धरानः धरानमा २८ वर्षपछि काङ्ग्रेस उदाएपछि विजय जुलुस निकालिएको छ । मेयर पदका उम्मेद्वार प्रकाश राईलाई करिब २७ सय ९५ मतले हराएपछि विजयी बनेका मेयर पदका उम्मेद्वार तिलक राई राईले जितेपछि विजय जुलुस निस्किएको हो ।
विजय जुलुस मतगणनास्थल पुष्पलाल मार्ग, सदन स्कुल, शान्तिपथ, माछाभौडी, पब्लिक हाइस्कुल, पब्लिक स्कुलबाट लक्ष्मीसडक, पुरानो बजार हुँदै नयाँ बजार, भानुचोक हुँदै मेयर तिलक राईको घरस्थित बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । लालकिल्ला तोडियोलगायतका नारा लगाउँदै नेता कार्यकर्ताको सयौं भीडको बीचमा मेयर पदमा जितेका राई हिँडेका थिए ।
दुई वर्षअघि भएको चुनावमा स्व. मेयर तारा सुब्बासँग करिब चार हजार मतान्तरले हारेका तिलकको यो विजय जुलुस साथै जीत ऐतिहासिक हो । तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन् । जीतसँगै नेपाली काङ्ग्रेसले बहुदल आएको २८ वर्षमा पहिलोपटक धरान उपमहानगरको नेतृत्व पाएको हो । धरानलाई २८ वर्षसम्म लालकिल्लाका रुपमा हेरिएको थियो ।
२०४८ सालमा एमालेबाट त्यतिबेलाका अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट चुनाव लडेका थिए । धरानमा दुई वर्षअघिको स्थानीय चुनावमा कांग्रेसले २० मध्ये ५ वडामात्र जितेको थियो । कांग्रेसले १४, ५, २, १ र १८ वडामात्र जितेको थियो । पूर्वमाओवादीले १७ नम्बर वडामा जित हात पारेको थियो भने बाँकी १४ वटा वडा सबै पूर्व एमालेले जितेको थियो । अहिलेको मेयरको मत परिणाम हेर्दा काङ्ग्रेसले १, २, ३, ८, ९, १०, ११, १२, १३, १४, १६, १८, १९ वडामा जीत हात पारेको छ ।
चारतारे झण्डा गाडेर इतिहास रचेको कांग्रेसले मतदाताको मन जितेर नै मत खोस्न सफल बनेको हो । २०४८ मा मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ, २०५६ को निर्वाचनमा कुन्ता शर्मा, २०६४ मा किरण राई, २०७४ जयकुमार राई निर्वाचित भइसकेका थिए । २०५४ मा भएको स्थानीय निर्वाचनमा मनोजकुमार मेन्याङ्बो, २०७४ तारा सुब्बा धरानको मेयर बनेका थिए ।
चुनाव हुनु एकदिन अघिसम्म पनि नेकपाले नै चुनाव जित्ने आंकलन सबैले गरेका थिए । यसअघि एमाले एक्लैले मेयरको चुनाव जितेको धरानमा माओवादीसमेत मिसिँदा मत आएन भन्ने गुनासो नेकपावृत्तमा बढ्दो छ ।
सामाजिक सञ्जालमा अहिले नेकपाकै नेता कार्यकर्ताले हार्ने कारण प्रष्ट्याउँदै आएका छन् । कतिपयले नेकपाकै जनप्रतिनिधिको प्रभावकारी काम नभएको, जिल्ला र केन्द्रीय नेतृत्व कमजोर, कार्यकर्ता परिचालनमा कमजोरी, करमा कर कर, सुकुम्बासी समस्यामा बेवास्ता, आफैभित्र गुटबन्दी पराजयको कारण मान्दै आएका छन् । कतिपयले चाहिँ नेतृत्वलाई भूमिका नदिइएको भन्दै आइरहेका छन् । एक नेता भन्छन्, ‘स्व. मेयर सुब्बा रहेको भए केही हुन्थ्यो तर उहाँ बितेपछि धरान लथालिङग बन्यो ।’ उनी थप्छन्, ‘एमाले र माओवादी केन्द्र मिलेजस्तो गरेपनि भित्री मन मिल्न सकेको थिएन ।’
कांग्रेसले सबै मतदाता रिझाउँदै बढेको कर, धरानको विकासे मुद्दा, सुकुम्बासीलाई प्राथमिकता आदि कारणले पनि मतमात्रै मागेन मन पनि जित्यो ।
जसले एक मतले जिते
उता वडा नं. ७ मा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् । कांग्रेसले परिणाम अस्वीकार गर्दै सुरूमा पुनः मतगणनाको माग गरेको थियो । तर, पुनः मतगणना भएन र निर्वाचन अधिकृतले सुवेदीलाई नै विजयीको प्रमाणपत्र दिएका छन् ।
अन्ततः को हुन् तिलक ?
तरुण दलदेखि राजनीतिमा छिरेका उनी २०५७ सालमा तरुण दलका अध्यक्ष बनेका थिए । कांग्रेसको नगर सचिव हुँदै २०७२ मा नगर सभापति बनेका थिए । यातायात व्यवसायी उनी जातीय संस्था किरायाको केन्द्रीय अध्यक्ष समेत बनेका थिए । फोटोः लक्ष्मण थापा

र अन्त्यमा यो भिडियो पनि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here