हरेक शिक्षक वा बुबाआमाले आफ्ना विद्यार्थी वा छोराछोरीलाई रूचि र क्षमता अनुसार पूर्णस्वतन्त्रता दिनुपर्छ
हरेक मनुष्य पृथ्वीमा जन्मँदा स्वतन्त्ररूपमा जन्मन्छन् । त्यसैले स्वतन्त्रता पाउनु उसको जन्मसिद्ध अधिकार हो । सन् १७८९ को मानवअधिकार घोषणापत्रअनुसार स्वतन्त्रता भनेको त्यो शक्ति हो, जसको प्रयोगबाट व्यक्तिले अरू कसैलाई हानी नपु¥याइ निरन्तररूपमा आफ्नो काम गर्न सक्छ । स्वतन्त्रता भन्नाले बन्धनको अभाव अर्थात् बन्धनरहित अवस्था पनि हो । जहाँ मनुष्यलाई अरूको प्रभाव आफूमाथि परेको आभाष हुँदैन । त्यस्तैगरी मनुष्यको भौतिक तथा वैचारिक अस्तित्वलाई सहजरूपमा स्वीकार्ने र आत्म शासनको विकास गर्ने वातावरण पनि स्वतन्त्रता हो ।
मनुष्यले विभिन्न क्षेत्रहरूमा आफ्नो स्वतन्त्रता खोज्न सक्छन् । जस्तो कि शारीरिक स्वतन्त्रता, मानसिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता, सास्कृतिक स्वतन्त्रता, वाक स्वतन्त्रता वा अरू अन्य कुनै स्वतन्त्रता । अब यहाँ प्रश्न उठ्छ कि हामीले खोजेको प्रमुख स्वतन्त्रता चाहिँ कुन हो ? खुशी जीवनको लागि हामी सचेत र स्पष्ट हुनै पर्दछ । सामान्यतयाः मनुष्य खुशी भए आफू स्वतन्त्र भएको र दुःखी भए बन्धनमा बाँधिएको महसुस गर्दछ । यहाँ बन्धन भन्नाले राज्य वा अन्य सङ्घ संस्थाले सामाजिक हितविपरीत निर्माण गर्ने ऐन, नियम, कानुन जसले मनुष्यको मानसिकतामा जबरजस्त निम्त्याउने दुःख, कष्ट, पीडा र असन्तुष्टिको उपज बन्धन हो हो भनी बुझ्नुपर्छ ।
मानवीय स्वभावलाई अध्ययन गर्ने हो भने, जबसम्म मनुष्य स्वतन्त्र रहन्छ तबसम्म उसले कहिल्यै स्वतन्त्रताको बारेमा सोच्दैनन् । जब ऊ बन्धन अर्थात् मानसिक पीडाबाट गुज्रिन थाल्छ तब मात्र आफूलाई अस्वतन्त्र भएको महसुस गर्दै स्वतन्त्रता प्राप्तिको नाममा सङ्घर्ष गर्न थाल्छ र गर्नै पनि पर्छ । राज्य वा सङ्घ संस्थाहरूले निर्माण गर्ने ऐन, नियम, कानुनलाई कसैले अनुशासनको रुपमा ग्रहण गर्दछन् भने कसैले बन्धनको रूपमा बुझ्दछन् । त्यसैले स्वतन्त्रता व्यक्तिको सोचाइमा भर पर्ने भावनात्मक विषय पनि हो । मनुष्यको स्वार्थ सहितको आचरणले पनि व्यक्तिगत स्वतन्त्रताको तह निर्धारण गर्न सकिन्छ । तर बुझ्नुपर्ने कुरा के हो भने यस्तो प्रकारको व्यक्तिगत स्वार्थले दिने नक्कली स्वतन्त्रता उसको जीवनमा कहिल्यै टिकाऊ र खुशीमय प्रकृति हुँदैन । विशेषतः राज्यको कल्याणकारी लोकतन्त्रमा अधिकांश मनुष्यले आफूलाई स्वतन्त्र भएको, आत्मसम्मान र खुशी प्राप्त गरेको महसुस गर्दछ । यस्तो प्रकारको स्वतन्त्रताले मनुष्यलाई नैतिकता सिकाउँदै