धरानः बराक्षेत्र–तुम्लिङटार (अरुण नदी) लगायत अन्य नदीमा पानी जहाज सञ्चालनको लागि अध्ययनको तयारी थालिने भएको छ ।
कालीगण्डकी, त्रिशुली, अरूण, सुनकोशी र नारायणी नदीमा अध्ययन गर्ने तयारीमा पानी जहाज कार्यालय रहेको छ । पानीजहाज कार्यालयका कामु रजिस्ट्रार बीपीन राजभण्डारीका अनुसार सुनकोशी र कालीगण्डकीमा चालु मङ्सिरमा नै अध्ययन शुरू गरिने भएको छ भने अरू नदीहरूमा यही आर्थिक वर्षभित्र अध्ययनको काम सकिनेछ । पानी जहाज सञ्चालनको लागि चालु आर्थिक वर्षमा सरकारले जम्मा ९ करोड रूपैया मात्र छुट्याएको छ ।
कालीगण्डकी नदीमा जहाज सञ्चालन गर्नको लागि राम्दीबाट–नारायणीसम्म, त्रिशुली नदीमा मुग्लिङ–नारायणी, अरूण नदीमा बराक्षेत्र–तुम्लिङटार, सुनकोशी नदीमा चौतारा–दोललघाट र नारायणीमा त्रिवेणी नदीसम्म जहाज सञ्चालन गर्न सकिने अनुमान पानी जहाज कार्यालयले गरेको छ ।
कार्यालयले तीब्र गतिमा काम गर्न नसकेको गुनासो गर्दै उनले थपे, ‘तथापी हामीले भित्रि रूपमा काम गरिरहेका छौ, पानीजहाजको काम नेपालको लागि विल्कुलै नयाँ भएकोले काममा केही ढिलाइ भएको हो ।’
पानी जहाजले मान्छे बोक्ने कि मालसामान बोक्ने ? यात्रु बोक्ने हो भने कस्तो जहाज ल्याउने ? समान बोक्ने जहाज कस्तो र कत्रो हुने ? जहाज सञ्चालन मोडालिटी के हो ? यस्ता कुनैपनि प्रश्नको जवाफका लागि सरकारले कानुनी व्यवस्था गरिसकेको छैन । तरपनि कार्यालयले पानीजहाज चलाउने खोलाहरुको पहिचानको काम भने थालिसकेको छ ।
जहाज सञ्चालन गर्नको लागि १०–१२ जना व्यवसायीहरू आफू समक्ष आएको राजभण्डारीले बताए । जहाज चलाउनको लागि नयाँ व्यवसायी देखि पुराना स्थापित व्यवसायी समेतले इच्छा देखाएका छन् । सरकारले नेपालको आन्तारिक जलमार्गको विकास तथा भइरहेको जलपरिवहनका साधनलाई सुरक्षित, सहज भरपर्दो तथा व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि कानुनको व्यवस्था गरी कार्यान्वयन गर्ने नीतिगत निर्णय गरिसकेको छ । त्यसैगरी अन्तरदेशीय रुपमा सञ्चालन हुने जलपरिवहनलाई सुरक्षित र भरपर्दो रुपमा कानुनि व्यवस्था गरी कार्यान्यन गर्ने भन्ने सरकारी नीति छ ।
नेपालमा दर्ता हुने पानी जहाजलाई सुरक्षित, वातावरणमैत्री तथा व्यवस्थित बनाई अन्तराष्ट्रिय कानुन तथा प्रतिबद्धताअनुसार सञ्चालन गर्नका लागि नियम, अनुगमन, र व्यवस्था मिलाइने काम पनी बाँकी नै छ । नेपालमा सम्भाव्य जलमार्गको पहिचान गरी विकास गर्ने कार्यलाई तीव्रता दिइने भन्ने नीतिमात्र बनाएर चाहिं पानी जहाज चल्दैन । त्यसलाई आवश्यक पर्ने कानुनी स्पष्टता र दक्ष जनशक्तिको व्यवस्थापन जतिसक्दो चांडो हुनसक्यो त्यति नै छिटो पानीजहाजको सपनाले मूर्तता पाउने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here