सत्यलोक यात्री
झापाको मुटु नगरपालिका बिर्तामोड नगरपालिका क्षेत्रमा चार कक्षाको किताबका पाठ लेख्नका लागि पर्याप्त नेपाली भाषा र व्याकरण जान्ने शिक्षक (लेखक) हरुको खरेडी परेकै हो त ?
यो पंक्तिकारको एक छोरा बिर्तामोडस्थित एक निजी विद्यालयमा कक्षा ४ मा पढ्दैछन् । बिर्तामोड नगरपालिकाले आचरण शिक्षा सम्बन्धी पुस्तक प्रकाशन गर्दैछ भन्ने सुन्दा खुशीले मन प्रफुल्ल भएको थियो । हाम्रा नानीहरु असल आचरणयुक्त हुने भए भनेर । तर, निःशुल्क रुपमा प्राप्त यस पुस्तकमा बग्रेल्ती त्रुटी नै त्रुटी भेटिएपछि पंक्तिकार स्तब्ध भयो ।
पुस्तकको पाठभित्रका त्रुटीहरु: ‘पाठ १ मै ठूलो त्रुटी छ । शहरमा बसेका दाजुले गाउँमा रहेकी बहिनीलाई चिठी लेखेको पाठको पहिलो प्याराग्राफमा, ‘म यहाँ सञ्चै छु । त्यहाँ बुवा, आमा र तिमी पनि सञ्चै छौ भन्ने आशा गर्दछु । मेरी प्यारी बहिनी पढाइका लागि काठमाडौमा भए पनि म सधैँ बुबा, आमा, तिमी र आफ्नो गाउँलाई सम्झिरहन्छु ।’ लेखिएको छ । प्याराग्राफ पढ्दा बहिनी पो शहरमा छिन् भन्ने बुझिन्छ । ‘मेरी प्यारी बहिनी म पढाईका लागि काठमाडौमा भए पनि … ’ हुनुपर्ने थियो ।
फेरि यो एकै प्याराग्राफमा एक ठाउँमा बुवा लेखिएको छ भने अर्को ठाउँमा बुबा लेखिएको छ । यो असाध्यै असावधानी भयो नि होइन र ? अब हेदै जाऔँ पछिल्ला पाठहरुमा के कस्ता त्रुटी, गल्तीहरु छन् ?
पाठ २ को शीर्षकको एक शब्द ‘गरौं’लाई चन्द्रविन्दु दिएर ‘गरौँ’ लेखिनु पर्नेथियो । त्यस्तै त्यस्तै फूर्वाको उकारलाई ठीक ठाउँमा लेखी ‘फुर्वा’ हुनुपर्ने थियो । पाठ ३ मा शीर्षक ‘अन्धविश्वास’ छ । बीचमा स्पेश किन ? पाठ ४ मा कतिपय शब्दमा चन्द्रविन्दु छुटेको छ । पुलिसले समाउँछ लेखिएको छ । समाउँछन् लेख्नुपर्ने थियो । पाठ ५ मा राष्ट्र बैंकको जुन भवनको चित्र छ त्यो भवन धेरै पहिलेदेखि काठमाडौको थापाथलीमा देखिन छाडेको हो । शिर्षकमा वित्तीय शब्द लेखिएको छ भने प्याराग्राफमा पेट काटेको ब अर्थात बित्तीय छापिएको छ । पाठ ६ मा केही शब्दमा चन्द्रविन्दु दिइएको छैन । पाठ ७ मा विद्यार्थीको नाम मो. अन्सारी लेखिएको छ । नामको मो. लाई पुरै शब्द मोहम्मद लेखिँदा राम्रो हुने थियो ।
