाउँला भन्ने सोचेका पनि थिएनन् रे तर भइदियो त्यस्तै । ‘मेरो भित्री इच्छा छोराछोरी शिक्षित होउ् भन्ने थियो, डाक्टर, नर्स नै बनुन् भन्ने होइन तर भइदियो त्यस्तै ।’
यसअघि बुबा स्वास्थ्यकर्मी, त्यसपछि एक छोरा डाक्टर र एक बुहारी, छोरी नर्सिङ र बुहार पनि नर्सिङ नै । यस्तो भएपछि रमाइलो हुने नै भयो । उनीहरूको पारिवारिक वातावरण पनि अहिले रमाइलो नै छ । उनका जेठा छोरा डाक्टर छन् । डा. कुमार गुरुङ चीनमा एमबिबिएस मास्टर इन सर्जरी गरेर फर्किएका छन् । डा. कुमारले बीपी प्रतिष्ठानमा दुई वर्षसम्म काम पनि गरिसकेका छन् ।
यस्तै, अर्का छोरा काजी गुरुङ र पूर्ण गुरुङले बिएस्सी एमएलटी गरिसकेका छन् । यस्तै, छोरी रोमा गुरुङले विएस्सी नर्सिङ सकेर अहिले कार्यरत् नै छिन् । यस्तै, बुहारी निलिमा लिम्बू (गुरुङ) ले पनि विएस्सी नर्सिङ पढिसकेर काम नै गर्दै आएकी छिन् ।
‘म सरकारी सेवामा सेवारत् रहेर काम गरिसकेको मान्छे, सबै छोराछोरीले यसप्रति नै चासो देखाए, मैले पनि हुन्छ भनें तर पार पनि लगाए ।’ बाबु गोपालले भने, ‘अहिले सबैजना काममै छन् ।’ परिवारका सदस्य सबैजना एउटै पेशामा हुँदा आफूहरूलाई बेफाइदा भन्दा पनि फाइदा हुने गरेको उनको कथन छ । ‘अहिले सबै एकै ठाउँमै काम गर्छौं, इटहरीमा सामुदायिक हस्पिटल सहकारी लिमिटेड खोलेर काम गरिरहेका छौं ।’ उनले भने ।
परिवारमा फरक फरक किसिमले पेशा अङ्गाल्दा एकले अर्कालाई बुझ्ने समस्या सबैमा हुनसक्छ भन्छन् उनी । ‘फरक फरक पेशा अङ्गाल्दा केही समस्या हुन सक्छ, तर पेशा नै एउटै भएपछि हामीमा के समस्या, के मनमुटाव ?’ उनले खुलेर भने, ‘धेरैले भन्छन्, कोही डाक्टर, कोही नर्स, पारिवारिक माहौल हेर्दा र अरूले यसो भनिदिँदा पनि हामीलाई आनन्द मिलेको छ ।’
धरान–१८ स्थित कार्मेल हाइस्कुल पढेका डाक्टर कुमारले पढ्नुअघि १५ साथी साथी मिलेर एकसाथ केही गर्ने भन्दै जुर्मुराएको बताउँछन् । उनी चाहनाले परिवार नै कोही डाक्टर, नर्स हुन पाएकोमा गर्व गर्छन् । ‘तर १५ जनामध्ये लाहुरे भिड्ने भन्दै लागे’, उनले खुलाए, ‘म लाहुरे नभिड्ने पढ्ने भन्दै एमबिबिएस पढ्न चीन पुगें, चीनमा एबबिएबिएस सकेर फर्किएको छु ।’ तर उनको १४ जना साथी अहिले लाहुरे छन् । ‘सबैजना साथीहरू हङकङ, सिङ्गापुर पुगिसकेका छन्, म भनें देशमै डाक्टर बनेर केही गरौं भनेर लागिपरें ।’ उनले भने ।
फुर्सदमा परिवारका सदस्य सबै एकै ठाउँमा भेला हुने र केही सामाजिक काम वा स्वास्थ्यसेवाकै विषयमा कुराकानी र छलफल हुने गरेको छ । ‘काम गर्दाको अवधिभरी कस्ता कस्ता बिरामी भेटिए, नयाँ लक्षण के देखियो, उपचार कस्तो हुँदैछ, खास उपचार विधि के हो ? आदिबारे छलफल चलिरहन्छ ।’ अहिले यस्तो पेशा सम्मानित र सेवामुखी भएको बताउँदै सबै परिवार नै सामुदायिक अस्पताल इटहरीमै कार्यरत् छन् । ‘आफूले दुःखका साथै पढेको हुँ, चीनमा पुगेर स्कोलरसीपमै अध्ययन सकें, डाक्टर बनियो, सम्मान पाइयो, सेवा पनि गरियो, मेवा पनि पाउँदै आएको छु’, डाक्टर कुमार भन्छन्, ‘अहिले सन्तुष्ट छु ।’
‘एउटै परिवारमा यस्तो कमै हुन्छ’, धरान–१६ स्थित मन्टेश्वरी किन्डर गार्टेनका निर्देशक गौरवमान श्रेष्ठ भन्छन्, ‘यो परिवार नै सम्मानित परिवार हो ।’
५ करोडको अस्पताल बन्दैछ, परिवारले त्यही सेवा गर्ने
अहिले सामुदायिक अस्पतालमै कार्यरत् उनीहरूको लक्ष्य ठूलो छ । सामुदायिक अस्पताल इटहरीका संस्थापक समेत रहेका गोपाल भन्छन्, ‘इटहरीमै स्वास्थ्यसेवा प्रदान गर्नेछौं । जनताको सेवा गर्नेछौं ।’ उनले भने । उनका अनुसार हाल इटहरीमा रहेको गोर्खा बेकरी छेउमा अस्पतालका लागि भवन बन्दैछ । हालसम्म भवनका लागि ५ करोड रूपैयाँ बढी खर्च भइसकेको उनी बताउँछन् ।
अहिले परिवारले सामाजिक कार्यअन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण पनि गर्दै आएको छ । कतिपय आफ्नो प्रचारका लागि सामाजिक काम गर्नेप्रति उनको गुनासो छ । ‘हामी सेवा गर्ने प्रतिफलको आशा नगर्ने हौं, लिऔंला भन्ने होइन, दिऔं भनेर लागिपरेका छौं, निःशुल्क स्वास्थ्य जाँच साथै अनाथ आश्रमलाई खाना र जाँच पनि गर्दै आएका छौं ।’ उनले थपे । अस्पतालका लागि ५० जनाले लगानी पनि गरिसकेका छन् । ‘पहिला लगानीकर्ता २५ जना थिए, अहिले ५० जना पुगेका छन् ।’ उनी भन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here