धरानः शनिबार धरानस्थित सरस्वती बालआश्रम पुग्दा तीन बालबालिका केही कुरा सिक्दै थिए र आश्रममा रहेका बालक अविशेक परियार भन्दै थिए– बिहान उठ्नुपर्छ, नुहाउनुपर्छ अनि खाना खाएर स्कुल जानुपर्छ । त्यतिकैमा तीनैजनाले हुन्छ मात्रै भनिरहे ।
यस्तो हालतमा पुगेका छन् धरान–१७ का तीनजना बालबालिका । आयुष भुजेल (जेठा), असिम भुजेल (माइला), राजु भुजेल (कान्छा) । तीमध्ये एक छोरी रेजिना भुजेल भने आफन्तको शरणमा रहेकी छिन् । आयुष अहिले १३ वर्षका भए ।
धरान–१७ मा तीन छोरा र एक छोरीलाई बाबुआमाले अलपत्र छाडेर बेपत्ता बनेपछि विचल्लीमा परेका हुन् । बाबुआमाले दोस्रो विवाह गरेर हिँडेपछि तीन छोरा र एक छोरीको विचल्ली भएको स्थानीयबासीले बताएका छन् । अभिभावकविहीन बनेर भौतारिरहेका बालबालिका अहिले धरानस्थित सरस्वती बालआश्रमको शरणमा पुगेका हुन् ।
हेर्दै खाइलाग्दा तीन छोरा र एक छोरी छोडेर हिँडेपछि उनीहरूको भविष्य डामाडोल हुने देखेर वडाध्यक्ष मनोज भट्टराईले सिफारिस गरेपछि ती बालबालिका आश्रम पुगेका हुन् । यी अबोध बालबालिकालाई छोडेर आमा (रविना) अर्कै पतिको साथ लागेको र बाबु राजुले कान्छीआमा भित्रयाएर हिँडेपछि बालबालिका यो अवस्थामा पुगेको अध्यक्ष भट्टराई बताउँछन् । यसअघि आफन्त तथा अन्य घरमा शरण लिएर बसेका बालबालिकाहरूको भविष्य डामाडोल हुने देखेपछि त्यहाँ पुरयाइएको वडाध्यक्ष भट्टराईको कथन छ ।
धरान–१७ स्थित दीपेन्द्र आधारभूत विद्यालयमा पढिरहेका उनीहरूका लागि लालनपालनकै समस्या भएपछि त्यहाँ लगिएको हो । दीपेन्द्रका प्रधानाध्यापक पर्वत सञ्जेलले बाबुआमा बेपत्ता भएपछि उनीहरू बिचल्लीमा परेको बताए । ‘अभिभावक नहुँदा यी लालाबालाको वर्तमान मात्र होइन, भविष्य पनि अन्योल हुने देखेपछि अहिले वडाध्यक्षले नै सिफारिस गरेर आश्रम लगिएको हो ।’
कसरी पुगे आश्रम ?
धरान–१७ का वडाध्यक्ष मनोजसामु यो कुरा पुगेपछि उनले धरान–३ स्थित सरस्वती बालआश्रममा बस्ने व्यवस्था गरे । उनले पुस २५ गते आश्रमबाट विद्यालयसम्म आउने जाने गाडीको समेत व्यवस्थापन गरिदिएपछि उनीहरू आश्रमसम्म पुगे । वडाअध्यक्ष भट्टराईले नै जाडोका लगाउने न्यानो लुगा, विद्यालय पोशाक, जुत्ता मोजा र ट्रयाक सुटको समेत व्यवस्था गरिदिए । धरान–१७ को दीपेन्द्र आधारभूत विद्यालयमा कक्षा–४ मा पढ्ने उनी धरान–१० रमाइलो चोकमा आश्रित थिए । दुई भाइ असिम भुजेल र पावल भुजेल धरान–१७ का मदन राईको घरमा आश्रय लिइरहेका थिए । उनका भाइहरू पनि त्यही स्कुलमा कक्षा ३ र १ मा पढ्छन् । बहिनी आशिका भुजेल धरान–५ देउरालीमा छिन् । उनी पनि सोही आश्रममा आउने दाजु आयुष बताउँछन् ।
बाबुआमा कहाँ जानुभयो अहिलेसम्म थाहा छैन !
हाम्रो पुरानो घर भोजपुरको ओख्रे हो । हामी सबै परिवार त्यहाँको सबै सम्पत्ति बेचेर धरान झरयौं । बाबुआमाले धरान गएर राम्ररी पढेर ठूलो मान्छे बन्नुपर्छ भन्नुहुन्थ्यो । धेरै वर्ष भइसकेको थियो । बाबु ट्याक्टरमा मिक्स गिटी भर्ने काम गर्नुहुन्थ्यो, आमा कहिलेकाहीँ वनबाट दाउरा ल्याएर बेच्ने गर्नुहुन्थ्यो । मादक पदार्थ सेवन गर्ने कारण घरमा सधैं आमाबाबुको घरझगडा भइरहन्थ्यो । त्यस्तो काम धेरै वर्षसम्म चल्यो । पहिला आमा बेपत्ता हुनुभयो । लगभग एक वर्षअघिदेखि आमा घरमा हुनुहुन्नँ । फेरि ११ महिनाअघिदेखि बाबु पनि घरबाट बेपत्ता हुनुभएको छ । अहिलेसम्म कहाँ कुन अवस्थामा हुनुहुन्छ थाहा छैन ।
जेठा दीपेन्द्रसँगको कुराकानीमा आधारित
कस्तो छ आश्रममा व्यवस्था ?
आश्रमका कार्यालय सचिव पूर्णप्रसाद फुयाँलले यहाँ आएपछि बालबालिकाको भविष्य उज्ज्वल बन्दै गएको ठोकुवा गरे । ‘घरकै जस्तो व्यवहार हुन्छ, सीप सिकाउँदै, आत्मनिर्भर बनाउँदै, १२ कक्षासम्म पढाएर स्थापित गर्ने काम हाम्रो हो’, उनले थपे, ‘समाजमै स्थापित गराउन नागरिकता बनाउनेदेखि लालनपालन आदि उपलब्ध गराउँदै आएका छौं । भनौं आत्मनिर्भर नभएसम्म हामी बाहिर छोड्दैनौं ।’
हाल आश्रममा यी बालबालिकासँगै अहिले १६ जना बालक र १४ जना बालिका रहेको उनले बताए । उनले कक्षा नर्सरीदेखि ब्याचलर लेवलसम्म पनि पढ्ने बालबालिका यहीँ रहेको बताए । बोर्डिङ रसरकारी स्कुलमा ती बालबालिकाहरू पढिरहेको उनले बताए । उनले आश्रम मुठीदान, अक्षयकोष आदिबाट चलेकोले सहयोगको याचना पनि गरे ।
फोटोः हाम्रो कोशी आवाज डटकम 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here