पाठ ८ को शब्दार्थ खण्डमा आफ्नो हुनुपर्नेमा आफ्नो भएको छ । हलन्त ठीक ठाउँमा परेको छैन । पाठ ९ मा शब्दहरुमा हलन्त ठीक ठाउँमा परेका छैनन् । पाठ १० को दोस्रो प्याराग्राफको पहिलो लाईनको गरिएको शब्दको साटो गरेको हुनुपर्ने थियो । पाठ ११ मा ‘सरसामान छरेर फोहोर मैला हुन्न म’ छापिएको छ । हुन्नको ठाउँमा ‘गर्दिन’ हुनुपर्ने थियो । पाठ १२ मा सिमी हुनुपर्नेमा सिँवी र कटहर हुनुपर्नेमा कटर छापिएको छ । पाठ १३ मा कतै ट्युबेल शब्द छापिएको छ त कतै ट्युववेल । पाठ १४ मा कतै व्यवस्थापन छापिएको छ कतै व्यबस्थापन ।
यसै पाठमा Burying हुनुपर्नेमा Bruying छापिएको छ । त्यस्तै } Compost या Composting  हुनुपर्नेमा Composing छापिएको छ । पाठ १५ मा ‘प्रतिरक्षात्मक पोषण’ लाई शीर्षक मानिएको छ तर बोल्ड गरिएको छैन । पृष्ठ ४२ मा एकैठाउँमा आवश्यक आवश्यक छापिएको छ । पाठ १६ एकै अनुच्छेदमा मानिसको नाम शिवु र शिबु छापिएको छ । स्वास्थ्य चौकीमा डाक्टर तहका जनशक्ति भएको अर्थमा पाठ लेखिएको छ । स्वास्थ्य चौकीमा डाक्टर हुँदैनन् भन्ने सामान्य कुरा पनि ख्याल गरिएको छैन । स्वास्थ्यकर्मी हुनुपर्ने थियो ।
पाठ १७ मा पुर्जा शब्दको साटो प्रेस्क्रिप्सन या Prescription नै लेखिनु ठीक हुन्थ्यो । पाठ १८ मा शारीरिक व्यायामलाई अंग्रेजीमा Physical Exercise भनिनु पर्नेमा Physical Training छापिएको छ । पाठ १९ मा धर्म, संस्कृति र स्थानीय लोक बाजा हाम्र्रा संस्कारहरु शीर्षक दिइएको छ तर पाठभरी मानिस जन्मेदेखि मृत्यसम्मको संस्कारबारे लेखिएको छ । अक्षराम्भ हुनुपर्नेमा अक्षरारम्भ भएको छ । खाल्डो हुनुपर्नेमा खाल्टो छापिएको छ ।
पाठ २० मा पच्चीस हुनुपर्नेमा पच्चिस छापिएको छ । डोटेली हुनुपर्नेमा डोटेल भएको छ । पाठ २१ मा संस्कृति हुनुपर्नेमा सकृति शब्द छापिएको छ । बालन हुनु पर्र्नेमा बालुन शब्द छापिएको छ । शब्द र अर्थ खण्डमा भेषभुषा हुनु पर्नेमा वेशभुषा शब्द छापिएको छ । अभ्यास खण्डमा पनि सोही गल्ति दोहोरिएको छ । एउटै शब्द दुई स्वरुपमा छापिएको छ जस्तै सङ्गीत र सङ्गीत । स्थानीय पाठ्यक्रम अनुसार प्रकाशित सो पुस्तकमा कमसेकम झापा जिल्ला भित्रका जातजातिका बाजाहरुबारे पनि पाठ दिइएको भए निकै सान्दर्भिक हुनेथियो ।
