धरानः ‘प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, मेयर तिलक राई, उपमेयर मञ्जु भडारी सुवेदीलगायतले पनि अवलोकन गर्दै चिया पिउँदै ५ सय रूपैयाँ सहयोग गर्नुभयो नि’, आइतबार धरान डे को अवसरमा आयोजित धरान महोत्सवमा रहेको एक स्टलका युवायुवती उत्साहित हुँदै भन्दै थिए, ‘हाम्रो चिया बेच्ने अभियान सफल भयो ।’
धरानमा अन्यसँग मागेर वा चन्दा सङ्कलन गर्दै समाजसेवी हुँ भन्नेहरू धेरै नै छन् । तर उनीहरूले चिया बेचेर समाजसेवा गर्ने हेतुले एक स्टलमा चिया बेच्न राखेका थिए । एकातिर युवायुवती चिया पकाउँदै थिए भने अर्कोतिर राखिएको थियो–सहयोग बक्स । चिया खाएर पैसा तिर्नेदेखि चिया खाँदै सहयोग गर्ने पनि धेरै भेटिए । ‘धेरैले चियाको मात्रै पैसा तिर्नुभएन, ‘डोनेसन बक्स’ देखेपछि सहयोग पनि गर्नुभयो ।’ समर्पण अभियान चलाएका युनेष भण्डारीले भने, ‘चिया बेचेरै गरिब, अनाथलाई सहयोग गर्ने भनेपछि धेरैले सहयोग गर्नुभयो ।’
अभियानकी महिमा आङदेम्बेले धेरैजना युवायुवती मिलेर अभियान चलाएको बताइन् । अभियानकर्मी दिला नेम्वाङले चिया बेचेर समाजसेवा गर्नु कठिन नै भएपनि अभियानलाई निरन्तरता दिँदै आएको बताइन् । यसअघि पनि दुईपटक भानुचोकमा चिया बेचेर गरिबलाई सहयोग गरेको उनको भनाइ छ । ‘भानुचोकमा चिया बेचेर सहयोग जुटाएर सहयोग गरिसकेका छौ, त्यतिबेला त सेल रोटी पनि बेच्यौं ।’ उनले भनिन्, ‘त्यतिबेला सुनसरीको पकलीस्थित श्री राम जानकी वृद्धाश्रममा पुगेर न्यानो कपडा साथै खाद्यान्न वितरण गरेका थियौं ।’
समर्पणका अध्यक्ष युनेश भण्डारीले भने, ‘युवाहरूले रचनात्मक र फरक शैलीमा काम गरेर सामाजिक काम गर्नुपर्छ भन्ने सन्देश पनि दिन यस्तो अभियान चलाउँदै आएको हौं ।’ आइतबार मात्रै ४ सय कप बढी चिया बेचिएको र स्वेच्छाले सहयोग गर्ने पनि बढेको उनले बताए । अभियानमा लागेका सबै धरानका विभिन्न कलेज पढ्ने युवायुवती हुन् । फोटोः हाम्रो कोशी आवाज डटकम 

यसअघि यसरी बाँडेका थिए असहायलाई खाद्यान्न लगायत लत्ताकपडा । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here