धरानः इलामको चुलाचुली गाउँपालिका–१ स्थित ‘फल्गुनन्द लाफयङ बहुभाषिक पाठशाला’ को चौथो वार्षिकोत्सव तथा किरात धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ७६ औं जन्मोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश नं. १ का उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपसभामुखबाट माङ्गेना हिमको शिलान्यास गरिएको थियो । विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको माङ्गेना चोत्लुङ कार्यक्रम चुलाचुली–१ स्थित बहुभाषिक पाठशालाको प्राङ्गणमा सम्पन्न भएको हो । कार्यक्रम संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
कार्यक्रममा बोल्दै उपसभामुख पोख्रेलले फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालालाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गरिनुपर्ने बताइन् । उनले महागुरु फल्गुनन्द सम्पूर्ण नेपालीका मार्गदर्शक भएको बताउँदै विभिन्न जातजातिहरुको संस्कार संस्कृति झल्काउने सङ्ग्राहलय बनाउन उनले सुझाइन् ।
‘तपाईहरू योजना लिएर आउनुहोस्, सहयोगका लागि प्रदेश सरकारसँग म कुरा राख्छु’, उनले भनिन् । कार्यक्रममा पाठशाला परिसरमा माङ्गेना हिम (घर) को उपसभामुख पोख्रेलले शिलान्यास गरिन् । पाठशालाका अध्यक्ष तुम्बापोले माङ्गेना हिम (घर) को निर्माण सम्पन्न गर्नका लागि स्थानीय र प्रदेश सरकारका साथै विभिन्न महानुभावहरूलाई सहयोगका लागि आग्रह गरेका थिए । चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीप राईले समाज सुधारमा फल्गुनन्दको योगदानको चर्चा गर्दै पाठशालाको भौतिक पूर्वाधारको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा माङ्गेना हिम र पाठशालाको लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग प्रदान गरेका थिए । कार्यक्रममा बमबहादुर चेम्जोङ एक लाख, सुकमाया तुम्बापो ५० हजार, पूर्ण चेम्जोङ १० हजार, रतन रोका १० हजार, धरानका रेडियोकर्मी तिर्थ कार्की १० हजार, स्वर्ण सम्वाहाम्फे १० हजार, दिलकुमार आङ्देम्बे १० हजार र नाम्लिङहाङ चेम्जोङले १० हजार रूपैयाँ सहयोग गरेका थिए । कार्यक्रक्रममा राष्ट्रिय र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कार्यक्रममा कवि तथा गजलकार सुन्दर कुरुपलाई प्रमुख अतिथि पोख्रेलले खदा, सम्मानपत्र र नगदसहित सम्मान गरेकी थिइन् । त्यस्तै, एसइई परीक्षामा चुलाचुली गाउँपालिकाबाट उत्कृष्ट अङ्क ल्याउने एक एक जना छात्र र छात्रालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोख्रेल लगायतले गुरु लाफयङ देवबहादुर तुम्बापोलाई जन्म दिनको शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here