पाठ २२ दमकको पनि नाम छापिएको छ । दमक र आसपासमा हुने सडक दुर्घटनाबारे बिर्तामोडले उल्लेख गर्न मिल्ला तर दमकले चित्त दुखाउला । दमक सहित बढी दुर्घटना हुने थप ठाउँको नाम पनि दिइएको भए वेश हुन्थ्यो । पाठ २३ मा ट्राफिक संकेतको परिभाषा र आवश्यकताबारे पनि लेखिएको भए वेश हुनेथियो । पाठ २४ मा एक ठाउँमा मोवाईल र अर्को ठाउँमा मोबाईल लेखिएको छ । सञ्चार प्रविधिका माध्यममा टेलिभिजन उल्लेख गरिएको छैन । पाठ २५ मा ढुङ्गा हुनुपर्नेमा ढुङ्गी छापिएको छ । छौ हुनुपर्नेमा छौँ भएको छ । यसै पाठको अभ्यास खण्डमा ठीक वाक्यमा () र बेठीक वाक्यमा ( ) चिह्न लगाऊ छापिएको छ । बेठीक वाक्यमा (x) हुनुपर्ने थियो । पाठ २६ मा पाठको शीर्षकमै त्रुटी छ । न्यूनीकरण हुनुपर्नेमा ‘न् यूनीकरण’ भएको छ । बिर्तामोड हुनुपर्नेमा विर्तामोड भएको छ । त्यस्तै दुई शब्दबीच स्पेश दिइएको छैन । बीच हुनुपर्नेमा बिच लेखिएको छ । कहीँ बन लेखिएको छ कहीँ वन लेखिएको छ ।
पाठ २७ मा विद्यालयमा किन राम्रो वातावरण हुनुपर्ने र राम्रो वातावरणले विद्यार्थीमा कस्तो राम्रो परिणाम दिन्छ भन्ने व्याख्या छैन । यस्ता कमजोरी अरु पाठमा पनि छन् । परिणाम बताइँदा विद्यार्थीमा सकारात्मक असर पर्छ । यसै पाठको दोस्रो प्याराग्राफमा मीना कक्षा ४ मा पढ्छिन् । उनी जिज्ञासु छन् लेखिएको छ । उनी जिज्ञासु छिन् हुनुपर्ने हो ।
मीना र सिमा, एउटा नाम किन दीर्घ र अर्को किन ह्रस्य ? सिमसार, झोलुङ्गे पुल भनेको के हो ? पाठमा परिभाषा नै नदिइ तिनको अर्थ सोधिएको छ ? जामुनखाडीको विज्ञापन भयो कि ? बरु कन्काईमाई समग्र धार्मिक क्षेत्रको बारेमा बताउँदै अन्य आयाम जोड्दै सिकाउँदा बढी सान्दर्भिक हुनेथियो । यसै पाठमा त्यहीँ हुनुपर्नेमा चन्द्रविन्दु बेगरको त्यही शब्द छापिएको छ ।
पृष्ठ ७४ मा झ्याल हुनुपर्नेमा झयाल शब्द छापिएको छ । पृष्ठ ७५ मा झारलाई निर्जीव वस्तु भनिएको छ । बीच शब्दलाई बिच लेखिएको छ । फुलबारी नभएर फूलबारी  हुुनुपर्ने हो । पृष्ठ ७६ मा तिमी आफू पढ्ने कक्षा कोठालाई राम्रो वातावरणको गर्न के के गर्दछौ ? लेखिएको छ । वातावरणयुक्त बनाउन लेखिएको भए वेश हुन्थ्यो ।
यसै पृष्ठमा समग्री लेखिएको छ, सामग्री हुनु पर्ने हो । अरु त अरु, प्रकाशकको भनाईमा नै त्रुटी छन् । धरातीलय शब्द नयाँ हो कि के हो ?’ बिर्तामोड नगरपालिकाका उच्च जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई पुस्तक सिर्जनाको प्रेरणा भनिएको छ ।
गल्ति नै गल्तिले भरिएको किताब लेख्न कस्तो प्रेरणा दिएका हुन् ? र, दर्जनले किताब लेखन तथा सम्पादनको जिम्मेवारी लिएका जनाइएको छ । ‘धेरै बिरालाले मुसा मार्दैनन्’ नेपाली उखान यहाँ चरितार्थ भएको छ । तर, सँगै उल्लेख गरिएको छ, ‘पाठ्यक्रमका उद्देश्य साध्य र पाठ्यपुस्तक साधन हुने हुँदा साध्य प्राप्तिका लागि साधन परिमार्जन गर्न सकिने अवस्था सधैँ रहिरहन्छ ।