उनीहरूबीच समानता र मानवता कायम राख्न मद्दत गर्दछ । स्वतन्त्र वातावरणमा मनुष्यले परिवार, समाज वा राज्यबाट आफूमाथि नियन्त्रण होइन अनुगमन मात्र भएको अनुभूति गर्दछ । स्वतन्त्रता भनेको मनुष्यको त्यो आन्तरिक तथा बाह्य अनुभूति हो जसले उसलाई आत्मअनुशासन कायम राख्दै जीवनमा आत्मनिर्भर बन्न र निर्धक्क साथ आफ्नो आन्तरिक क्षमता प्रर्दशन गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न मद्दत गर्दछ । यसको विपरीत स्वतन्त्रता हनन् हुँदा व्यक्तिमाथि अरू कसैको नियन्त्रणमुखी दबाब बढ्न जान्छ । जसले डर पैदा गर्दै पर निर्भरता बढाउँछ । जुन कुरा आजका हरेक नागरिकले बुझ्नु र आफ्ना छोराछोरी लगायत अरूलाई पनि बुझाउन जरूरी छ ।
हामी के कुरामा स्पष्ट हुनु नितान्त जरुरी छ भने अधिकारविनाको जिम्मेवारीले जवाफदेहिता निष्क्रिय पार्दछ । त्यस्तैगरी जवाफदेयिता र अनुशासनविनाको स्वतन्त्रताले हाम्रो घर, परिवार, समाज र राज्यमा अराजकता निम्त्याउँछ । अनि अराजकताले जताततै चाकरी, चाप्लुसी, भ्रष्टाचार, बलात्कार, हत्या हिंसालाई मलजल गर्दछ । हो, यस्तो अराजक अवस्था सिर्जना गर्ने नैतिकता र जवाफदेहिताविहीन सामाजिक तथा राजनीतिक स्वतन्त्रतामा अधिकांश नागरिकहरू हार्छन् भने नातावाद, कृपावाद, फरियावाद, जातीवाद र आशिर्वादमा विश्वास गर्ने व्यक्तिहरूले मात्र आफ्नो स्वार्थ पूरा गर्छन् ।
आजको मानव समाजलाई नजिकबाट नियाल्ने हो भने अधिकांश मनुष्यहरू जवाफदेहितासहितको स्वतन्त्रता नरुचाएकै भेटिन्छ । कारण, शारीरिक सुखसयल तथा तुलना र प्रतिस्पर्धाले जन्माउने अनावश्यक परिवारवादी अपेक्षाले गर्दा नै हो । जसले गर्दा अपेक्षा पूरा गर्न इमान्दारिता बिर्संदै हदैसम्म तल झर्न पनि पछि हट्दैनन् आजका विवेकशील भनाउँदा मनुष्यहरू । अराजकताले मनुष्यहरूबीचमा अविश्वासको खाडल सिर्जना गर्छ । समाजमा गलत संस्कृति र मान्यताको विकास हुन जान्छ । जसले गर्दा समाजमा असुरक्षा र डरको भावना बढेर जान्छ । अन्ततः आफूभित्र रहेको खुशी र प्रेम पनि आफूदेखि धेरै टाढा रहन्छ । त्यसैले स्वतन्त्रता के हो र यो किन ? आजको हरेक नागरिकले आफूमा रहेको सङ्कीर्ण सोचाइ बदल्दै वास्तविक स्वतन्त्रतालाई आफ्नो जीवनको प्रमुख लक्ष्य बनाउनु नै पर्छ । खोज्नैपर्छ, जान्नैपर्छ र मान्नैपर्छ ।
