डा. रुपक घिमिरे
जाडो मौसम छ । यो मौसममा प्राय सबै मानिसको लागि घामको न्यानो सबैलाई प्रिय लाग्छ । तर, कतिपय व्यस्तताको कारण घाममा बस्न पाउँदैनन् ।
यदि यसो हो भने पनि केही समय भने घामकै लागि छुट्याउदा पनि स्वास्थ्यको लागि राम्रो हुन्छ । किनकी मनतातो घामले चिसोलाई काटेर शरिर न्यानो मात्र बनाउँदैन कयौँ प्रकारका स्वास्य समस्याबाटसमेत बचाउने गर्छ ।
१. जाडो मौसममा घाममा बस्दा तत्काल हुने सबैभन्दा ठूलो फाइदा भनेको शरीरलाई चिसोबाट बचाएर न्यानो प्रदान गर्ने हो । र, यसले शरीरलाई चिसोको कारण कक्रने समस्याबाट पनि बचाउँछ । त्यति मात्र नभएर यसले व्यक्तिको कार्यक्षमतालाई समेत बढाउने काम गर्छ ।
२. घाममा बस्दा शरीरले अत्याधिकरूपमा भिटामिन डि ग्रहण गर्छ । अन्य केही फलफूलबाट पनि भिटामिन डि नपाइने होइन । तर, तुलनात्मकरूपमा घाममा भिटामिन डिको मात्रा बढी हुन्छ । भिटामिन डि हाडको वृत्तिविकासको लागि अति आवश्यक हुन्छ । त्यसको साथै यसले जोर्नी र चिसोको कारणले हुने शारीरिक दुखाइमा पनि राहत प्रदान गर्छ ।
३. कतिपयलाई निद्रा नपर्ने समस्या हुन्छ । यस्तो समस्या समाधानको लागि जाडोमा न्यानो घामको साहरा पनि लिन सकिन्छ । त्यसको लागि हरेक दिन केही समय छुट्याएर घाममा बस्नुपर्छ । यसो गर्दा दिमागलाई तनावमुक्त हुन पनि सहयोग पुग्छ । र, रातको समयमा गहिरो निद्रा लिन सकिन्छ ।
४. बेलाबखत शरीरमा हुने विभिन्न प्रकारका फङ्गल सङ्क्रमणले निकै दुःख दिइरहेको हुन्छ । यसको उपचारमा मानिस निकै भौतारिरहेका हुन्छन् । यस्तो खालको समस्य भने पनि नियमितरूपमा घाममा बस्ने गर्नुस् । जाडो मौसमको घामले त्यस्तो इन्फेक्सनलाई निको पार्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । र, यस्तो घामले विभिन्न खालका किटाणुको सङ्क्रमणबाट पनि बचाउन सहयोग पु¥याउँछ ।
५. जाडो मौसममा मनतातो घाममा बस्नुको अर्को महत्वपूर्ण फाइदा भनेको शरीरको रक्तसञ्चारलाई सन्तुलित बनाउने हो । घामको न्यानो प्रकाशले शरीरमा रगत जम्ने प्रक्रियालाई रोक्ने काम गर्छ । र, शरिरको रक्तसञ्चार पनि चुस्त हुन्छ । त्यस्तै, मन तातो घामको न्यानोले चिनी र मुटु रोगीलाई समेत राहत प्रदान गर्छ । जाडो याममा घाम सबैलाई प्यारो लाग्छ। कोहीकोही दिनभरि घाम तापेर बस्न रुचाउँछन् । फुर्सदमा हुनेहरुले जाडोको बेला सकेसम्म घाममा बसेर धेरै समय कटाउन चाहन्छन् । तर, जाडोमा घाम ताप्नुका फाइदा र बेफाइदा दुवै छन् ।
घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ । बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ । मानव शरीरलाई घाम कति चाहिन्छ भन्ने थाहा पाउनुभन्दा अघि हाम्रो छालाको प्रकार कस्तो हो भनेर पत्ता लगाउनुपर्छ ।
मानिसको छाला ६ प्रकारको हुन्छ। छिटो कालो हुने खालका गोरा मानिसहरुको छाला एउटा प्रकारमा पर्छ । नेपालीहरुको छाला भने ४–५ प्रकारको हुन्छ। काला अर्फिकनहरुको छाला एक प्रकारको हुन्छ ।
घामको प्रकाशले छालामा पर्ने असरहरु
घामको प्रकाशका कारण छाला रातो हुने, छाला पोल्ने, चिलाउने, बिबिरा आउने हुन सक्छ। लामो समय घाममा बस्नेहरुलाई छालाको क्यान्सर समेत हुन सक्छ ।
घामले भिटामिन दिनेगर्छ, तर भिटामिन ‘डी’ पाउनकै लागी दिनभरि लुगा फुकालेर घाममा बस्नु जरुरी छैन । दैनिन कपडाले नछोपेको भागलाई बिहानको घाममा ५–१० मिनेट देखाउँदा पनि हाम्रो शरीरमा चाहिने जति भिटामिन डि पाउन सकिन्छ ।
सानो बच्चालाई २–३ घन्टा घाममा राखेर तेल लगाउने चलन छ, तर त्यसो गर्दा घामको ‘युभी रेज’ले बच्चाको छाला डढाउँछ ।
बिहानको झुल्किँदो घाम स्वास्थ्यका लागि फइदाजनक हुन्छ । तर, जाडो याममा दिनभरि घाममा बस्ने बानीले भने हाम्रो छालामा नराम्रो असर पुर्‍याउँछ । विशेषगरी बिहान १० देखि २ बजेसम्मको घामको ‘रेज’लाई स्वास्थ्यका लागि राम्रो मानिँदैन ।
घामले शरीरमा पुग्ने फाइदा
– सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ (भिटामिन डीको कमीले शरीरमा ‘मेटाबोलिक’ हड्डीको रोग लाग्छ)।
– बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ।
– चिसोबाट लाग्ने रोगबाट बचाउँछ।
– सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ।
– घामले रगत जम्नबाट बचाउँछ। आदि।
घामका बेफाइदा
– छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ।
– अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ।
– जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ।
– छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ।
– लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ। आदि।
त्यसैले जाडो भयो भन्दैमा लामो समय घाममा बस्नु स्वास्थ्यका दृष्टिले उपयुक्त मानिदैन। छालालाई सुरक्षित राख्न ‘मोस्चराइजिङ क्रिम’को प्रयोग गर्न सकिन्छ। छालालाई घामबाट जोगाउ‘ सन ब्लक क्रिम’ लगाउनुपर्छ। शरीर खुला राखेर घाममा छाला पारेर बस्नु हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here