धरानः धरानका वडाध्यक्ष नै पानीको हाहाकार भएको भन्दै आन्दोलनमा लागेका छन् । केहीदिनअघि पानीको महसुल नतिर्न धरानबासीलाई आग्रह गरेका उनले खानेपानी संस्थानमा धर्ना दिने बताएका थिए ।
यसैबीच सोमबार उनकै अगुवाइमा धरान–९ स्थित खानेपानी संघर्ष समितिले खानेपानी संस्थान घेराउ गरेको छ । रित्तो गाग्रीसहित संस्थान घेराउ गर्न पुगेका स्थानीयबासीले संस्थानमा केही घण्टा ताला पनि लगाए ।
ताला लगाइसकेपछि संस्थान र खानेपानी संघर्ष समितिबीच पानी सहज उपलब्ध गराउने सहमतिपश्चात ताला संघर्ष समितिले नै खोलिदिएको थियो । ताला खोलिएपछि छरपस्ट रहेका संस्थानका कर्मचारी कार्यालय भित्र प्रवेश गरेका थिए । उनीहरूले पानीको व्यापार बन्द गर, खानेपानी संस्थान पानी दे, जनता हामी तिर्खै छौं जस्ता नारा पनि लगाएका थिए।
एडिबी र खानेपानी संस्थानबीच जुँगाको लडाइले धरानले पर्याप्त पानी पिउन नसकेको र चेतावनीस्वरुप तालाबन्दी गर्नुपरेको वडाध्यक्ष रत्नबहादुर कटुवालले बताए । समयमा पानी छाडौं, कृतिम अभाव सिर्जना नगरौं, पानीको राजनीति बन्द गरलगायतका प्लेकार्ड बोकेर स्थानीयबासी संस्थान पुगेका थिए । संस्थान पुग्नुअघि नै सुरक्षाकर्मी तैनाथ थिए ।
‘धरान खानेपानी बोर्ड र एडिबीबीचको द्वन्द्वले धरानेले खानेपानी पिउन पाएका छैनन्, सहज पिउन पाउन भन्ने हाम्रो माग हो ।’ वडाध्यक्ष कटुवालले भने । ‘चेतावनीस्वरुप ताला लगाएका थियौं तर पनि पानी सहज दिने भन्ने सहमतिपश्चात ताला खोलेर फर्कियौं ।’ वडाध्यक्ष कटुवालले भने । कार्यक्रम समापन पश्चात समयमा पानी नदिए जनताको आँधीबेहरीले थेग्न नसक्ने उनले चेतावनी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here