धरानः धरान–९ स्थित साकेला टेक्निकल एकेडेमीले सञ्चालन गरेको मन्टेश्वरी तालिममा सहभागीलाई शुक्रबार एक कार्यक्रमका बीच दीक्षित गरिएको छ । दीक्षित भइसकेपछि कार्यक्रमका अधिकांशवले आफ्नो कुरा बच्चालाई थोपर्ने प्रवृत्ति हटाइने प्रतिबद्धता जनाए ।
गत साउन २० गतेदेखि पुस ९ गतेसम्म सञ्चालित तालिममा २८ जना प्रशिक्षार्थीहरु सहभागी थिए । सहभागीहरुलाई एकेडेमीका प्रमुख कार्यकारी अधिकृत शालिक शतासक राई, सगरमाथा एसडी कलेजका प्रिन्सिपल सन्तोष राई, समिट माविका प्रिन्सिपल रमेश दाहाल लगायतले कन्भोकेसन क्याप (दीक्षित टोपी) र प्रमाण–पत्र वितरण गरे ।
तालिम अवधिभर जीवन उपयोगी शिक्षा, ५ इन्द्रीयहरूलाई सक्रिय बनाएर कसरी साना बच्चालाई सिकाउने, आर्ट एण्ड क्राफ्ट, राइम्स लगायत सिकाइएको प्रमुख प्रशिक्षक शालिक सतासक राईले जानकारी दिए ।
बच्चाको रुचीअनुसार सही बाटोमा हिँडाउन शिक्षण पेशामा आवद्ध हुन चाहनेले मात्र नभएर हरेक आमा बुबाले मन्टेश्वरी तालिम लिनुपर्नेमा राईले जोड दिए । सहभागी युनिसा तामाङले तालिमबाट आफूले सिकाउने परम्परागत शैली गलत भएको थाहा पाउनुका साथै बच्चालाई डर र करले नभई देखाएर, सुनाएर र गरेर सिकाउनु पर्ने रहेछ भन्ने कुरा सिकेको बताइन् ।
अर्का सहभागी खुशी लिम्बूले आफ्नो कुरा बच्चालाई थोपर्ने प्रवृत्तिलाई हटाएर स्वतस्फूर्त रुपमा अभिरुची जगाउँदै बच्चालाई सिकाउन सकिने कुरा जानेको बताइन् । तालिम अवधिभर एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राई, अनु तामाङ, रामचन्द्र राई, अर्चना ढकाल, प्रकाश श्रेष्ठ र सुरज मेवाहाङ राईले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन दिव्या राईले गरेकी थिइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here