धरानः धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान, टिडब्लुसीसी तथा एनएचसीसीले संयुक्त रुपमा कोशी प्रदेशका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा शुरु भएको छ ।
कोशी प्रदेशका दूरदराज तथा दुर्गम क्षेत्रका बिरामीहरूलाई घरदैलोमै प्रशामक तथा हस्पिस केयर सेवा पुरयाउने उद्देश्यले ‘हब एन्ड स्पोक’ मोडलमा आधारित टेलिमेडिसिन सेवा सुचारु गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए । यो नेपालमै पहिलोपटक परीक्षणका रूपमा शुरु गरिएको नवीन प्रयास भएको उनले बताए ।
प्रतिष्ठान मुख्य केन्द्र र प्रदेशका १४ वटै जिल्लाका अस्पतालहरूलाई ‘स्पोक’ का रूपमा जोडेर यो सेवा सञ्चालनमा ल्याइएको हो ।
यो सेवाको विस्तारसँगै जटिल बिरामीहरूले आफ्नै गाउँ–ठाउँमा स्थानीय स्वास्थ्यकर्मीहरू मार्फत विशेषज्ञ परामर्श पाउनेछन् । यसले गर्दा ठूला अस्पताल धाउँदा हुने आर्थिक भार, यात्राको सास्ती र बेड नपाउने समस्याको अन्त्य हुनेछ । दुई वर्षको अवधिमा यस परियोजनाको प्रभावकारिता अध्ययन गरी यसलाई दिगो बनाउने र देशका अन्य प्रदेशहरूमा पनि मोडलका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

सामान्यतया प्रसामक सेवा क्यान्सर, दीर्घकालीन मिर्गौला रोग, मुटु तथा कलेजोका गम्भीर रोगहरू, श्वासप्रश्वास सम्बन्धी कडा रोगहरू र स्नायु तथा मस्तिष्कसम्बन्धी रोगहरू जस्ता जटिल तथा निको नहुने रोगबाट पीडित बिरामीहरूका लागि दिइन्छ । यसको मुख्य उद्देश्य रोग पूर्ण रूपमा निको पार्नुभन्दा पनि बिरामीको शारीरिक पीडा (दुखाइ) कम गरी जीवनको गुणस्तरमा सुधार ल्याउनु हो ।
यस परियोजनाका लागि बीपी प्रतिष्ठान, टु वल्र्ड क्यान्सर कोल्याबोरेसन र नेपाल हस्पिस केयर सेन्टरबीच दुई वर्षका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्की र टु वल्र्ड क्यान्सर कोल्याबोरेसनका नेपाल लिड तथा नेपाल हस्पिस केयर सेन्टरका प्रतिनिधि प्रा.डा. विष्णुदत्त पौडेलले हस्ताक्षर गरेका छन् ।
यस परियोजना सञ्चालनका लागि कोशी प्रदेश सरकार (स्वास्थ्य मन्त्रालय) को विशेष सहजीकरण र सहयोग रहेको छ । प्रदेश सरकारले नै जिल्ला अस्पतालहरूबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने स्थायी नर्स तथा डाक्टरहरूलाई छनोट गरी समावेश गराएको हो । छनोट भएका स्वास्थ्यकर्मीहरूलाई ५ दिने आवासीय तालिम प्रदान गरिसकिएको छ । टु वल्र्ड क्यान्सर कोल्याबोरेसनका नेपाल लिड प्रा.डा. विष्णुदत्त पौडेल र प्रतिष्ठानकी मेडिकल अन्कोलोजिष्ट डा. सोनिया दुलालको सुपरभिजनमा उक्त तालिम सम्पन्न भएको हो । प्रदेश मन्त्रालयले १४ वटै जिल्लामा टेलिमेडिसिन सेटअप गर्न र यस कार्यक्रमलाई दिगो बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस अभियानमा संलग्न विभिन्न विषयका विशेषज्ञहरूले कुनै पनि नाम वा माध्यमबाट दिइरहेको सेवा पूर्णरूपमा स्वयंसेवी रहेको छ ।

यो परियोजनाअन्तर्गत अस्पतालसम्म आउन नसक्ने गम्भीर बिरामीहरूका लागि हप्ताको प्रत्येक बिहीबार टेलिमेडिसिन मार्फत परामर्श तथा उपचार सेवा दिइनेछ । हालै टिडब्लुसीसीका का अध्यक्ष एवं मेडिकल अन्कोलोजिस्ट डा. पुनीत बेन्स, प्रा. डा. विष्णुदत्त पौडेल र डा. सोनिया दुलाल लगायतका विज्ञहरूको उपस्थितिमा यो सेवाको औपचारिक सुरुवात गरिएको हो । उदघाटनकै दिन तेह्रथुम र सोलुखुम्बु जिल्लाका ३ जना जटिल बिरामीहरूको अवस्थाबारे स्थँनिय डाक्टर तथा नर्सहरूले प्रस्तुत गरेका केसहरूमाथि छलफल गरी टेलिमेडिसिन मार्फत आवश्यक परामर्श र लक्षण व्यवस्थापनका उपायहरूका बारे बताइएको थियो ।
हाल प्रतिष्ठान लगायत देशभरि नै क्यान्सरसम्बन्धी विज्ञहरूको ठूलो कमी रहेको छ । यही जनशक्ति अभावका कारण क्यान्सरका बिरामीहरू प्रसामक सेवा पाउनबाट वञ्चित नहोउन् भन्ने कुरालाई ध्यानमा राख्दै हाललाई यो टेलिमेडिसिन सेवा क्यान्सरका बिरामीहरूका लागि मात्र केन्द्रित गरेर शुरु गरिएको छ र भविष्यमा प्रसामक सेवा चाहिने अन्य रोगका बिरामीहरुको लागि पनि उक्त सेवा सञ्चालन गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।

