धरानः धरान-इटहरी सडक खण्डमा प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–धरान सडकखण्डको चारकोशे जंगलमा एम्बुलेन्सबाट ४५० किलो गाँजा फेला पारेको हो ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले धरान-इटहरी सडकखण्डअन्तर्गत चारकोशे जंगलको पानी ट्यांकी क्षेत्रमा ब्यारेकेड राखेर चेकजाँच गर्ने क्रममा एम्बुलेन्सबाट ४५० किलो प्रतिबन्धित गाँजा बरामद गरेको छ । बा२च ९५७३ नम्बरको त्रिवेणी सांस्कृतिक समूह लेखेको एम्बुलेन्समा चेकजाँच गर्दा एम्बुलेन्सभित्र प्लाष्टिकले बेरेर पोको बनाइ राखेको लागूऔषध गाँजा ४५० ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरीले चेकजाँच गरेको सुइँको पाएपछि चालक भागेका छन् । ‘शुरुमा एम्बुलेन्स चालकले प्रहरी टोलीलाई नै गाडीले ठक्कर दिएर भाग्ने प्रयास गरेका थिए’, प्रहरी स्रोत भन्छ, ‘त्यसपछि चालकले भने एम्बुलेन्स घटनास्थलमै छाडेर जंगलतिर भागे ।’ एम्बुलेन्सभित्र ३० किलोका दरले १५ वटा पोकामा राखिएको कुल ४५० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी तरहराको टोलीले राति करिब ११ः४० बजे ज्यानको जोखिमसमेत मोलेर गाँजासहितको एम्बुलेन्स नियन्त्रणमा लिन सफल भएको प्रहरी स्रोतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ । बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । एम्बुलेन्स कसको नाममा रहेको हो, कसले सञ्चालन गर्दै आएको थियो, गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्याउने तयारी थियो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा गाँजा राख्ने कार्यमा चालक मात्र संलग्न थिए वा अन्य व्यक्तिको समेत संलग्नता थियो भन्ने विषय अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

यस्तै, इलाम प्रहरीले ४१ बोरामा १५ सय ४ केजी ६१० ग्राम गाँजा बरामद गरेको छ ।
प्रहरीले इलाम ९ मेची राजमार्गमा ठूला सवारी साधन डाइभर्सन गर्ने क्रममा ना ४ ख ८९८६ नम्बरको फुलबडी ट्रक जबर्जस्ती अगाडि बढेको अवस्थामा रोकेर सम्झाउने क्रममा चालक ट्रक स्टार्ट अवस्थामै छाडेर भागेका थिए ।
चेकजाँच गर्दा ट्रकको फल्स बटम बनाई त्रिपालले छोपेको अवस्थामा बोरोमा लुकाइराखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।