यो पहिलो प्रयास भएको हुँदा यसमा प्रशस्त कमी कमजोरीहरु रहेका हुनसक्छन् । प्रबुद्ध शिक्षक मित्रहरु, विद्वतवर्ग तथा सम्पूर्ण सरोकारवालाहरुसँग सकारात्मक सुझावको अपेक्षा गरिन्छ । भेटिएका कमी कमजोरी हटाउने परिमार्जनको प्रक्रियालाई आगामी संस्करणहरुमा निरन्तरता दिने बचनबद्धतासहित यो पाठ्यपुस्तक बिर्तामोड नगरपालिकाको तर्पmबाट सम्पूर्ण विद्यार्थी वर्गमा समर्पण गरिन्छ ।’
केही सीमित कमिकमजोरीलाई मानवीय त्रुटी मान्न सकिन्छ तर किताबै भरी पाठै पिच्छे बग्रेल्ती त्रुटी त हुनु नपर्ने हो । यो पुस्तक विद्यार्थीका लागि लेखिएको हो । स्मारिका या प्रतिवेदन त होइन नि । पहिलो प्रकाशन, संस्करण भएकाले नीतिगत, संरचनागत, पाठ्यक्रम आदि कमजोरी हुन सक्छ तर वाक्य गठन, हिज्जे र पु्रफ जस्ता त्रुटी जताततै हुनु लाजमर्दो कुरा भएन र ? पछिल्ला संस्करणहरुमा सुधार्दै लान अबश्य सकिएला तर यही पहिलो संस्करणले विद्यार्थी, शिक्षकगण तथा अभिभावकहरुमा पर्ने भ्रमको असरको जिम्मेवारी नगरपालिकाले लिने कि नलिने ?
प्रकाशकको भनाईमा, ‘स्थानीय विषयका रुपमा आचरण सचेतना शिक्षाको पाठ्यपुस्तक तयार गरी शैक्षिक सत्र २०७६ देखि कक्षा ३ र ४ मा लागु गरी क्रमश: कक्षा ८ सम्म पु¥याउने योजना बनाए अनुरुप यो पाठ्यपुस्तक तयार पारिएको हो ।’ उल्लेख गरिएको छ । तसर्थः कक्षा ३ को पुस्तकमा पनि प्रसस्तै त्रुटीहरु होलान् ।
यस्ता त्रुटीपूर्ण पुस्तकले कस्तो ज्ञान देलान् ? माथिल्ला कक्षाका लागि प्रकाशन गरिने यस्तै प्रकृतिको पुस्तकमा पनि त्रुटीहरु हुनेहुन् कि ? प्रकाशक तथा सरोकारवाला अत्यन्त सचेत बन्न जरुरी देखिएको छ ।
त्रुटीले झापालीकै शीर निहुरिने देखिन्छ । नेपाली भाषा बिगारेको दोष लाग्छ सक्छ । बिर्तामोड झापाकै केन्द्र, मुटु हो । बिर्तामोड सदैव उत्कृष्ट र मानक हुनुपर्छ भन्ने आम अपेक्षालाई पनि आत्मसात गर्नु जरुरी छ ।यो एक सामान्य अभिभावक (पाठक) को सामान्य प्रतिक्रिया मात्र हो । विषय विद्, विज्ञहरुलाई यो पुस्तक चिरफार या शल्यक्रिया गर्न दिइयो भने अझ धेरैधेरै त्रुटीहरु फेला पार्लान् र सुधार गर्न ठूलो सहयोग पुग्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here