खेमराज निरौला
त्रिभुवन विश्वविद्यालयको गौरवपूर्ण इतिहास बोकेको मानविकी तथा सामाजिक शास्त्र संकायमा चिन्ताजनक रूपमा विद्यार्थी घटेर संकाय खण्डहर बन्न लागेको तर्फ सर्वत्र चिन्ता र चासो बढेको छ । यो प्रवृत्ति संसारभरका विश्वविद्यालयहरूमा नै व्याप्त रहेको पछिल्ला अध्ययन–अनुसन्धानहरूले देखाएका छन् ।
विश्वव्यापी रूपमा बढ्दै गएको आतङ्कवाद, अन्ध राष्ट्रवाद, नवउपनिवेशवाद र पुँजीवादले सिर्जना गर्न सक्ने चुनौतीहरूलाई न्यूनीकरण गरी मानवीय मूल्य–मान्यतालाई स्खलित हुनबाट रोक्न मानविकीलाई सशक्त बनाउनुपर्ने आवश्यकता सिर्जना भएको छ । यो अभियानमा मानवतावादीहरू नै बढी सक्रिय र चनाखो भएर लाग्नुपर्ने देखिन्छ । अहिले नेपाललगायत अन्य विकसित मुलुकहरूमा शिक्षा लिने–दिने प्रक्रियालाई अधिक मात्रामा आर्थिक लाभहानिको दृष्टिकोणबाट विश्लेषण गर्न थालिएको छ । मानविकी संकायलाई नियतवश ओझेलमा पारिएको छ । यसले बोकेको मानवतावादलाई अवमूल्यन गरेर मानिसलाई अधिकाधिक भौतिकवादी बनाएको छ । कसैले मानविकीको अध्ययनपश्चात् तुरुन्तै प्रतिफल पाइहाल्ने नभए पनि मानिसभित्र रहेको अनेकन सम्भाव्यतालाई प्रस्फुटन गराई एउटा सभ्य र सुसंस्कृत नागरिक बन्न मानविकीले सघाउने कुरा बिर्सनु हुँदैन । मानविकीको ज्ञानको क्षेत्र फराकिलो र अनुसन्धानमूलक छ । यसले नयाँ–नयाँ ज्ञानका क्षेत्र पहिल्याई त्यसलाई विकास र विस्तार गर्न मार्ग प्रशस्त गर्छ ।
प्राचीन युगदेखि अहिलेको उत्तर–आधुनिक युगसम्म आइपुग्दा मानवीय ज्ञानका क्षेत्रमा भएका उल्लेख्य अनुसन्धान र योगदानलाई आधार बनाई मानवताका न्यूनतम मूल्य–मान्यतालाई आत्मसात् गरी एउटा सुसंस्कृत मानव जगत्को निर्माण गर्नुपर्छ भन्ने मान्यता मानविकीले राख्छ । कला–साहित्य, संस्कृति, दर्शन, तर्कशास्त्र, मनोविज्ञान, अर्थशास्त्र, राजनीतिशास्त्रजस्ता विषयहरूले मानवीय मूल्यमान्यता, परम्परा, संस्कृति एवं मानिसभित्र भएका सम्भाव्यतालाई एकीकृत गराई मानव–मानवबीच एकता गराइदिन्छ । मानविकी विषयहरू पढ्दाको आनन्दको अनुभूति अन्य विषय पढ्दा पाइँदैन । मानिसलाई सिर्जनशील, संवेदनशील, तार्किक एवं कल्पनाशील बनाउन मानविकीले खेल्ने भूमिकालाई बिर्सनु हुँदैन । आजको चरम उपयोगितावादी संस्कृतिको प्रभावले मानविकीका विषयहरू प्रभावहीन बन्दैछन् । पूरै मानविकी मृत्यु शय्यामा छटपटाइरहेको छ । अहिले यो अवस्थामा आउनुमा को दोषी छ, अविलम्ब छानबिन गरी यसको आकर्षणलाई पुनर्जीवन, दिलाउन ढिला गर्नु हुँदैन । विश्वविद्यालयको पछिल्ला तथ्यांकहरूले पनि मानविकी संकायका कतिपय विभाग बन्द भइसकेको देखाएको छ भने कतिपयमा अत्यन्तै न्यून विद्यार्थी भर्ना भएका कारण कक्षा सञ्चालन भई दुविधा रहेको छ ।
