धरानः झापाको अर्जुनधारा नगरपालिका स्थायी घर भएका वर्ष २६ का विकास तुम्बापो लिम्बू हिमालयन टेलिभिजनमा प्रशारण हँुदै आइरहेको चर्चित रियालिटी सो ‘भ्वाइस अफ नेपाल सिजन–२’ मा प्रतिस्पर्धी छन् । २२ हजार प्रतिस्पर्धीलाई पछि पार्दै उनी टप ४ मा स्थान जमाउन सफल छन् ।
उनी हाल धराने राष्ट्रिय कलाकार दीप श्रेष्ठको टिमभित्र परेका छन् । बिर्तामोडमा साङ्गीतिक कार्यक्रममा गाउँदा गाउँदै चर्चित बनेका उनी आफ्नो जादुमयी स्वरले यहाँसम्म पुग्दै चमत्कार देखाएका हुन् । १२ कक्षा पढ्दापढ्दै साङ्गीतिक क्षेत्रमा होमिएका विकास अहिले दर्शकको भरपुर साथ र सहयोग पाउने आशामा छन् ।
भोटिङ शुक्रबार बेलुका कार्यक्रम शुरु भएसँगैबाट शुरु भएको छ । उनी र उनका परिवारले भोटिङ गर्न आग्रह गरेका छन् । बाबु बालकुमार तुम्बापो लिम्बूले आफूहरूले भोटका लागि सबैलाई जिताइदिनका लागि आग्रह समेत गरे । कोड ०४ टाइप गरी ३७००० नेपालको लागि र विदेशबाट भोटिङ गर्नको लागि प्रभु पे एप डाउनलोड गरेर पनि भोटिङको व्यवस्था छ ।
के भन्छन् विकास ?
परिवारमा बुबा, ठूलोबुबाहरू धेरै गीत सुन्ने गर्नुहुन्थ्यो । घरकै वातावरणले संगीतमा रस बस्यो । कक्षा ९ मा पढ्दा पहिलो पटक मञ्चबाट गीत गाएको थिएँ । त्यसपछि गाउँठाउँमा हुने कार्यक्रममा निरन्तर गाउन थालें ।
एसएलसी दिएपछि केही समय बितामोर्डमा संगीत पनि सिकें । तर, बीचमा काम गर्न फिदिम गएँ । त्यहाँ फर्निचर बनाउने ठाउँमा काम गर्थें । ‘गीत गाउने मान्छे, कहाँ आइपुगें’ भन्ने लागिरह्यो । त्यसपछि झापा फर्केर संगीत सिक्न थालें ।
केही कभर–सङ गाएको छु । मलाई एउटा प्लेटफर्म चाहिएको थियो । द भ्वाइसले सो मञ्च दिलाइदियो । मैले २०७० सालमा नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘स्वर सङ्ग्राम’मा भाग लिएको थिए ँ। त्यसमा पहिलो रनरअप भएको थिएँ । द भ्वाइसको ब्लाइन्ड अडिसनदेखि आज टप १२ सम्म आइपुगेको छु। जीत–हार त गौण कुरा हो । संगीत प्राथमिक कुरा हो ।
गाउँभरी, टोलभरी विकासकै बारेमा चर्चा छ । उनलाई जिताउन माइकिङ, पोष्टरिङलगायतका काम पनि धमाधम भइरहेका छन् । आइतबार तुम्बापो समाजका परिवार धरानबाट पुग्दा परिवारले स्वागत गरेका थिए । समाजका पदाधिकारी डम्बरकुमार तुम्बापोको नेतृत्वमा टोली प्रचारप्रसार र सहयोगका लागि त्यहाँ पुगेको हो ।
उनलाई जिताउन प्रचारप्रसार अभियान तीब्र बनाइएको र भोटिङका लागि धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, भद्रपुर, इलाम, पाँचथर, ताप्लेजुङलगायतका स्थानमा प्रचार–प्रसार तीब्र पारिएको अभियान संयोजक विजय सेन्नाङले बताए । रामलाई जिताउनका लागि उनको संयोजकत्वमा विभिन्न समिति गठन भइसकेको छ । आमा ज्ञानु तुम्बापोले छोराले भोटका लागि ऋण नगर्नुहोला भन्दा आफ्नो मन रुने गरेको बताउँदै भनिन्, ‘छोराले फोनमा ऋण नगर्नुहोला है भन्छ, हामीसँग सहयोग गर्ने केही छैन, गरिब परिवारको भएकाले सबैले भोट गरिदिएर जिताइदिनुहुन्छ भन्ने आशा गरेको छु ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here