धरानः ‘संक्रान्तिचाहिँ लागेछ है’, धरान–१५ की प्रिया लिम्बूले गौतमपथस्थित सब्जीमण्डीमा लागेको भीडतर्फ इङ्गित गर्दै भनिन्, ‘कति भीड हौ ।’ गौतमपथमा तरुल किन्नेको भीड बढ्दा ट्राफिक जाम बढेको छ । भोलि माघे संक्रान्तिको तरुल लगायत अन्य सामग्री किन्ने भीड छ ।
अहिले धरानस्थित चिनियाँचोक, धरान–९ स्थित सब्जीमण्ड, छाताचोकलगायतका स्थानमा तरुल व्यापारको चटारो । अहिले यी बजारमा विभिन्न थरीका तरुल किन्नेको भीड लागेको छ ।
बजारमा तिलको लड्डु, भुजाको लड्डु, सख्खर, भुजा, चिउरा जस्ता खाद्य वस्तुको व्यापार ह्वातै बढेको धरान सब्जीमन्डीका तरकारी व्यवसायी सीताराम क्षत्रीले बताए । स्थानीय भाषमा (तिला सकराईत) अर्थात् माघ सक्रान्ती पर्वमा यी परिकारका बिक्री वितरण अत्याधिक हुने गरेकाले बजारमा भीड लागेको उनको भनाइ छ ।
धरानमा मुख्य गरी पहाडी क्षेत्रका तरुल भित्रिने गरेको छ । धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, उदयपुर लगायतबाट पनि तरुल भित्रिने गरेको छ । पूर्वी पहाडी जिल्लाबाट धरान भित्रिएका तरुलसँगै बजारमा वन तरुल, घर तरुल, सखरखण्ड, स्कुसको जरा, सिमल तरुल, पिँडालु बेच्न व्यापारीलाई भ्याइनभ्याइ छ । घर तरुल सस्तो र सुलभ नै रहेको व्यवसायी बताउँछन् । निम्न आयस्तर तथा मध्यमवर्गका उपभोक्ताले घर तरुल बढी किन्ने गरेको व्यवसायी काजी गिरी बताउँछन् ।
शिशिर यामको मध्यसमयमा पर्ने यस दिनले विभिन्न समुदाय र जातिहरुका लागि भिन्दाभिन्दै महत्व बोकेको पाइन्छ । थारु समुदायले माघीको रुपमा मनाउने यस दिनलाई नयाँ वर्ष मानी शुभकामना आदानप्रदान गर्ने गर्दछन् । मगर, नेवार तथा ब्राह्मण समुदायका लागि पनि यस दिनको गरिमा उच्च छ । यस अवसरमा घर घरमा तिलको लडडु, चाकू, घ्यू, खिर, उसिनेको तरुल, सख्खरखण्ड, पिँडालु र फर्सीलगायत खाने गरिन्छ ।
सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र यस दिनबाट दिन लम्बिँदै तथा रात छोट्टिँदै जाने भन्दै ब्राहमण समुदायले ‘मकर संक्रान्ति’को रुपमा मनाउने चलन रहिआएको छ । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यसदिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
यता तरुल किन्न आएकी उपभोक्ता सरस्वती पोखरेलले भने तरुल बजार केही महङ्गो भएको बताइन् ।
तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट र खनिजको मात्रा पाइने गरेको यससँग सम्बद्ध विज्ञहरुको राय छ । यसमा भोजनलाई सन्तुलनमा राख्न सक्ने फाइबरको मात्रा पनि हुने भएकाले तरुल एक स्वास्थ्यवद्र्धक र बहुपयोगी कन्दमूल हो ।
फोटोः हाम्रो कोशी आवाज डटकम 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here