यो सबैको दोष देशको उच्च शिक्षाको नीतिनिर्माताले लिनुपर्छ । अन्य संकाय चारवर्षे भइसक्दा मानविकी भने उही पुरानै पाठ्यक्रमअनुरूप तीनवर्षे भई चलाउनुका पछाडिको नियत के हो ? किन विश्वविद्यालयका पदाधिकारीहरू मानविकीको घट्दो साख जोगाउन आतुर देखिँदैनन् ? मानविकीको साख घट्नुमा एउटा÷दुईवटा मात्र कारण छैनन् । यसमा सबैको दोष देखिन्छ । समयमा पाठ्यक्रम परिमार्जन नहुनु, शिक्षकलाई पाठ्यक्रमसम्बन्धी अभिमुखीकरण एवं पाठ्यक्रम प्रबोधीकरण नहुनु, पर्याप्त मात्रामा पाठ्यपुस्तक बजारमा नआउनु; तालिम, गोष्ठी, छलफलमा सिकेका कुराहरू कक्षाकोठामा प्रयोग नहुनु र शिक्षण सिकाइमा उही पुरानै पद्धति (व्याख्यान) एवं प्रवचन विधिको प्रयोगले यो संकायप्रति विकर्षण बढ्दो छ । मानविकीमा आबद्ध मानिसहरू नै आज यो संकायलाई पूरै बेवास्ता गरेर आर्थिक दृष्टिकोणबाट बढी फाइदा पुग्ने विषयप्रति मोहित भएका देखिन्छन् । विद्यार्थी र अविभावकलाई मानविकीको महत्व र यसमा प्रयुक्त ज्ञानको व्यापकतालाई बुझाउन नसक्दा यसको महत्व क्रमशः घटेको अवस्थामा छ ।
हामीले मानवतावाद र मानविकी विषयको महत्वलाई छर्लङ्ग पार्न पुनर्जागरण कालमा पश्चिमा जगत्का साहित्यकारहरूले मानवलाई केवल मानवमा मात्र सीमित नराखी उसले एउटा अनन्त सम्भाव्यता बोकेको एउटा पूर्ण मानिसका रूपमा चित्रण गरेको कुरालाई बुझाउन सक्नुपर्छ । मानव हरेक विषयको केन्द्रबिन्दुमा रहेको उनीहरूले व्याख्या गरेका छन् । तर, अहिले हाम्रो शिक्षा पद्धतिमा मानविकी पढ्नेभन्दा नाक खुम्च्याउनेहरू बढी भएकाले यसमा कुनै भविष्य छैन । पढिसकेपछि रोजगारी पाउन गाह्रो हुन्छ भन्ने जस्ता नकारात्मक दृष्टिकोणले यसलाई हेर्ने गरिन्छ । तर कुरा त्यस्तो होइन, मानविकीले ज्ञानका हरेक तह र तप्कामा आफ्नो प्रभावलाई पुष्टि गरेको छ । यसको अनुसन्धानको क्षेत्र ज्यादै व्यापक र फराकिलो छ । मानविकी कुनै खास क्षेत्रको खण्डित ज्ञानमा मात्र सीमित छैन ।
यसले सर्वाङ्गीण पक्षलाई समेटेर एकीकृत ज्ञान प्रदान गरेको विषय छर्लङ्ग छ । हिजोका दिनमा विश्वविद्यालयमा अत्याधिक चाप हुने संकायमा मानविकी पथ्र्यो । तर, जहिलेबाट प्रवीणता प्रमाणपत्रलाई विस्थापन गरेर स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरियो, त्यसपछिका केही वर्षदेखि यो संकाय क्रमशः कमजोर बन्दै गएको छ । यस संकायअन्तर्गतका कतिपय विभाग जस्तै— हिन्दी, इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र, दर्शनशास्त्र, मानवशास्त्रमा विद्यार्थीको संख्या अत्यन्त न्यून भएर बन्द हुने अवस्थामा पुगेका छन् । विगतमा राष्ट्रका लागि एक सबल र दक्ष जनशक्ति उत्पादन गर्ने निकायका रूपमा रहेको यो संकायको अवस्था यसरी खस्कनु सम्बन्धित पक्षको चिन्ताको विषय बन्नुपर्छ । यसको आकर्षणलाई अक्षुण्ण राख्न नयाँ–नयाँ विषयहरू थपेर होस् वा प्रविधिमैत्री बनाएर होस्, टिकाउनु जरुरी छ । मानविकीका कार्यक्रमहरू आज किन यतिसाह्रो उपेक्षित र आकर्षकविहीन बन्न पुगेका छन्, यस विषयमा गम्भीर बहस र छलफल चलाई उपयुक्त निर्णय लिनुपर्छ । त्रि.