महेश श्रेष्ठ
‘खराब’ र ‘असल’ कर्महरूको मात्राका आधारमा मानिसहरूलाई सम्झने गरिन्छ । जसले अत्यन्तै खराब कर्म गरेर घरपरिवारलाई, समाजलाई, राष्ट्रलाई र जनतालाई दुःख दिएको हुन्छ र उसले दिएको दुःख कष्ट बिर्सिसाध्य हुँदैन तब मानिसहरुले घृणा गर्दै उसलाई सम्झने गर्दछन् । यसको विपरीत असल कर्म गरेका कारण घरपरिवार, समाज, राष्ट्र र आमजनताको हित भएको हुन्छ त्यसबेला बिर्सेर पनि बिर्सन नसकिने गुणका कारण श्रद्धापूर्वक सम्झिने गरिन्छ । तर, सबै मानिसहरू निरपेक्ष असल र खराब हुँदैनन् ।
भौतिकवादको द्वन्द्वात्मक परिभाषा र नियमभित्र कसी लगाउदा थुप्रै खराब कर्म गरेका मानिसले पनि एउटै असल कर्म बृहत्तर हीतका निम्ति गरेको पाइयो भने ऊ असल हुन्छ अर्थात् सम्झन योग्य हुन्छ । १०४ वर्ष राणाहरूले नेपाली जनतालाई कालो युगमा राखे उनीहरू जनताका छोरा भएर शासनमा आएको भएपनि जनताको हितमा कार्य नगर्दा उनीहरू सम्झन लायक त भएन तर उनीहरूले दिएको पीडा विर्सन लायक पनि भएन र नै नेपालीहरूले १०४ वर्षलाई कालो युगका रूपमा सम्झन्छन् ।
मैले यहाँ जोड्न खोजेको विषय राजा पृथ्वीनारायण शाहको सन्दर्भ हो । राजा पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता र एकीकरणकर्ताका रूपमा सम्मान गर्छन् र बुझ्दैछन् । तर त्यसरी बुझ्नु अलिक बढी हुन्छ कि जस्तो लाग्दछ किन कि उनले न त नेपाल राष्ट्र नामको निर्माण गरेका हुन् न त राष्ट्रको एकीकरण नै ।
‘नेपाल’ भन्ने नाम त परापूर्वकालदेखि नै रहँदै आएको पौराणिक कथा र इतिहासले प्रष्ट पारेको छ तसर्थ उनले निर्माण गरेका होइन भन्ने कुरा धेरै चर्चा गर्न जरूरी छैन । तर, भारतीयद्वीपमा अङ्ग्रेजको जगजगी र नेपाली राजा र रजौटाहरुको चरम गुट फुटको चलखेलका बेला उनले नेपाल राष्ट्रको संरक्षण गरेका थिए ।
नेपाली राष्ट्र र भूगोलको जेजसरी भएपनि त्यसबेला संक्षण गरेका हुन् । त्यसअर्थमा उनलाई नेपाल राष्ट्रको संरक्षक भनिनु उपयुक्त हुन्छ होला । कान्तिपुरको राजा हुने महत्वकाङ्क्षाबाट परिचालित भएका उनले ‘सामदाम, दण्ड र भेद’ जस्ता नीतिहरू प्रयोग गरेर विभाजित नेपाललाई एक ढिक्का बनाएका हुन् ।
उनले सामाजिक, साँस्कृतिक, भाषिक, धार्मिक, आर्थिक, राजनैतिक, ऐतिहासिक लगायत कुनैपनि पक्षबाट कसैलाई सहमत गराएर विभाजित राज्यहरूलाई समाहित गराएका होइनन् मात्रै ठूलो नेपालको राजा हुने महत्वकाङ्क्षाले उनले ‘सामदाम, दण्ड र भेद’ जस्ता नीति प्रयोग गरेर कान्तिपुरको राजा हुने महत्वकाङ्क्षालाई मूर्त रूप दिन राज्य विस्तारको अभियानलाई अघि बढाएका थिए भने बहादुर शाह लगायतले आफ्नो प्रभाव कायम राख्न लडाई लडेका थिए ।
यी र त्यस्ता थुप्रै कारण र घटनाहरूको चर्चा जति गरेपनि अन्ततः निष्कर्षमा आउँदा विभाजित नेपाललाई राजा पृथ्वीनारायण शाहले एक ढिक्को बनाएको तथ्य र अंग्रेज लगायतको आक्रमणबाट नेपाललाई जोगाएको सत्यलाई बिर्सिन सकिदैन । लडाइँका क्रममा जतिसुकै अन्याय अत्याचार गरेका भएपनि उनले आफ्नो र आफन्तको ज्यान जोखिममा राखेर ‘हामी नेपालको नेपाली हौं’ भन्ने अहिलेको अवस्थामा ल्याइपुरयाउनु उनैको देन हो, जुन योगदानलाई सामान्यीकरण गर्न सकिन्न र यो महान योगदान हो । राजनीति कम कुत्सित स्वार्थ र कलुषित भावनाबाट प्रेरितहरूको शब्दजाल बाहिर गएर हेरौं । राजा पृथ्वीनारायण शाह सामान्तवादको बुलन्द प्रमुख पात्र भएपनि नेपालको सन्दर्भमा नेपाल राष्ट्रको संरक्षक हुन् । त्यसअर्थमा उनलाई सम्मान गर्नुलाई अन्यथा लिनु हुन्नँ र राष्ट्रले नै सम्मान गर्न पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here