अध्यापिका भीमा राईको साथमा उपस्थित विद्यार्थी ।

शेखरनाथ जोगी
धरानः धरान–४ दानाबारीस्थित हर्दियामा रहेको ‘आधारभूत विद्यालय हर्दिया’ मा कक्षा-२ मा दुई जना र कक्षा-३ मा तीनजना विद्यार्थी भन्दा अचम्म मान्नुपर्दैन । हो नै । यी कक्षामा मात्रै नभएर अन्य कक्षामा पनि विद्यार्थीको खडेरी छ । हुन त यो यो धरानको विकट ठाउँ नै हो । अहिले सडक सन्जाल जोडिएपछि केही सहज भने भएको स्थानीय बताउँछन् । जम्मा ५० जना विद्यार्थी अध्ययनरत् रहेको विद्यालयमा कक्षा-१ मा ४ जना, कक्षा-४ मा ५ जना छन् भने बालकक्षामा पनि मात्रै बढी छन् । अन्य कक्षामा पनि विद्यार्थी कम नै छन् ।
ओरालो लागेको विद्यार्थी संख्या घटेर अहिले ५० मा सीमित भएको प्रधानाध्यापक श्रवण चौधरीले बताए । ‘यहाँ हुने खाने र हुँदा खाने छन् । हुने खानेले धरानकै राम्रा बोर्डिङतिर पढाउन पुरयाउँछन्, हुँदा खाने अभिभावकका बालबालिका मात्रै यहाँ रहन्छन् ।’ उनले केही वर्षअघि २ सय बढी विद्यार्थी रहेको विद्यालयमा हालसम्म आइपुग्दा यति संख्या हुनुपरेको बताए ।
प्रधानाध्यापक चौधरी बसाइसराइँ, सेवा क्षेत्रको सीमितता, बच्चा जन्मने दरमा पनि कमी आएकाले गाउँका प्राविमा विद्यार्थी कम हुँदै गएको बताउँछन् । ‘अभिभावक परिवार नियोजनप्रति सचेत भएर पनि बालबच्चा धेरै जन्माउन छोडे’, उनले थपे, ‘अर्को कुरा यहाँ धेरै अभिभावक विदेशिएका छन्, विदेशबाट पैसा पठाएपछि धेरै सहरतिरै झर्न थाले, भाडा लिएर भएपनि उतै बस्न थाले, बालबालिका उतै पढाउन थाले, त्यही भएर विद्यार्थी पनि घटे ।’
विद्यार्थी संख्या घट्दा गुणस्तर बढ्नुपर्नेमा त्यो झन निराशाजनक स्थितिमा छ । ‘३–४ जना शिक्षकको दरबन्दी नै छैन ।’ उनले भने । सुदृढ व्यवस्थापन, स्तरीय सिकाइ र पढाइमैत्री वातावरण दिनसके सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन सकिने उनको भनाइ छ ।
‘केही वर्षअघिसम्म यही विद्यालयमा एउटै कक्षामा धेरै जनासम्म कोचिएर पढ्थे । उबेला कक्षाभरि विद्यार्थी पनि पढाएँ, अहिले दुई जना पढाउनुपरेको छ,’ शिक्षक भीमा राईले भनिन्, ‘कमसेकम हुने खानेले पनि यहीँ पढाइदिए बोर्डिङको जस्तै शिक्षा दिन तयार थियौं ।’ अहिले अङ्ग्रेजी माध्यमका सो विद्यालयमा अध्ययन अध्यापन थालिएको उनले बताइन् । तर पनि विषयगत शिक्षकको अभाव हुँदा समस्या परेको उनको कथन छ ।
हाल ७ जना शिक्षक छन् । ‘शिक्षककै अभाव हुँदा पनि गुणस्तरीय शिक्षा दिन सकिएको छैन, कक्षा–८ को विषय पढाउन पनि तल्लोस्तरका शिक्षकले धानिरहेका छन् ।’ उनले भनिन् । उनले यस वर्षदेखि शहर पसेकालाई पनि फर्काउने अभियान थालिने तर शिक्षक अभाव भएकै कारण सम्भव हुन नसक्ने पो हो कि भन्ने चिन्तामा छिन् ।
शिक्षा नियमावली २०५९ को नियम ७७ को उपनियम १ मा सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी संख्या उपत्यकाभित्र ५०, तराइमा ४५ र हिमाली क्षेत्रमा ४० जना न्यूनतम हुनुपर्ने उल्लेख छ । नियमावलीमा उल्लेख भएबमोजिम विद्यार्थी नभए विद्यालय गाभ्न सकिने व्यवस्था छ ।
सामुदायिक विद्यालयमा सरकारको लगानीअनुसार विद्यार्थी आकर्षक हुन नसक्दा प्रतिफल खेर जानुका साथै कहिलेकाहीँ एउटै विद्यार्थीलाई मात्र पढाउनुपर्ने बाध्यतासमेत छ । सेवा र सुविधाको खोजीमा अधिकाङ्श मानिस शहरमा बसाइँसराइ गरी गएपछि गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कमी हुँदै जान थालेको छ । विद्यार्थीलाई राम्रो बनाउन र गुणस्तर सुधारमा सबैपक्ष लाग्नु आजको आवश्यकता हो । फोटोः लक्ष्मण थापा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here