दिलकुमार लिम्बू
ताप्लेजुङः ताप्लेजुङ जिल्लाको विभिन्न क्षेत्रमा बस्ने युवाहरू कोरिया गई लाखौं रकम कमाउने सपना सपनामै सीमित भएको छ । कोरिया जाने सपना बोकेका युवाहरु मरिहत्ते गर्ने गर्छन् नै तर तिनै युवा लाखौं रकम दलालबाट ठगिँदा टाउकोमा हात राखेर बसेका छन् ।
तर कोरियाको सपना नेपालका दलालबाट नै समाप्त भएको पीडित युवाहरुले जानकारी दिएका छन् । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका बस्ने हाल मेची नगरपालिका १३ धाइजन बस्ने अन्दाजी वर्ष ४० को गोपाल लिम्बूले कोरिया पठाइदिने भन्दै लाखौं रुपैयाँ रकम असुल गरी फरार भएको पीडित दिलमाया लिम्बूले फोनमार्फत् जानकारी दिइन्।
लिम्बू र श्रीमती अमृता लिम्बू समेत संलग्नता रहेको अर्का पीडित सुमन लिम्बूले बताए । दलाल लिम्बू र श्रीमतीले तत्काल सयकडा पाँचका दरले पैसा खोजी राहदानी बनाउन लगाइ जम्मा १०–१२ जना गरी १२ लाख भन्दा बढी रकम बुझिलिएको पीडितले बताए ।
लिम्बूले आफ्नो मान्छे इपिएस कार्यलयमा काम गर्ने साथी भएकाले म तपाईहरुलाई सेटिङ मार्फत सिधै कोरिया पठाइदिन सक्छु भनी रकम लिएको पीडित लिम्बूले बताइन् ।
‘तिमीहरूले परीक्षामा हाजिर मात्र गरेपछि पुग्छ हामी सेटिङ गरी पेपर साटिदिने आश्वासन दिँदै रकम लिए तर इपिएसको नतिजा आयो तर हाम्रो नाम आएन । पछि बुझदा सोही व्यक्तिको कुनै पनि सम्बन्ध नरहेको प्रष्ट भयो ।’ पीडित युवतीले भनिन् ।
सो कुरा थाहा पाएपछि बारबार रकम फिर्ता दिनुभन्दा आवेगमा आई गालीगलौज समेत गरेको हुनाले हाल ती व्यक्तिका विरुद्ध कारवाही माग गर्दै निवेदन समेत दिइसकेको उनले बताइन् । ‘नतिजा हाम्रो नाम नपरेपछि हामीले निज व्यक्तिलाई भेटी साथै फोन सम्पर्क गरी हाम्रो नाम नआएकोले हाम्रो पैसा फिर्ता मागेपनि भोलि पर्सी भन्दै आलटाल गरेको पीडित सुमन लिम्बूले बताए । पीडितले नम्बर दिएपछि गोपालसँग सम्पर्क गर्दा फोन उठाएनन् ।