धरानः अहिले भोजपुरकी महिलाको स्तन काटिएको घटनाले सर्वत्र चर्चा र चासोको विषय बनेको छ । नेपालमै पहिलोपटक यस्तो घटना घटेपछि प्रहरी प्रशासन, चिकित्सक समेत आश्चार्य चकित छन् ।
धेरैले ‘महिलाको दुवै स्तन’ नै काटिएको भनेर ब्यापक हल्ला फिँजाइरहेपनि त्यो सत्यता भने होइन । महिलाको दुवैतर्फका स्तनको निप्पलचाहिँ काटिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् फरेन्सी विभाग प्रमुख डा. शिवेन्द्र झाले जानकारी दिए । ‘उपचार गराइरहेकी महिलाको अवस्था हेर्दा स्तन नभई निप्पल काटिएको हो’, उनले भने ।
भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाको सेमेङमा अपरिचित समूहले बुधबार करिब ११ बजेतिर एक महिलाको निप्पल काटेर फरार भएका हुन् । हाल ती महिलाको बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा धरान ल्याइएकी उनको अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताएका छन् । आफन्तका अनुसार बुधबार खानालगायत केही नखाएकी ती महिला अहिले खाना समेत खान थालिसकेकी छिन् ।
कसरी भयो घटना ?
घटना बुधबार घटना ११ बजेतिरको हो । ती महिला कपडा धुनका लागि स्थानीय ‘खकुवा’ भन्ने खोलामा लुगा धुन र नुहाउन झरिन् । खोला आइपुग्न करिब १० मिनेट लाग्ने आफन्त बताउँछन् । उनले नुहाइधुवाइपछि कपडासहित लिएर फर्किने तरखर गर्दै थिइन् । त्यतिबेलै अपरिचितले समातेर निप्पल काटिदिएको ती महिलाले बयान दिएको प्रहरीको भनाइ छ । आफन्त प्रनिष तामाङ (नाम परिवर्तन) का अनुसार आफू नगरपालिकामा काम गरिरहेको अवस्थामा स्थानीयले करिब १ बजे फोन गरेर भने–यहाँ छिट्टै आउनुपरयो । उनी दौडिएर त्यहाँ पुगे । दौडिएर पुग्दा उनका श्रीमानले बेलिविस्तार लगाए ।
श्रीमानको भनाइ उद्धृत गर्दै उनले भने–भाउजुको त दुवै निप्पल काटिएको अवस्था रहेछ । श्रीमानका अनुसार घटना घटेको आधा घण्टापछि ‘मरें मरें’ भन्दै ती महिला घरमा पुगेकी थिइन् । पतिले के भयो भनेर सोधीखोजी गरेपछि ‘मरें मरें’ मात्रै भनेको र पछि निकै केरकारपछि ती महिलाले श्रीमानलाई सविस्तार भनेकी थिइन् । सोधीखोजीपछि स्तनको निप्पल काटिएको भनेपछि हामीले तत्कालै हस्पिटल लग्यौं, त्यहाँ उपचार हुन नसकेपछि यहाँ ल्याइएको हो । त्यसपछि गम्भीर घाइते ती महिलालाई भोजपुरस्थित दिङ्ला अस्पताल लगिएको आफन्तको भनाइ छ । तर त्यहाँ उपचार हुन नसकेको जानकारी आएपछि बुधबार नै उनीहरूले बीपी प्रतिष्ठान ल्याइपुरयाएको आफन्त बताउँछन् ।
खोला पनि फराकिलो ठाउँ नै रहेको र कसरी घटना भयो भन्नेबारेमा आफूहरू नै आश्चर्य चकित बनेका छन् । ‘खोला पनि फराकिलो नै ठाउँ छ’, आफन्त दोर्जी भन्छन्, ‘तर कसरी घटना भयो हामी आफैं आश्चार्य चकित बनेका छौं ।’
उनका अनुसार ती महिलाको दुई जना छोरा छन् । एक छोरा ७ वर्षको र अर्का छोरा ६ महिनाको । स्थानीयका अनुसार ती महिलाका श्रीमान करिब ५२ वर्षका छन् भने ती महिला ३३ वर्षकी । डेढ वर्षअघि माइतीमा बस्दै आएकी महिला घटना हुनु केहीदिन अघि मात्रै घर आइपुगेकी थिइन् ।
ती महिलाले अनुसार लुगाइ धुइसकेपछि कपडा धोक्रोमा लगाइसकेर फर्किने क्रममा समातेर अलि मास्तिर लगेर निप्पल काटिएको बताएकी छिन् । ‘पछाडिबाट आएर समातेर स्तनको निप्पलको भाग काटेर फरार भएको भन्ने बयान आएको छ’, धरानस्थित इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भने, ‘तर पनि सुक्ष्म अध्ययन भइरहेको छ ।’
अनुसन्धानमा केही जटिलता
‘महिलाको निप्पल काटिएको नै हो तर महिलाले सही नबताइदिँदा घटनाको अनुसन्धानमा जटिलता भइरहेको छ’, प्रहरी अधिकृत भन्छन्, ‘महिला प्रहरीदेखि अन्य आफन्त महिलासमेतलाई सोध्ने काम भइरहेको छ, महिलाले आफन्त आइसकेपछि सबै कुरा भन्छु भनेकी छिन्, आफन्त बोलाइसकिएको छ ।’
ती महिलाका अनुसार अर्धचेत अवस्थामा आफूलाई खोलाको दहमा फालेर ती अपरिचित समूह भागे । उनले आफूलाई जबर्जस्ती गर्न थालेपछि आफू अर्धचेत अवस्थामा पुगेको र घटनाबारे केही थाहा नभएको साथै केही समयपछि होसमा आएको बताएकी छिन् । प्रहरीका अनुसार ती महिलाले सत्य कुरा नभनेपछि घटनासम्म पुग्न कठिन भइरहेको छ ।
महिलामाथि आक्रमण गर्नेको हालसम्म पहिचान खुृलेको छैन । आफन्तले अपराधीलाई चाँडै पक्राउ गरेर कडाभन्दा कडा कारवाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले आशङ्का गरिएका केहीलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।
प्रतिष्ठानका फरेन्सी विभाग प्रमुख डा. शिवेन्द्रका अनुसार दुवै स्तनको निप्पल काटिएको महिलाको अवस्था हेर्दा दायाँ कम र वायाँतर्फको बढी काटिएको छ । उनका अनुसार उनको निप्पल काट्न ब्लेड नभई अन्य सामग्री नै प्रयोग भएको देखिन्छ । ‘च्वाट्टै काटिएको जस्तो छैन’, उनले भने, ‘काटिएको ठाउँ हेर्दा काटिएको जस्तोचाहिँ छ, यसैले काटिएको हो भन्ने त्यस्तो केही छैन, विस्तारै थिलथिलो पारेर काटिएको जस्तो छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here