जयकुमार राई
संघीय सांसद, सुनसरी क्षेत्र नं. १
धरानबासीले जहिले पनि नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारले जिताउँदै आउनु भएको छ । पार्टीले सम्मान स्वरुप धरानको विकासमा ठूलो योगदान दिएको छ । नेकपाले अघि सारेका योजनाहरु सम्पन्न गर्न निम्ति पनि नेकपाका सूर्य ध्वजावाहक नेकपाका उम्मेदवार प्रकाश राईलाई जिताउन आग्रह गर्दछु । सडक सञ्जाल कति थियो ०४८ साल अघि ? सरकारी कार्यालयहरु थिए ? आज फेहरिस्त गर्ने हो भने लामो हुन सक्छ । हाम्रै नेतृत्वमा धरान उपमहानगरपालिकामा विजय हाँसिल गरिसकेपछि धरानको पुरानो बजारको सपिङ कम्प्लेक्स, कृषि उपज बजार, घण्टाघर, सप्तरंगी पार्क, सभागृह, सडक संरचना, रंगशाला लगायतका योजनाहरु बनेका छन् ।
अहिले पनि हाम्रो तीन तहको सरकार छ । संघिय, प्रदेश तथा स्थानीय तह नेकपाकै नेतृत्वमा छ । धरानमा बाँकी काम सम्पन्न गर्न, धरानलाई समृद्धिको यात्रामा पु¥याउन, धराने जनताको इच्छा र चाहानालाई पूरा गर्न नेकपाका सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन धरानबासीसँग अनुरोध गर्दछु । धरान उपमहानगरपालिकाको विषयमा अहिले जनतासँग केही गुनासो छन्, ति गुनासा समेत सम्बोधन गर्नसक्ने नेतृत्व प्रकाश राईले गर्न सक्नुहुन्छ त्यसका लागी म विश्वास दिलाउन चाहान्छु ।
नेकपाको नेतृत्व सधै उत्कृष्ट छ
नेकपालाई अहिले विभिन्न आरोप लगाइरहेका छन् विपक्षिहरुले । नेकपाले लामो समयसम्म नेतृत्व गरेर पनि धरानलाई केही गर्न सकेन भन्ने आरोप विपक्षि साथीहरुले लगाइरहनु भएको छ । तर त्यो मिथ्या आरोप हो । नेपाल कम्युनिष्ट पार्टीबाटै विजयी भएका साथीहरुले धरानलाई यो अवस्थासम्म ल्याइपु¥याउनु भएको छ । नेकपाको भिजनले धरान यो अवस्थासम्म आएको छ ।
धरान उपमहानगरपालिका नेपालकै नमुना नगर पनि हो । जनसहभागीतामा भएको विकासको मोडललाई देशभरीका नगरले पिछा गरिरहेको अवस्था छ । देशभरीका नगरका नेतृत्व धरानमा कसरी विकास भयो भनेर अध्ययन गर्न, सिक्नकालागि धरान आउने गर्नुभएको छ । पछिल्लो समय हेर्ने हो भने उनीहरुले नेतृत्व गरेको सुनसरीको सदरमुकाम इनरुवा, मोरङको विराटनगरको हातल के छ ? त्यो त छर्लङ्ग छ । त्यस्तै नेकपाले नेतृत्व गरेको धरान, इटहरी, दमक, धनकुटा जस्ता नगरको विकास र सुशासन हेरौ न । अहिले निर्वाचनको बेलामा विपक्षिले लगाएको आरोप निराधार छ । हाम्रो नेतृत्वमा भएको काम धेरैजसो अहिले पाइपलाइनमा छन् । खानेपानी वितरण सुरु भएको छ । बसपार्क डिपिआर बनेर ठेक्का लाग्ने प्रकृयामा छ । २ वर्षमा धेरै सडकहरु पक्की गरिएको छ । यी सबैले गर्दा नेकपाले मात्रै धरानको नेतृत्व गर्न सक्छ भन्ने प्रमाणित हुन्छ ।
धरान चारैतर्फबाट जोडिएपछि गुल्जार हुन्छ
