धरानः धरान–१३ स्थित सैनिक आवासीय महाविद्यालयको १४ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
पूर्वी पृतनालय इटहरीका पृतनापति उपरथी अनन्त कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन रुद्राक्षको विरूवामा पानी हालेर गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पृतनापति कार्कीले शिक्षा नै विकासको मेरुदण्ड भएको बताए । उनले शिक्षाविना देशको विकास सम्भव नभएकाले विद्यार्थीलाई सोहीअनुसार खरो उत्रिनुपर्ने बताए । उनले सैनिक स्कुल पूर्वकै नमूना स्कुल बन्नेमा ढुक्क रहेको बताए ।
सैनिक स्कुलले दक्ष जनशक्ति उत्पादन गर्दै इमान्दार नागरिक तयार गर्न साथै व्यवहारिक, गुणस्तरीय, अनुशासन, नैतिकवान बनाउन जोड दिइरहेको प्रिन्सिपल निलमकुमार श्रेष्ठले बताए । उनले संस्कार, संस्कृति, सुशासन र सामाजिक परम्परा साथै दायित्व बोध गर्ने शिक्षा आफूहरूले प्रदान गरिरहेको बताए । २०६२ सालमा कक्षा–४ देखि शुरू भएको विद्यालयमा हाल कक्षा–११ र १२ मा विज्ञान सङ्कायमा अध्ययन अध्यापन भइरहेको बताए । कार्यक्रममा बोल्दै उनले विद्यालय पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताए । ‘हरेक वर्ष विद्यार्थीले डिष्टिङसनसहित शतप्रतिशत नतिजा ल्याइरहेका छन्’, प्रिन्सिपल श्रेष्ठले भने ।
उनले विद्यालयले शैक्षिक वा अन्य अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै भने, ‘विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद, नृत्य, गीत–संगीतजस्ता विभिन्न अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिँदै आएको छ ।’ उनले सैनिक र गैर सैनिकका छोराछोरीले अध्ययन गर्न पाउने विद्यालय अहिले पनि शिक्षासँगै संस्कार, नैतिकवान, चरित्रवान, योग्य नागरिक बनाउन कटिबद्ध रहँदै जाने बताए । ‘परिश्रमी शिक्षक, विद्यार्थी, सहयोगी भावनाका अभिभावकका कारणले यस्तो नतिजा र विद्यालयले उपलब्धि हासिल गरेको हो,’ उनले भने ।
कार्यक्रममा प्रमुख अतिथि पृतनापति कार्कीले विद्यालय र विद्यार्थीको गतिविधि समेटिएको पुस्तक ‘ज्ञानपुञ्ज’ को पनि विमोचन गरेका थिए । अभिभावकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा वर्ष शिक्षकबाट दयाराम दुवाडी, वर्ष कर्मचारीबाट ऋषभ कर्ण, वर्ष सेना कर्मचारी यु बुद्ध तामाङ, वर्षको उत्कृष्ट विद्यार्थी समीक्षा कार्की, योगेश गाहा मगरलगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीले गीत, नृत्यले अभिभावक तथा उपस्थित अतिथिहरूलाई भरपुर मनोरञ्जन प्रदान गरे । उनीहरूले जसो गर जे भन, यो पहाड यो तराई, न भरिन्छ माना पाथी, बालापनको उमेर, यो जिन्दगानी, जम्काभेट, मै छोरी सुन्दरी, ओइ झुमा, आमा, साली मन परयो, मिठो तिम्रो मुस्कानले लगायतका गीत तथा नृत्य पस्किए भने केही विद्यार्थीले तेक्वान्दोसम्बन्धी मनोरञ्जनपूर्ण खेल देखाए । कार्यक्रमको सञ्चालन विद्यालयकै छात्रछात्राले गरेका थिए । कार्यक्रममा विज्ञान प्रदर्शनी पनि आयोजना गरिएको थियो ।
फोटोः लक्ष्मण थापा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here