धरानः धरान-१५ स्थित श्री बद्रीनाथ आधारभूत विद्यालयमा पौष १८ गतेदेखि शुरु भएको आनिपान (किरात शिरिजङ्गा लिपी लेखन) प्रशिक्षण एक कार्यक्रमको बीच सम्पन्न भएको छ ।
लिम्बू भाषा लिपी प्रशिक्षण केन्द्रको आयोजना तथा धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालयको सहयोगमा सात दिने प्रशिक्षण भएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि १५ नं. वडाका अध्यक्ष तथा धरान उपमहानगरपालिका आदिवासी जनजाति विकास समितिको संयोजक नरेशकुमार इवारमले सबै जातिले आफ्नो भाषा लिपिको संरक्षक र विकास गर्न सके मात्र पहिचानको शाब्दिक अर्थ खुल्ने बताए ।
त्यसैगरी कियाचु सुनसरी अध्यक्ष मोहनकुमार लिम्बूले स्थानीय सरकारले नीतिगत रूपमा सहयोग गरेमात्र सबैको भाषा, लिपी, संस्कार–संस्कृतिको विकास हुने बताए । विद्यालयका प्रधानाध्यापक देवराज लिम्बूले सरकारले नीतिगतरुपमा सहयोग गरे सबैको भाषाका पाठ्य पुस्तकको पढाइ गर्न सकिने बताए ।
प्रशिक्षणमा सहभागी ५० जना विद्यार्थीहरुलाई प्रमुख अतिथि इवारम, अतिथि कियाचु सुनसरी अध्यक्ष लिम्बू, प्रअ लिम्बू र शिक्षक पारसमणिं दाहालले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम लिम्बू भाषा, लिपी प्रशिक्षण केन्द्रका अध्यक्ष तथा प्रशिक्षक स्वर्णिमहाङ फोम्बो लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
यस्तै, धरान उपमहानगरपालिका ८ नं. वडा कार्यालयको सहयोगमा धरान–८ स्थित श्री शहिद स्मृति माध्यमिक विद्यालयमा बिहीबारदेखि ७ दिने प्रशिक्षण थालिएको छ ।
कार्यक्रम ८ नं. वडाका वडा सदस्य रामकुमार थापा मगरले कार्यक्रमको उद्घाटन गरे । विद्यालयका प्रअ रामबहादुर विष्टले सबैको भासा सबैले बुझ्न र बोल्न सके सबैको भावनात्मक र भातृत्वको सम्बन्ध समधुर रहने बताए । स्कुलका कक्षा २ देखि ६ सम्मका ४१ जना विद्यार्थीले प्रशिक्षणमा सहभागिता जनाएका छन् ।
हुँदैन पढाइ
नयाँपुस्ताका अधिकांशले लिम्बू भाषा बोल्न छोडिसकेकाले भाषाको संरक्षण गर्ने उद्देश्यसाथ लिम्बू भाषा लिपी सिकाइनुपर्ने फोम्बोको भनाइ छ ।
केही वर्षअघि धरानका ११ वटा सामुदायिक विद्यालयले लिम्बू भाषालाई ऐच्छिक विषयका रूपमा २०६४ सालदेखि पढाउन थालेका थिए । धरानका पञ्चायत मावि, किरातेश्वर पब्लिक उच्च मावि, शिक्षा निकेतन, भानु स्मृति मावि, लेबोरेटरी मावि, सहिद स्मृति, किरातेश्वर मावि, सदन मावि, बद्रीनाथ, जनता पञ्चायत माविमा लिम्बू भाषा पठनपाठन भयो । तर आर्थिक अभावले केन्द्रको निस्क्रियता बढेसँगै त्यहाँका सबै विद्यालयले लिम्बू भाषा पढाउन छाडेको पनि धेरै वर्ष भइसक्यो ।
लिम्बू भाषा पढाइ सञ्चालनका लागि धरान उपमहानगरपालिकाले केन्द्रलाई २०६७/६८ मा ५० हजार, २०६८/६९ मा २ लाख १० हजार र २०६९/७० मा ८७ हजार सहयोग गरेको थियो । संविधान २०४७ ले पहिलोपटक मातृभाषा शिक्षा लिन पाउने अधिकार सुनिश्चित गरेका कारण आनिपान (हाम्रो भाषा) को पठनपाठन लिम्बूहरूको बसोबास भएका स्थानका विद्यालयहरूमा सुरु भएको हो । अर्को महत्वपूर्ण जगको रूपमा २०५० सालमा तिलविक्रम नेम्वाङको संयोजकत्वमा बनेको राष्ट्रिय भाषा नीति सुझाव आयोगले लिम्बू भाषा लिखित परम्पराका रूपमा विकसित भएको, साहित्य र व्याकरण भएकाले पठनपाठन सुरु गर्दा उचित हुने ठहर गरेको थियो । अनि पाठ्यक्रम विकास केन्द्रले २०५४ सालमा लिम्बू भाषाको नमुना पाठ्यक्रम बनाएपछि पठनपाठनले औपचारिक रूप लिएको हो ।
लिम्बू भाषा पढाउने शिक्षकलाई बेला–बेलामा तालिम दिने बाहेक शिक्षासँग कार्यालयहरूले केही पनि लगानी गरेको देखिँदैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा मातृभाषामा शिक्षा दिने, विद्यालयको अनुमति, अनुगमन तथा नियम स्थानीय तहले गर्नुपर्ने उल्लेख गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here