धरान एक नं. प्रदेशकै प्रमुख व्यापारीक सहर थियो । पछिल्लो समय धरानको व्यापारमा मन्दि आयो । धरान सेउती र सर्दु खोलाको बिचका मानिसले मात्रै किनेर खाने एउटा थलोको रुपमा विकसीत हुदै गइरहेको सन्दर्भमा पार्टी र मैले यसलाई विस्तार गर्ने योजना बनायौ । फलस्वरुप धरानलाई आसपासका नगर, गाउँ तथा जिल्लालाई धरानसँग जोड्ने काम सुरु भयो । धरानलाई सडक सञ्जालले जोड्नलाई सर्दुखोला, पटनाली खोला, ठकुरी खोलामा सेउती खोला, सेहरा खोलामा पुल लगाउने काम सम्पन्न भयो । केही अझै निर्माणकै चरणमा छन् । पहाडबाट धरान आउने एकमात्र कोशी राजमार्ग र तराईबाट धरान छिर्ने पनि त्यही कोशी राजमार्ग मात्रै भयो । तर अहिले १२ भन्दा बढी नाका सुचारु भएका छन् र ती नाकाहरु कच्चि सडकले जोडिए । अब तिनलाई पक्कि सडकले जोड्न सुरु गरेका छौ ।
पछिल्लो समय धरानबाट सिधै रामधुनी जोडिएको छ । बराहक्षेत्र पक्की सडकले जोडियो । मोरङको केराबारी, मधुमल्लालाई पनि पक्कि सडकले जोड्ने काम भइरहेको छ । अब धरान ५ वर्ष भित्रमा पुरानै साखमा फर्किनेछ र १० वर्ष भित्रमा एक नं. प्रदेशकै प्रमुख सहर बन्नेमा दुई मत छैन । धरान फेरी गुल्जार हुनेछ । यो सबै योजना नेपाल कम्युनिष्ट पार्टीको हो । सडक सञ्जालले जोडिएसँगै अहिले आसपासका गाँउ केराबारी, सतिसाले, ढाडे, भरौल, चतराबाट दैनिक उपभोग्य सामाग्री, दुध, फलफुल, सागसब्जी सहज आउन थालेको छ । त्यस्तै धरानमा कलेज पढ्न आउनेको संख्या बढ्दो छ । धरानको व्यापारमा व्यापक सुधार भएको छ । सहकारी र स्कुल कलेजको संख्या दिनदिनै बढ्दो छ ।
तीन तहका सरकारको समन्वय राम्रो छ
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी तीनै तहको सरकारको समन्वयमा धरान उपमहानगरपालिका भित्र थुप्रै योजना सञ्चालन भइरहेको छ । धरान खानेपानी आयोजना सम्पन्न भइ वितरणको व्यवस्थापन मात्रै बाँकी छ । बसपार्क पनि तीनै तहको सरकारको समन्वयमा अघि बढेको योजना हो । सर्दु, सेउती करिडोर र सुकुम्बासी समस्या समाधानकालागि तीनै तहका सरकारबीच समन्वय भइरहेको छ । पुरानो बजारको सडक, जल्पा रोडको सडक, जनपथको सडक पनि तीनै तहको सरकारको सहभागीतामा बनीरहेको छ । तलदेखि माथीसम्म नेकपाको सरकार भएको कारण समन्वयमा कुनै समस्या छैन । दुर्भाग्यवस हामीले २०७४ सालमा निर्वाचित गरेका मेयर तारा सुब्बालाई गुमायौ । तर पनि हाम्रो यात्रामा कतै ब्रेक लागेको छैन । हामी लक्ष्यमा पुग्नेछौ । धरानका जनताले सधै हामीलाई विश्वास गर्नुभएको छ । हामीले पनि धराने जनतामाथी कहिल्यै औला उठाउने मौका दिएका छैनौ र दिदैनौ । त्यसैले सबैजना यसपटक पनि प्रकाश राईलाई जिताउनतिर लागौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here