धरानः लैङ्गीक अल्पसंख्यक तेस्रो लिङ्गीले पनि धरानमा आयोजित उपनिर्वाचनमा मेयरका उम्मेदवारबीचको संवाद कार्यक्रममा कुरा उठाएका छन् ।
पहिलो संविधानसभाको चुनावमा तेस्रोलिङ्गीको तर्फबाट प्रतिनिधित्व गरेकी दीपिका राईले भनिन्, ‘तपाईहरू मेयर भएर गइसकेपछि हाम्रो लागि के सोच्नुभएको छ ?’
त्यसमा मेयरका प्रत्याशी प्रकाश राईले तेस्रो लिङ्गी पनि समाजमै रहने हुनाले उनीहरूको मागलाई सम्बोधन गर्ने बताए । उनले पहिलो संविधानसभाको चुनावमा धरानबाट प्रतिनिधित्व गर्दै एक हजार ९ सय ४४ मत प्राप्त गरेकी थिइन् ।
२०७२ को गणतान्त्रिक संविधानअनुसार धारा ४२ को सामाजिक न्यायको हकमा ‘यौनिक तथा अल्पसंख्यक’ लाई सबै पदमा समान प्रतिनिधित्व गराउनु पर्ने भनी उल्लेख गरेको छ । यो धारा अनुसार सबै राजनीतिक दलहरुले ‘यौनिक तथा अल्पसंख्यक’ लाई पनि स्थान दिनुपर्ने हो तर यसपटक छैन ।
‘सबैथोक गर्छौं भनेर आश्वासन सबैबाट आउँछ तर अहिलेसम्म हाम्रा लागि केही सोचिएको छैन ।’ उनले भनिन् । संविधानमा भएको व्यवस्था अनुसार हो भने हरेकजसो दलहरुले स्थानीय, संघीय र केन्द्रीय सबैमा समान प्रतिनिधित्व गराउनुपर्ने उनी बताउँछिन् ।
अहिले निलहिरा समाजले यौनिक तथा अल्पसंख्यकहरुको हक अधिकार तथा उनीहरुको स्वास्थ्यको क्षेत्रमा समेत काम गरिरहेको छ । पहिलो संविधान सभामै समानुपातिकको सभाषद् उठेकी राईले राजनीतिक दलहरुले तेस्रो तथा समलिङ्गीहरुलाई बेवास्ता गर्ने गरेको बताइन् ।
‘घोषणापत्रमा अल्पसंख्यक भनेर तोक्ने तर खै हाम्रो अधिकार ?’ उनले भनिन् । उनले भोट बैंकको रुपमा मात्रै तेस्रो तथा समलिङ्गीलाई बनाइरहेको बताइन् । ‘समावेश गर्ने तिर छैन, भोट माग्ने काम मात्रै गर्नुहुन्छ ।’ उनले भनिन् । सुनसरीमा मात्रै करिव ३५०० देखि ४००० हजारको हाराहारीमा तेस्रो तथा समलिङ्गी रहेको अनुमान छ । तस्वीरः लक्ष्मण थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here