धरानः धरानका पाँच विद्यालयमा लागूऔषध सचेतना कार्यक्रम चलाइएको छ ।
धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखाको आयोजना र इलाका प्रहरी कार्यालय धरानको सहकार्यमा आइतबार धरान–१९ स्थित किरातेश्वर माविमा लागूऔषध दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम चलाइएको छ ।
कार्यक्रममा बोल्दै इप्रकाका डिएसपी ढुण्डीराज न्यौपानेले लागूऔषधले मृत्युको मुखमा लैजाने हुनाले यसको सेवन नगर्न आग्रह गरे । ‘लागूऔषधको प्रयोग गर्न घरबाट सुरुवात हुने भएकाले कसैले लागूऔषध सेवन गर्न आग्रह गरेमा सिधै ‘ड्रग्स,नो थ्याङक्स’ भन्नपर्छ है ।’ विद्यार्थीमाझ उनले भने ।
उनले लागूऔषध के हो, लागूऔषधका प्रकार, यसका असर कानुनी कारबाही र बच्ने उपायका बारेमा विद्यार्थीलाई जानकारी गराए । लागूऔषधको प्रयोगले मानिसको व्यक्तिगत जीवन, परिवार, सामाजिक जीवनमा असर, आर्थिक बिचलन सामाजिक मान मर्यादामा आँच पुग्नुका साथै अन्त्यमा मृत्युको मुखसम्म पुग्ने हुनाले लागूऔषधको सेवन नगर्न उनले आग्रह गरे । विद्यालयका प्रधानाध्यापक डा.योगेन्द्र पालुङ्वाले रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु राम्रो हुने हुनाले सानै उमेरदेखि विद्यार्थीलाई सचेतना गराउँदा प्रभावकारी हुने बताए ।
सामाजिक बिकास महाशाखाका प्रमुख प्रज्ञा निरौलाले धरानमा लागूऔषध विकराल रुपमा रहेकाले यसको न्यूनीकरणका लागि ५ वटा विद्यालयमा सचेतना कार्यक्रम सुरु गरिएको बताइन् । यसअघि पब्लिक हाइस्कुल, शिक्षा निकेतन मावि र ल्याबोरेटरी माविमा सचेतना कार्यक्रम राखी सकिएको महाशाखा प्रमुख निरौलाले बताइन् । वडा नम्बर १९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बूले लागूऔषधको प्रयोगले व्यक्ति, समाज र उसलाई नै बर्बाद पर्ने हुँदा लागूऔषध दुव्र्यसनविरुद्ध लड्न सबैलाई आग्रह गरे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here