सम्पादकीय
धरान बहुजातीय सहर हो । यहाँ सबै जातजातिका मानिस सद्भावपूर्ण ढङ्गले बसोबास गर्छन् । तर पनि धरानले पहिचानको कोसेली दिन नसकेकै हो । धरानमा आयोजित पर्यटनसम्बन्धी गोष्ठीमा बोल्ने अधिकांश वक्ताले आदिवासी जनजातिको मौलिक परिकार मात्रै पस्किए पनि धरानको ‘ब्रान्डिङ’ बन्छ र पर्यटक भित्रिन्छन् भनिरहे ।
नेपाल भ्रमण वर्ष २०२० सफल पार्न धरानेले यसतर्फ ध्यान दिनु आजको आवश्यकता नै हो । ‘धरान महोत्सव’ मा आयोजित कार्यक्रममा विज्ञहरूले सुझाए–धरानका जातिगत हिसाबका मौलिक खाना पस्किने हो भने मात्रै पनि धरानमा पर्यटक आइरहन्छन् । आकर्षक भूपरिदृश्य तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण धरानमा विभिन्न धार्मिकस्थल, व्यवसायिक कृषि, विविध जातिको मिश्रित बसोबास, लोक संस्कृति, कृषिजन्य उद्योग, सामाजिक सद्भाव, धरातलीय विविधता, सामाजिक, सांस्कृतिक, प्राकृतिक आकर्षण, स्वस्थ हावापानी, बलियो नागरिक, जनसहभागिता धरानमै छ ।
तर पनि सम्बन्धित पक्षले सबल पक्ष मात्रै हेरिदिँदा सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको संरक्षण हुन सकेन, भौतिक पूर्वाधार न्युनस्तरका बने, पर्यटन व्यवसायीहरूबीच समन्वयको अभाव छँदैछ, पहिचान र बजारीकरण हुनै सकेको छैन, होटल लज मागअनुसारका गुणस्तरीय भएनन् नै । साँच्चै भन्ने हो भने धरानमा सूचना केन्द्र स्थापना नै भएको छैन । यस्तै, अन्य सहरमा पुगेर धरानको प्रचार तीब्र गतिमा भइरहेको छैन ।
हामीले हाम्रो पहिचान देखाउँदै अर्थात् ब्रान्डिङ गर्दै हाम्रै प्रकृतिका मौलिक खाना र बासस्थानको व्यवस्था मिलाइदिए पनि हुन्छ । भेडेटार घुम्न आएका पर्यटक इटहरी, विराटनगर नपुगुन् कमसेकम धरान बस्ने वातावरण मिलाउनुपर्छ है भनेर लागिपरे पनि हुन्छ । हामीले हाम्रोपन देखाएर लाग्यौं भने मौकामा चौका हान्न सकिन्छ । हामी कोही विदेश पुगे उनीहरूले उनीहरूकै संस्कार संस्कृतिमा रम्न सिकाइरहेकै हुन्छन् । हामी चाहिँ किन विदेशी शैलीका परम्परा सिकाउने, हाम्रै सिकाए पुग्छ । धरान आएपछि पर्यटक के का लागि बस्ने, किन बस्ने भन्ने प्रश्न अहिले पनि छ । त्यसैले धरानमा मौलिक परिकारको ब्रान्डिङ गर्नतर्फ ध्यान दिनु आजको आवश्यकता हो । त्यस्तै, दिन र रात दुवै समयमा धरान घुमौं हैं डुलौं है भन्ने सांस्कृतिक वातावरण हामीले दिन सक्नुपर्छ । धरान आफैंमा पर्यटकीय सम्भावना बोकेको हुँदाहुँदै किन ध्यान दिन सकिरहेका छैनौं, यतातर्फ सोच्ने कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here