शिक्षाको मुख्य उद्देश्य भनेको विद्यार्थीलाई जीवनमा स्वतन्त्र बन्न सिकाउनु र असल समाज निर्माण गर्नु हो । त्यसैले हरेक विद्यार्थीले आफ्नो जीवनको अन्तिम लक्ष्य, जीवनमा स्वतन्त्रता वा मोक्ष प्राप्त गर्नु नै हुनुपर्छ । वास्तविक स्वतन्त्रतामा नैतिकता हुन्छ । जहाँ नैतिकता हुन्छ त्यहाँ प्रेमको बास हुन्छ । अनि मात्र सहजरूपमा शान्ति प्राप्त गर्न सकिन्छ । त्यसकारण हरेक विद्यार्थीले आफ्नो घर, परिवार, विद्यालय, समाज र देशमा अनुशासन सहितको स्वतन्त्रता अनिवार्य खोज्नुपर्छ । मनुष्यको स्वतन्त्रता हनन् गर्ने समस्याहरूमध्ये बन्धन पनि एक हो । जसलाई खुशी प्राप्त गर्न तोडनैपर्छ । समस्यालाई समस्याको रूपमा होइन यसलाई एक साहसिक कार्यको रूपमा हेर्नुपर्छ । हामीले देखे सुनेका पनि छौं कि स्वतन्त्रता नहुँदा कतिपय मनुष्यले सम्बन्ध विच्छेद र आफ्नो अमूल्य देह पनि त्याग गरेका छन् । के यस्तो प्रकारको घटनालाई न्यूनीकरण गर्ने उपायबारे नसोच्ने ? यदि यो घटना तपाई हाम्रो घर, समाज वा कार्यालयमा घट्यो भने नि ? सोच्न सक्नु हुन्छ ? होइन भने कसैको पनि स्वतन्त्रता हनन् गर्दै नगरौँ । हरेक शिक्षक वा बुबाआमाले आफ्ना विद्यार्थी वा छोराछोरीलाई उसको रूचि र क्षमता अनुसारको लक्ष्य छनौट गर्नका लागि पूर्णस्वतन्त्रता दिनुपर्छ । जसले आपसमा समझदारी बढाउँदै सुसंस्कृत घर परिवार, समाज र देशको निर्माण गर्न मद्दत गर्दछ । त्यस्तैगरी शिक्षक वा अभिभावकले आफ्ना केटाकेटीहरुलाई जिम्मेवार र आत्मनिर्भर बन्न स्वतन्त्रता दिने र उनीहरूमा निर्णय गर्ने, नेतृत्व गर्ने र खोज्ने बानीको पनि विकास गराउनुपर्दछ । पुरै ब्रह्माण्ड रहेका प्राणीहरुको अध्ययन गर्ने हो भने मनुष्य वाहेक सबैले अनुशासन पालना गरेका छन् । उनीहरूले आफ्नो धर्म निभाएका छन् । त्यसैले उनीहरू स्वतन्त्र छ । तर हामी मनुष्यहरु व्यक्तिवादी अप्राकृतिक दरिद्र सोँच बोक्दै अनुशासन भङ्ग गर्दै दिन प्रति दिन मानसिक पीडाको जालोमा बेरिरहेका छौँ र अन्ततस् मानसिक रोगी बनिरहेका छौ ँ। यसको ज्वलन्त उदाहरण मात्र हामीले आफैलाई महसुस गरे पर्याप्त छ ।
घर वा विद्यालय भनेको एक सामाजिक प्रयोगशाला पनि हो । त्यसैले हरेक आमाबाबु वा शिक्षक पहिला आफू सच्चिनु अत्यन्त जरुरी छ । त्यसपछि आफ्ना छोराछोरी वा विद्यार्थीहरुलाई सच्चिन लगाउने । यसको मतलब उनीहरूलाई केवल बौद्धिक मात्र बनाउने होइन । उनीहरूलाई सही ढङ्गले स्वतन्त्रताको मर्म सिकाउँदै र बुझाउँदै स्वतन्त्रता प्राप्त गर्ने उपायहरु उनीहरू कै स्तरमा झरेर भन्नुपर्छ । स्वतन्त्रता खोस्नेका विरुद्ध सङ्घर्ष गर्न सक्ने बनाउनु पर्दछ । हामी जिम्मेवार मनुष्यले यस्तो प्रकारको वातावरण सिर्जना गर्न सकेमा पक्कै पनि भोलिको राज्य अवश्य स्वतन्त्र हुन सक्थ्यो कि ? एक पटक सबैले विचार गरौँ ।
लेखकः धरानका कलेज र स्कुलका अध्यापक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here