धरानः चिया कत्तिको पिउनुहुन्छ ? अलिअलि कि अत्याधिक ? यदि तपाईलाई चिया मनपर्छ भने स्वास्थ्यको लागि भन्दा पनि मज्जाको लागि पिउनुहुन्छ भन्ने अनुमान लगाउन सकिन्छ । विश्वभरी लगभग २५ करोड मानिसहरूले चिया पिउने गर्छन् । तीमध्ये कतिपय यस्ता पनि हुन्छन्, जसलाई चिया नभई हुँदैन, जसलाई छिनछिनमै चिया वा कफी पिउनैपर्ने हुन्छ । अधिकांश नेपालीहरूलाई कालो चिया भन्दा पनि दूध चिया बढि मन पर्छ । तर वैज्ञानिकहरू भन्छन्–दूधको एक थोपाले चियाको पुरै फाइदालाई शून्य बनाइदिन्छ ।
अधिकांशले आनन्दको लागि, न्यानो गराउनको लागि चिया पिउने गर्छन् । फेरि चियाको ‘कालो चियाको’ स्वास्थ्यमा फाइदाहरू पनि टन्नै छन् । प्राचीन समयमा चीन, भारत र नेपाल लगायत एसियाली भूभागहरूमा कालो चियालाई औषधीको रूपमा पनि प्रयोग गर्ने गर्दथे । चियामा हाम्रो स्वास्थ्यलाई प्रभाव पार्ने खालका धेरै तत्वहरू पाइन्छन्। विशेष गरी कालो चियामा प्रशस्तै एण्टिअक्सिडेन्ट र भिटामिन पाइन्छन्। यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउनुको साथै, रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्ने, कोषका हुने क्षयलाई रोक्ने, मधुमेहबाट बचाउने साथै मुटुसम्बन्धी रोगबाट पनि बचाउँदछ ।
चियामा दूध मिसाएर पिउँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्दछ भनेर अमेरिकाका वैज्ञानिकहरूले एक खोज गरेका थिए । उनीहरूले १६ जना स्वस्थ स्वयंसेवीकाहरूमा चियाको प्रभावको परीक्षण गरेका थिए ।
अनुसन्धानकर्ताहरूले ती महिलाहरूलाई एक दिन तातो पानी, अर्को दिन कालो चिया अनि अर्को दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भैरहेको गतिविधिलाई निरीक्षण गरेका थिए । नतिजा अचम्मको निस्किएको थियो । तातो पानीमात्रै पिउँदा मुटुमा खासै त्यस्तो फरक परेन । कालो चिया पिउँदा मुटुको धमनी र रक्तनशालाई राहत पुग्यो भने दूध चिया पिउँदा ती महिलाहरूको मुटुको धमनी र रक्तनशामा हुने रगतको सञ्चारमा बाधा पुगेको थियो ।
यसको एउटै मात्र कारण भनेको, दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमि हुने गर्दछ, जसले रक्त धमनीमा राहत पुरयाउन महत्वपूर्ण भूमीका खेल्ने गर्दछ ।
दिनमा २ कप सम्म दूध चिया पिउनु खासै खतरनाक हुँदैन । तर यदि २ कपभन्दा बढी दूध चिया पिउने बानी छ भने त्यसलाई तुरुन्तै हटाउनु उचित हुन्छ । साथै, विहानको खाली पेटमा दूध चिया पिउँदा ग्यास्ट्रिकको समस्या देखा पर्दछ भनेर त सायद अधिकांशलाई थाहा नै छ होला । बरु, कालो चिया पिउनुहोस् । कालो चियाका अनगिन्ती फाइदाहरू छन् । यसले मधुमेहलाई समेत ठीक गर्छ, त्यति मात्र कहाँ हो र ? मृगौलाको कार्य शक्तिमा समेत कालो चियाले धेरै राहत पुर्याउने वैज्ञानिकहरूको अनुसन्धानबाट पत्ता लागिसकेको छ । बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।
चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन । खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ ।
दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन् ।
ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ । ‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ ।
दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ । –एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here