धरानः धरानमा हुन्डी कारोबारको संलग्नताको आरोपमा एकजना पक्राउ परेका छन् । मनी ट्रान्सफर कम्पनीको आवरणमा हुन्डी कारोबार गरेको आरोपमा धरान-१३ घर भएका ज्योति शाही पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार उनलाई धरान-५, खैरेनीबाट पक्राउ गरेको जनाएको छ ।
उनले मनी ट्रान्सफरको आवरणमा हुन्डी कारोबार गरेको प्रहरीले पत्ता लगाएको थियो । सो कम्पनीको नाममा उनले ५२ वटा बैंक खाता खोलेका थिए । ती खाता प्रयोग गरी हुन्डीको रकम अनलाइनमार्फत नै ट्रान्सफर गर्दै आएको सिआइबीले जनाएको छ । उनले एक अर्ब तीन करोड ८४ लाख रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए ।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्राप्त गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूमाथि अनुसन्धान तथा वित्तीय कारोबारको विश्लेषण गर्ने क्रममा उनको संलग्नता रहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शाहीले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सुनसरीमा २०६८ भदौ १६ गते दर्ता भएको ‘शाही मनि ट्रान्सफर’ को नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेर सञ्चालन गर्दै आएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू प्रयोग गरी करिब रु. १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ बराबरको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।
कारोबारका सम्बन्धमा थप अनुसन्धानका लागि असोज ६ गते सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो । त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार धरान उपमहानगरपालिका–५, खैरेनीबाट शाहीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी शाहीविरुद्ध हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