वि. व्यवस्थापकीय पक्ष र प्रशासनिक पक्षले पनि यो विषयलाई गम्भीर रूपमा लिई अघि बढ्नुपर्ने देखिन्छ । मानविकी संकायअन्तर्गत भर्ना हुन आउने विद्यार्थीहरूका लागि सानो–ठूलो जस्तो भए पनि आकर्षक छात्रवृत्तिको व्यवस्था गरेर पनि विद्यार्थी संख्या बढाउन सकिन्छ । सोध–अनुसन्धान एवं समय–समयमा पुनर्ताजगीकरणका लागि तालिम, गोष्ठी, सेमिनार एवं अध्ययन–अवलोकनजस्ता नवप्रर्वतनात्मक गतिविधिबाट पनि थप मद्दत पुग्न सक्छ ।
निश्चित शैक्षिक उपाधि प्राप्त गरे तापनि रोजगारीका अवसर कम प्राप्त हुने हुँदा विद्यार्थी तथा अभिभावकको रुचि अन्यत्र मोडिने हुँदा पनि यो संकाय उपेक्षित बन्न पुगेको छ । विश्वविद्यालयको कुनै पनि एउटा पुरानो संकाय विद्यार्थी अभाव र आवश्यक व्यवस्थापनको कमजोरीका कारण मृत्य सय्यामा पुग्नु भनेको त्यस संस्थासँग सम्बन्धित पाठ्यक्रम निर्माता, विषय विज्ञ, शिक्षण सिकाइ एवं क्रियाकलाप सरकारको शैक्षिक नीति नै दोषी देखिन्छ । तसर्थ, निष्कर्षमा के भन्न सकिन्छ भने समग्र त्रि.वि. नै अस्तव्यस्त भइरहेका बेला कुनै एउटा संकाय विशेषलाई मात्र महत्व दिनु सान्दर्भिक नहोला, तर पनि राष्ट्रिय मानव संसाधन उत्पादनको क्षेत्रमा मानविकीले खेलेको अहम् भूमिकालाई भने बिर्सन सकिँदैन । नियमनकारी निकाय प्रभावकारी उपस्थितिबिना कुनै पनि सुधार सम्भव भने हुँदैन । वास्तवमा कुनै समय विश्वविद्यालय तथा क्याम्पसहरूमा भर्ना पाउन पनि गाह्रो पर्ने विभाग आजसम्म आइपुग्दा किन यस्तो दयनीय अवस्थामा पुग्यो, देशका शैक्षिक योजनाविद्हरूले गम्भीर भएर सोच्ने बेला आएको छ । कला, संस्कृति, अर्थ राजनीति, दर्शन, समाजशास्त्र, मानवशास्त्रजस्ता बहुआयामिक महत्वका क्षेत्रहरू समेटिएको संकाय विद्यार्थी खोज्नुपर्ने अवस्थामा पुग्नु दुःखद छ । मानविकी नै त्यस्तो एउटा संकाय हो जसले मानवभित्र रहेको मानवतालाई बुझेर समकालीन समाजमा आफूलाई सामन्जस्यपूर्ण जीवन जिउन सक्षम बनाउँछ ।
अहिले हाम्रा विश्व विद्यालयहरूको मानविकी संकायका विभिन्न विभागमा विद्यार्थीभन्दा प्रोफेसरहरू बढी छन् । पठन संस्कृति विल्कुलै पुरानो छ, प्रविधिमैत्री छैन, पुरानै पाठ्यक्रमबाट अध्ययन–अध्यापन गराइराख्नुमा विश्वविद्यालयकै नियतमा खोट देखिन्छ । त्यसैले पनि मानविकीको बहुआयामिक महत्वलाई जोगाइराख्न दृढ इच्छाशक्तिका साथ देशको बौद्धिक वर्गले दबाब दिनु जरुरी छ । मानविकीको महत्व र यसको गहिराई त्यसले मात्र राम्रोसँग बुझ्न सक्छ जसले यसलाई नजिकबाट अध्ययन अनुसन्धान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here