धरानः धरानमा प्रदेश १ स्तरीय भलिबल प्रतियोगिताको तयारी थालिएको छ । ‘पाँचौं पानबारी भलिबल रनिङ कप २०७६’ को आयोजना गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । यही माघ ६ गतेदेखि प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ ।
आयोजक सयपत्री बोइज युनियन क्लब धरानले माघ ६ देखि ११ गतेसम्म प्रतियोगिता आयोजना हुनेबारे जानकारी गरायो । प्रतियोगिताको बिजेताले चाँदीको रनिङ ट्रफीसँगै नगद ७५ हजार पाउनेछ भने उपविजेताले ४१ हजार रूपैयाँ प्राप्त गर्ने अध्यक्ष एसपजङ्ग रुम्दालीले जानकारी दिए ।
यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचले २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट प्रशिक्षक सबैले जनही नगद ५ हजार दिइने आयोजकले जनाएको छ । महासचिव केदार बस्नेतका अनुसार प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताको संयोजन धरान उपमहागनरपालिका र ६ नं वडा कार्यालय रहेको छ भने मुख्य प्रायोजक टुबोर्ग वियर, सह प्रायोजकमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि, निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ ।
महासचिव बस्नेतका अनुसार सम्भावित टिमहरुमा १ प्रदेश प्रहरी विराटनगर, महेन्द्र क्याम्पस धरान, सशस्त्र प्रहरी बल पकली, याङशिला युवा भलिबल टिम मोरङ, फुङ्नाम स्पोर्टिङ क्लब इलाम, नेपाल आर्मी इटहरी, डुम्राहा क्लब रामधुनी, भोजपुर भलिबल क्लब भोजपुर, डाँडाबजार भलिबल क्लब धनकुटा र आयोजक क्लब रहेको छन् । फोटोः लक्ष्मण थापा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here