धरानः धरानमा शान्तिपूर्णरूपमा मतदान भएको छ । धरान–१५ मा ७१ वर्षीय वृद्ध जयबहादुर राई, ७१ वर्षीया हर्कमाया राई पनि मत खसाउन आइपुगे । मत खसाउने आफ्नो अधिकार भएको बताउँदै ७१ वर्षीया हर्कमायाले बाटोघाटो, पुलपुलेसो, गरिब, दुःखीलाई पनि हेरुन भनेर मत खसाल्न आएको बताइन् । ‘गर्लान् भन्नेचाहिँ केही आश भने अझै छ’, उनले भनिन्, ‘हेरौं गर्छन् कि गर्दैनन् ?’ उता जयबहादुरले जसलाई मत दिएपनि आफ्नै तालले काम गर्ने गरेको र चुनावमा जितेपछि खासै काम नगर्ने गरेको गुनासो गरे ।
मतदातामा यसपटक उत्साहजनक उपस्थिति भएन । जिताएपनि उस्तै नतिजा निस्किएपछि आफूमा निराशा साथै विरक्तिएको एक मतदाताले बताइन् । ‘छिमेकीहरूले के एक्लै घरमा बसिरहन्छौं, जाऊ हिँड भोट दिन भनेपछि मात्रै यसपटक आएको हुँ ।’ धरान–१६ की सिर्जना दाहालले भनिन्, ‘कसैमाथि भरोसाचाहिँ छैन किन भोट दिनू ।’
धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी (सुवेदी) ले २०७४ को जस्तो उत्साह नआएको बताइन् । ‘मङ्सिर महिना, शनिबारको छुट्टीमा बालबालिकाहरू स्याहार्ने आदि कारणले पनि मतदाताको उत्साह नभएको हुनसक्छ’, उनले भनिन् । उनले चुनौतीपूर्ण काम गर्दै आफूले कार्यवाहक सम्हालेको बताइन् । उनले मेयर, उपमेयर मिलेर काम गर्दा सेवाप्रवाह र विकास बढी हुने बताइन् । ‘पहिला पनि मिलेर काम गरेका हौं तर स्व. मेयर तारा सुब्बा बित्नुभएपछि, मैले निकै चुनौतीपूर्ण ढङ्गले काम अघि बढाएँ र केही असहज भएकै हो ।’ उनले भनिन् ।
धरानका अधिकांश मतदान केन्द्रमा पत्रकारलाई फोटो खिच्न समेत बन्देज गरिएको छ । ‘माथिको आदेश छ’ भन्दै फोटो खिच्न नदिइएको अधिकांश फोटो पत्रकारहरूले गुनासो गरे ।
उता नेपाली काङ्ग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार तिलक राईले यातायातको असुविधाले गर्दा मतदाता आइनपुगेको र अन्य बेला यस विषयमा सम्बन्धित निकायले सोच्नुपर्ने बताए । निर्वाचन सम्पन्न भइसक्दा ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । ७० प्रतिशत बढेपछि उत्साहजनक सहभागिता भनिन्थ्यो ।
धरानमा खसेको मत ५४ हजार ९ बढी हो । ०७४ को स्थानीय तहको निर्वाचनमा ६७ दशमलव ८७ प्रतिशत मत खसेको थियो । त्यसबेला ७९ हजार २ सय ९० मतदाता संख्या थियो । सबैभन्दा बढी धरान–१४ को विजयपुरस्थित पञ्चायत माविको मतदान स्थलमा ६७ प्रतिशत मत खसेको थियो । सबैभन्दा कम धरान–८ भोटेपुलस्थित ल्यावरोटरी मावि मतदान स्थलमा ५० प्रतिशत मत खसेको थियो ।
मतदान केन्द्रबाट मतपेटिकाहरू धरान–१५ को पुस्पलालस्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेकाले मतगणनाका लागि सर्वदलीय बैठक बसेर निर्णय गर्ने तयारी भएको छ । बेलुका ८ बजे सर्वदलीय बैठकले गरेको निर्णयअनुसार मतगणना गरिने मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए । इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए ।
तस्वीरः लक्ष्मण थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here