धरानः नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश १ सरकार तयारीमा जुटेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउन प्रदेश पर्यटन प्रवद्र्धन समितिले १२ वटा उपसमिति गठन गरेको हो ।
जसमध्ये एलिना मगरको संयोजकत्वमा सात सदस्यीय ‘पर्यटन सेवा’ उपसमिति गठन भएकोे छ । उपसमिति गठन भएको मध्ये मगर एक्ली महिला संयोजक हुन् । बाँकी सबै उपसमितिका संयोजक पुरुष रहेका छन् ।
उपसमितिको सदस्यहरुमा इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालु, इटहरीका उद्योगी बलराम आचार्य, होटल एशोसिएन अफ भोजपुरका निवर्तमान अध्यक्ष लिलादेखी राई, ओखलढुंगाका ट्रेकिङ व्यवसायी दावा निमा शेर्पा, ताप्लेजुङका होटल व्यवसायी सुरेश लिम्बू र ग्रामीण पर्यटन अभियन्ता तथा पत्रकार दमन राई चयन भएका छन् । प्रदेश १ मा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सरकारले विशेष पहल गर्ने तयारी भइरहेको जनाइएको छ ।
पर्यटकलाई दिइने सेवाबारे अनुगमन, सरोकारवालालाई प्रशिक्षण, पर्यटकीय सेवालाई सुलभ र व्यवस्थीत बनाउन समन्वय गर्ने अधिकार उपसमितिलाई रहेको संयोजक मगरले बताइन् । साथै प्रदेश १ मा रहेका पर्यटकीय सम्भावना र अवसरलाई अध्ययन गरी आवश्यक सुझाव उपसमितिले पर्यटन प्रवद्र्धन समितिलाई प्रदान गर्नेछ । प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुशीयतको अध्यक्षतामा ५१ सदस्यीय मूल समिति गठन भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here