ताप्लेजुङः विगत एक वर्षदेखि बोनम्यारो क्यान्सरपीडित फुङलीङ नगरपालिका–६ आहाले निवासी २७ वर्षीय स्वरहरुको रंग एल्वमका गायक ताप्लेजुङको कलाकार शम्भु गुरुङलाई प्रवासमा रहेका नेपालीद्वारा ६८ हजार सहयोग रकम प्राप्त भएको छ ।
नेपाली साझा मञ्च संस्थामा आवद्ध साउदीमा कार्यरत सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–१ का अकल प्रधान , ताप्लेजुङ फुङलीङ नगरपालिका निवासी निकेश गुरुङ, चन्द्रमणी गुरुङ ,रविन गुरुङ लगायतको समूहले क्यान्सरपीडित गुरुङको उपचारमा थप टेवा पुग्न प्रेरणा रहोस् भन्ने उद्देश्यका साथ सो रकम संकलन गरिएको हो ।
सो सहयोग रकमलाई बिहीबार सञ्चारकर्मी सूर्य तमुले क्यान्सरपीडित शम्भु गुरुङको साथमा बुबा दिपेन्द्रकुमार गुरुङलाई एक कार्यक्रममा हस्तन्तरण गरेका हुन् । जहाँ रेडियो तमोरका सञ्चार कर्मी तेन्जिङ पाङर्मा शेर्पा , उज्यालो पत्रिका दैनिकका किस्मतकृष्ण फुरुम्बो, फक्ताङलङ दर्पण साप्ताहिक पत्रिकाकी अनिता पन्धाक लगायतले उपस्थिति जनाएका थिए ।
क्यान्सरपीडित गुरुङको गत साल पौष २४ गते बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा शल्यक्रिया भएको थियो । उपचारको लागि करिब १८ लाख रुपैयाँ खर्च भइसकेको पीडितका बुबा दीपेन्द्रकुमार बताउँछन् । उनका अनुसार उपचारको लागि नेपाल सरकारको मातहतबाट एक लाख रुपैयाँको औषधि निशुल्क गरिएको र फुङलीङ नगरपाकिाले पाँच हजार रुपयाँ सहयोग गरेका छन् ।
त्यस्तै अन्य बिदेशी मुलुकहरुबाट पनि सहयोग प्राप्त भएको क्यान्सरपीडितका बुबा दिपेन्द्रकुमार गुरुङले बताए । उनका अनुसार दक्षिण कोरियाबाट चन्द्रमणि गुरुङ मार्फत नगद एक लाख सड्तीस हजार, कतारबाट धनकुमार गुरुङ मार्फत सड्तीस हजार, मलेसिया बाट प्रबिन राई मार्फत ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । उपचारको निम्ति खर्चेको करिब १३ लाख रुपैयाँ सय कडा २ ले ब्याजमा गाउँघरमा नै ऋण काढेर रकम जुटाएको पनि उनले बताए । उपचारको निम्ति गुरुङलाई आर्थिक आवश्यकता पर्ने हुनाले उनका बुबा दिपेन्द्रकुमार गुरुङ सहयोगी मनलाई धन्यवाद ब्यक्त गर्दै सबैमा जति सक्दो सहयोगको अपिल गर्छन् । उनले सहयोगि मन भावनाको निम्ति ९८१७०६९२१० र ९७४२६३९३१४ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here